देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारको काखा पाखा

देशान्तर

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसका उपकरण खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका अभियुक्त विकल पौडेलसँग शंकास्पद आर्थिक लेनदेनमा जोडिएको भनिएका हालका मुख्यसचिव वैकुण्ठ अर्याल टेरामक्स उपकरण खरिद प्रकरणमा मुछिएका कारण अख्तियारले अनुसन्धान गरी आज आइतबार यस प्रकरणमा मुद्दा दायर गर्ने तयारी गरिरहँदा मुख्यसचिवले राजीनामा दिन लागेको समाचार सार्वजनिक हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस टेप काण्डमा मुछिएका एमाले सांसद गोकुल बाँस्कोटाको बेचैनी बढेको छ ।

केही दिनपहिले सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस टेप काण्डको अनुसन्धान भइरहेको जानकारी गराइरहँदा सार्वजनिक लेखा समिति सस्दयसमेत रहेका बाँस्कोटा सुनेर बसिरहेका थिए । 

घटना भएको चार वर्षपछि लेखा समितिमा अख्तियारका प्रमुख आयुक्तले ७० करोड टेप प्रकरणमा अनुसन्धान भइरहेको र प्रमाण नभेटिएकोले अहिले नै दोषी कसैलाई भन्न नमिल्ने तर प्रकरणलाई छिट्टै टुंगोमा पुर्‍याउने बताउँदा बाँस्कोटाले सुनिमात्र रहे केही बोलेनन् र बैठकको आधा समयतिर निस्केर हिँडेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।

यता प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले केही दिनदेखि लगातार विभिन्न आरोपमा मुछिएका सरकारका तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग गर्दै सदनमा विरोध गर्दै आइरहेको छ । त्यसमा मन्त्रीहरूको राजीनामाको माग गर्दै चर्को भनाइ राख्नेमा पर्छन्, बाँस्कोटा । सांसद बाँस्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहो¥याउँदै आएका छन् । 

अख्तियार प्रमुख राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणबारेको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पु¥याउने बताइरहँदा चार वर्षअघिको टेप प्रकरणबारे भने अनुसन्धान जारी रहेको जानकारी संसदीय समितिलाई गराउँदा कतै भित्रभित्रै बाँस्कोटालाई जोगाउने प्रपञ्च त हैन भन्ने प्रश्न पनि उठेको छ । 

टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ । यो प्रकरणमा बाँस्कोटा आफैंले पनि अख्तियारