देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर संवाद

‘कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं’

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले अब राष्ट्रिय सरकार बनाउनु पर्नेमा जोड दिएका छन् । बढ्दो निराशालाई चिर्न पनि संसद्मा रहेका सबै शक्तिहरू एकै ठाउँमा आएर सरकार बनाउनु पर्नेमा जोड दिए । राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने कुरामा पनि जोड दिँदै गौतमले यस्तो हुँदा संविधान संशोधनलगायतका कुराहरूमा पनि सहज हुने बताए । निर्वाचन प्रणाली र संघीयताका सबालमा रहेका समस्या समाधानका लागि पनि सबैले इमान्दार भएर निर्णय गर्नुपर्नेमा जोड दिएका उनै गौतमसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

महासमितिको बैठकबाट सबै भयो भनेर गोदावरीबाट आउनुभयो, तर अहिले कुराहरू सुन्दा त केही पनि भएको रहेनछ भन्ने देखियो नि ?

महासमितिको बैठकमा प्रस्तावहरू पेस भए छलफल पनि भए । ती प्रस्तावमाथि देशभरिका साथीहरूले आफ्नो आफ्नो विचार राख्नुभयो । सबै दस्तावेजलाई परिमार्जन गर्नका लागि केन्द्रीय समितिमा लैजाने निर्णय भएको छ । महासमितिको बैठकका बारेमा कसले कसरी बुझ्यो त्यो आफ्नो कुरा हो । महासमितिको बैठकमा व्यापक छलफल भएको छ, केही भएको छैन भनेर भन्न मिल्दैन । ती छलफलहरू महासमितिको सम्पत्तिको रूपमा सुरक्षित पनि छ । त्यस विषयलाई नै मध्यनजर गरेर केन्द्रीय समितिले यसको भावी रणनीतिहरू तय गर्छ । 

महासमितिको प्रस्ताव किन केन्द्रीय समितिमा, केन्द्रीय समितिले नै गर्ने भए किन त्यतिका महासमितिका प्रतिनिधिलाई दुःख दिएको त ?

तपाईंले भनेको कुरा ठीकै हो । यस्तै कुरा मेरो पनि मनमा आउँछ । हामीले संरचना किन यस्तो बनायौं, पार्टीको विधानलाई परिवर्तन गर्नुपर्ने हो । जम्बो संरचनाले कसरी निर्णय गर्न सक्छ, यस्तो अवस्था किन आयो, यसले पार्टीमा जुन किसिमको जीवन आउनुपर्ने हो, जुन किसिमको तागत आउनुपर्ने हो, जुन किसिमको सोच र सामथ्र्य पैदा गर्नका लागि यस्तो परिस्थितिहरू बाधक हुन्छन् । महासमितिको बैठकका सम्पूर्ण दस्तावेजहरू केन्द्रीय समितिमा ल्याउने कुरा सैद्धान्तिक रूपले तपाईंले उठाएको प्रश्न ठीक हो । त्योभन्दा अर्को बाटो र विकल्प पनि थिएन हामीसँग । त्यही भएर विशिष्ट परिस्थितिमा निर्णयहरू भए । अब आउँदो दिनमा त्यो विषयमा कसरी जाने भन्ने कुरामा पनि समीक्षा हुन्छ । 

माओवादी र एकीकृत समाजवादीले अब आउँदा चुनावहरू एक्लै लड्ने निर्णयमा पुग्दा कांग्रेस भने गठबन्धनलाई अझ बलियो बनाउने निर्णय भयो भनेर विज्ञप्ति निकाल्नु भयो नि ?

यसमा दुई वटा कुरा छन् । एउटा कुरा पार्टीको रणनीति हुन्छ । हाम्रो एक्लै चुनाव लड्ने मन थियो । तर पार्टीले गठबन्धनबाटै चुनावमा जाने निर्णय गर्‍यो र हामीले गठबन्धनबाटै चुनाव लड्यौं । गठबन्धनबाटै सरकार निर्माण गर्‍यौं । ‘प्रि इलेक्सन एलाइन्स’ गर्न हुँदैनथ्यो । चुनाव जिते पनि राजनीति हारिन्छ । यस्तो हुँदा पार्टीको आफ्नो मौलिकता, विचार र दृष्टिकोण सिद्धिन्छ, कार्यकर्ताहरूमा उत्साह रहँदैन । आम जनताले कांग्रेसलाई जसरी चिनेका छन्, गठबन्धन हुँदा आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाउँदा पार्टीलाई घाटा हुन्छ । त्यसकारण प्रि इलेक्सन एलाइन्स त्यो पनि माओवादीसँग मिलेर जान हुँदैन, अहिले चुनाव एक्लै एक्लै लडौं, पछि गएर एलाइन्समा सरकार बनाउँला भन्ने एउटा दृष्टिकोण थियो । तर पार्टीले एलाइन्स गरेर नै चुनाव लड्नुपर्छ भनेर पार्टीले निर्णय गर्‍यो र त्यसैबाट हामी अगाडि बढ्यौं । अहिलेको विशिष्ट परिस्थिति के हो भने, नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धनबाट चुनाव लडेका छन् । त्यही परिणाम आएको छ । हामीले पाएको म्यान्डेट त्यहीअनुसारको भएकाले अहिले तत्काल हामी गठबन्धनबाट बाहिर जाने कुरा गरेको होइन, महामन्त्रीको प्रतिवेदनमा तत्काल गठबन्धनबाट बाहिर जाने कुरा गरिएको छैन । आगामी दिनमा नेपाली कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने सामथ्र्य विकसित गर्नुपर्छ, पार्टीलाई त्यो हिसाबले अगाडि बढाउनु पर्छ, संगठन त्यस्तै किसिमले निर्माण गर्नु पर्छ । हामीले अगामी दिनमा चुनाव एक्लै लड्नुपर्छ है भन्ने खालको कुरा हो । तर, बाहिर आउँदाखेरि आफ्नो आफ्नो ढंगले व्याख्या गर्छन् साथीहरूले त्यहीमात्रै फरकफरक कुराहरू आएको हो । दस्तावेजमा त त्यस्तो केही पनि छैन । नेपाली कांग्रेसको निर्णयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूको चासो हुनु स्वाभाविक पनि हो । त्यही परिस्थितिले गर्दा अलिकति कन्फ्युजन भएको हो । अहिले नै गठबन्धनलाई भत्काउने तोड्ने अनि नयाँ बनाउने भन्ने कुरा कतैबाट आएको छैन ।

अब वैशाख १५ गतेको उपनिर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने ?

यो पाँच वर्षको कार्यकालमा त हामी गठबन्धनलाई नै आत्मसात् गरेर अगाडि बढेका छौं, राष्ट्रियसभाको निर्वाचन छ, त्यसमा पनि नेकपा माओवादी केन्द्रले एउटा निर्णय गरेको छ भन्ने पनि सुनिएको छ । राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारका विषयमा माओवादीले हतार गरेको हो । प्रचण्ड त प्रधानमन्त्री नै हुनुहुन्छ उहाँले त परिपक्व निर्णय गर्नुपर्छ अब पनि ‘इमोसनल’ निर्णय गरेर काम चल्नेवाला छैन । उहाँले यसका प्रभावहरूको विश्लेषण गर्नुपर्ने हो । त्यसले सिर्जना गर्ने परिस्थितिलाई आफूले आकलन गर्नुपर्ने हो । अहिले एउटा कुरालाई मात्रै टिपेर अगाडि बढ्न खोजेर त हुँदैन । हामीलाई के लाग्छ भने नेकपा माओवादीले उनका कार्यकर्तालाई सन्तुष्ट गर्नलाई यस्तो कुरा बोल्नु भएको हो भने त ठीकै छ । तर, गठबन्धनको निर्णय नआइकन आफ्नो पार्टीले मात्रै एकल निर्णय गर्दाखेरि त उहाँहरू इमान्दार हुनुहुन्न कि भन्ने प्रश्न जन्मिएको छ । हामी एक चरण अझैं पनि गठबन्धनबाट अघि बढ्ने प्रयास त गर्छौं । अब ४ वर्ष बाँकी छ, गठबन्धनबाट यत्रा प्रदेशका सरकारहरू बनेका छन्, केन्द्रको सरकार बनेको छ, यतिका राजनीतिक नियुक्तिहरू भएका छन् । परिस्थिति नै फेरिएको छ । यो प्रभावकारी बनोस् र यसले आफ्नो अवधि पूरा गरोस् भन्ने हाम्रो चाहना छ । हामी गठबन्धनका विषयमा एकदमै इमान्दार छौं । महासमिति र केन्द्रीय समितिको बैठकमा पनि हामीले त्यही कुरा गरेका छौं । तर, अहिले जुन खालको बाहिरी माहोल देखिएको छ, यसले हाम्रा सहकार्यमा रहेका दलहरू नै गठबन्धनप्रति इमान्दार बन्न नसकेका हुन् कि शंकाको दृष्टिकोणले मात्रै कांग्रेसलाई हेरेर समस्याको समाधान हुँदैन । कांग्रेसले त यत्रो ‘मेनस्ट्रिमको पोल्टिक्समा’ रूपान्तरण गर्‍यो । नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि प्रचण्डलाई हामीले प्रधानमन्त्रीको रूपमा स्वीकार गर्‍यौं । अहिले खाली कांग्रेसले अपजशमात्रै बोक्ने राम्रो कुरा आफूले मात्रै लैजाने राम्रो भएन ।

माओवादीले जहिले पनि कांग्रेसले गठबन्धनमा इमान्दार भएन भनेर आरोप लगाउँछ, राष्ट्रियसभाका चुनावमा पनि त धोका कांग्रेसले नै दिएको होइन र ?

 नेपाली कांग्रेसले गठबन्धनमा धोका दिएको छैन । उल्टै कांग्रेसले धोका पाइराखेको छ । हामीले धोका पाएको धेरै उदाहरण छन् । मैले चुनाव जुन जिल्लाबाट लडे त्यसको मसँगै तीन वटा अनुभव छन् । म एक्लै चुनाव लडे, माओवादी र एमालेको महागठबन्धनमा पनि चुनाव लडे, अनि पछिल्लो चुनाव कांग्रेस र माओवादीको गठबन्धनमा चुनाव लडे । कति कांग्रेसका साथीहरू र माओवादीका साथीहरूले के के गरे भन्ने कुरा त परिस्थिति र परिवेश आफ्ना आफ्ना छन् । झापाको एउटा चुनावमा नतिजा तलमाथि पर्‍यो भनेपछि पार्टीभित्र विद्रोह हुँदैन र । आज जनार्दन शर्माले नेकपा माओवादीको स्थायी समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो भन्दै के उहाँ माओवादी नै होइन भनेर उहाँको पार्टी बोल्न सक्छ ? पार्टीभित्र विभिन्न खालका विचारहरू खेल्छन्, साथीहरूको मनोविज्ञान हुन्छ । कतिपय ठाउँमा नेतृत्वले मनोभावनाहरू सम्बोधन गर्न सकेका हुँदैनन् । केन्द्रको नेतृत्वको मात्रै होइन, स्थानीय नेतृत्वको पनि ठूलो प्रभाव हुन्छ । मैले चुनाव लड्दै गर्दा मेरो जिल्लामा नेपाली कांग्रेसकै साथीहरूले राजीनामा गरेर बस्नुभयो यस्तो अवस्थामा म कहाँ जाने त । राजनीति गर्दा केही मेरो पनि कमजोरी भयो होला, केही साथीको र केही मेरो पार्टीको पनि कमजोरी भयो होला । त्यसकारण परिस्थिति र परिवेश एउटा कोणबाट मात्रै निष्कर्षमा पुग्न सकिँदैन । कुनै पनि कुरालाई विभिन्न कोणबाट हेरेर विश्लेषण गर्नुपर्छ र मात्रै हामी परिणाममा पुग्नु पर्छ ।

आलोपालो प्रणालीअनुसार प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि माओवादीको संवैधानिक निकायमा नेतृत्व नहुने भएकाले राष्ट्रियसभामा अध्यक्षको दाबी माओवादीबाट भनिएको छ, यस्तो अवस्थामा गठबन्धनको भविष्य कहाँ देख्दै हुनुहुन्छ ?

माओवादीले ‘कोलिसन पार्टनर’हरूलाई विश्वास गर्नुपर्छ । पार्टनरहरूलाई विश्वास नगर्ने हो भने काम चल्दैन । हिजो कांग्रेसको कोही थियो र । राष्ट्रपतिदेखि राष्ट्रियसभा र सभामुख कुनै पनि ठाउँमा कांग्रेसको प्रतिनिधित्व नहुँदा पनि त हामीले केही भनेका थिएनौं र हामी सिद्धिएका थिएनौं । गठबन्धनमा भइसकेपछि सहयात्री साथीहरू हुँदा त्यो भित्र म पनि छु भन्ने मनोविज्ञान बनाउनु पर्‍यो । वेस्टमिनिस्टर सिस्टम भनेकै क्याविनेट सिस्टम हो । अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ उहाँलाई हामीले हाम्रो प्रधानमन्त्री भने हिँडेका छौं त । राष्ट्रियसभाका अध्यक्षको हकमा नेचुरल राइट कांग्रेसलाई आउँछ भने गठबन्धनमा इमान्दारितापूर्वक छलफल गरेर कांग्रेसले लिनुपर्‍यो । नेचुरल राइट कांग्रेसको होइन माओवादीको हो भने माओवादीले अध्यक्ष लैजानु पर्‍यो । अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ भनेर सबै कुरा उल्टोमात्रै सोचेर हुन्छ र, प्रधानमन्त्री प्रचण्ड त हाम्रो पनि हो भनेर सोच्नु पर्‍यो । राजनीति गर्ने साथीहरूले किन दरिद्र सोच्छन् भन्ने कुरा मैले त कहिल्यै बुझ्दिनँ । 

अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ भन्ने कुरा सुनिन थालेको छ नि ?

हामीले ८ वर्षसम्म संविधानको अभ्यास गरिसक्यौं । संविधानका कतिपय कमी, कमजोरीको विषयमा हामीले विश्लेषण गरेका छौं । अहिलेको चुनाव प्रणालीले मुलुकमा स्थायित्व हुने परिस्थिति देखिएन । त्यसका पछाडि चुनाव प्रणालीमात्रै दोषी छैन, हाम्रा नेताहरूको पनि दोषी छ । हामीले संविधानको स्प्रिटभन्दा बाहिर गएर हाम्रो इच्छा पूरा गर्ने काम गरेका छौं । संविधानको भावना एउटा हुन्छ अनि निर्णय अर्कै गरिरहेका हुन्छौं । यसैगरी अवसरमा राम्रोभन्दा पनि हाम्रो मान्छे खोज्छौं । सिमान्तकृत गरिब र महिला भनेको ठाउँमा कसरी निर्णय हुन्छ परिस्थितिबारे सबै जानकार नै हुनुहुन्छ । जे जस्तो परिस्थिति भए पनि यो चुनाव प्रणालीले मुलुकमा स्थिर सरकार बन्न सक्दैन । त्यसकारण चुनाव प्रणालीप्रति गम्भीर असहमति छ । त्यसकारण संविधान संशोधननको प्रक्रियाहरूमा जानु पर्नेछ । सबै पार्टी एक ठाउँमा नबसेर संविधान संशोधन हुँदैन । मलाई के लाग्छ भने एउटा ठूलो गल्ती केपी ओलीले गर्नुभयो । उहाँ र माओवादी मिलेर महागठबन्धन बनाउनु भएको थियो । दुई तिहाइनजिक नजिकको सरकार बनाउनु भएको थियो, त्यतिबेला उहाँले यी कुराहरूमा छलफल गर्नुपर्ने थियो । त्यतिबेला उहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने थियो । र संविधानको समीक्षा गरेर संविधानमा आवश्यक संशोधन गरेर जनतामा आशा जगाउनुपर्ने थियो । त्यो उहाँले गर्नु भएन । अहिलेको हाम्रो र माओवादीको गठबन्धनबाट पनि राम्रै परिस्थितिहरू सिर्जना भएका छन् । अहिले सरकार बहुमतको दम्भमा चलेको छ, त्यो नगरेर अहिले पनि राष्ट्रिय सरकार बनाउने विषयमा सबै पार्टी सरकारमा रहेर कम्तीमा दुई वर्ष चलाउनु पर्छ । सबैले मुलुकका जनतालाई केन्द्रबिन्दुमा राखेर सोच्नु पर्‍यो । र त्यो सरकारले संविधानमा आवश्यक संशोधन गर्नु पर्‍यो । सत्तापक्ष र प्रतिपक्ष भएर संविधान संशोधनको प्रक्रिया अघि बढ्दैन । त्यसकारण सबैलाई एक ठाउँमा ल्याउने सामथ्र्य कांग्रेसको मात्रै छ । त्यसैले अब कांग्रेसकै नेतृत्वमा राष्ट्रिय र सर्वदलीय सरकार बनाउनेतर्फ बहस चलाउनु पर्छ । 

त्यो भनेको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइहालौं भन्यो होइन त ?

मैले त्यो भनेको छैन । नेपाली कांग्रेसबाट प्रधानमन्त्री को बन्छ भन्ने कुरा त अहिलेको संसदीय दलको नेता र सभापति शेरबहादुर देउवा भएकाले कांग्रेसको भागमा पर्दा त उहाँबाहेक अरु को बन्छ र । तर, नेपाली कांग्रेसको संसदीय दलमा के छलफल हुन्छ, अनि सभापति देउवाले अब म बन्दैन साथीहरू को अगाडि बढ्छौं भन्नुहुन्छ कि । उहाँ पाँच पटक प्रधानमन्त्री बनिसकेकाले उहाँले अब अरूलाई नेतृत्व गर्न पठाउन पनि सक्नुहुन्छ, त्यसैले अहिले नै उहाँलाई नै प्रधानमन्त्री बनाइहालौं भनेको होइन । यसमा उहाँले फेरि केही बोल्नु पनि भएको छैन । 

कांग्रेससँगको गठबन्धन तोडिएर, कम्युनिस्टहरूको गठबन्धन बन्दै छ भन्ने चर्चामा सत्यता छ ?

अहिलेको गठबन्धन भत्किएर कम्युनिस्टहरूको गठबन्धन बन्ने सम्भावना अहिलेसम्म देखिँदैन । विगतमा लोकतान्त्रिक शक्तिहरूको एकता पनि भएको हो, वामपन्थी एकताको अभ्यास पनि यहाँ भइसकेको छ । एउटा ठूलो शक्ति यो गठबन्धन तोड्नका लागि लागेको छ । वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि तयारी भएको कुरा हामीले पनि बुझेका छौं । त्यो विषयमा हामी सतर्क पनि छौं र ध्यान पनि दिएका छौं । कुनै पनि सम्भावनालाई नकार्न भने सकिँदैन । प्रधानमन्त्री नहुनेबित्तिकै प्रचण्ड बालकोट जानुभयो, केपी ओलीले सम्बोधन गर्नुभयो अनि प्रचण्ड प्रधानमन्त्री हुनुभयो । पछि हाम्रो नेतृत्वले बुद्धिमत्तापूर्ण निर्णय गरेर फेरि यो गठबन्धनलाई पुनर्जीवन दिएको हो । त्यसैले भावनामा मात्रै बगेर राजनीतिमा गरेको निर्णय दिगो हुँदैन । त्यसकारण राजनीति गर्दाखेरि राजनीतिक नेतृत्वले जहिले पनि स्थिर र गम्भीर भएर पार्टीले मुलुकको दूरगामी असरलाई ख्याल गर्नुपर्छ । त्यसैले निर्णय गर्दा आफू र दललाई मात्रै केन्द्रबिन्दुमा राखेर क्षणिक लाभ त पाइन्छ तर यसले मुलुक र जनतालाई दीर्घकालमा निराशा मात्रै दिनेछ ।

एमालेले त गठबन्धन भत्काउन खुबै प्रयास गरेको छ नि ?

यो त स्वाभाविक नै हो । तर, केपी ओलीले पनि के बुझ्न जरुरी छ भने हिजो मैले पनि दुई तिहाइ नजिक नजिकको सरकारको नेतृत्व गरें, महागठबन्धन बनाएँ, कम्युनिस्टहरू सबैलाई मिलाएर चुनाव लडेर सबै कुरा हासिल गरे पनि मैले न घर बचाउन सकें, न पार्टी बचाउन सकें भन्ने कुरा बुझ्नुपर्छ । अझ त्यतिबेला केपी ओलीले मध्यावधि चुनावको जुन निर्णय गरे त्यही कारणले संविधान पनि बच्ने अवस्थामा थिएन । त्यसैले संविधान पनि नबच्ने, मुलुक पनि नबच्ने, पार्टी पनि नबच्ने कस्ता कच्चा निर्णय गरेछु त भन्ने कुरा बुझ्नुपर्छ । फेरि मुलुकलाई अस्थिर बनाउने खेलमा केपी ओली आत्तिएर लाग्नुभयो भने दुर्भाग्य हुन्छ । भोलि मुलुकको इतिहास लेख्दा र बन्दाखेरि कुन मान्छे कस्तो थियो भनेर पनि आउला । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा राजनेता हुनुहुन्छ । उहाँहरूले राजनेताको भूमिका निर्वाह गर्नुपर्छ । उहाँहरूले राजनेताको हिसाबले भूमिका निर्वाह गर्नु भएन भने इतिहासले उहाँहरूलाई कहिल्यै माफ गर्ने छैन ।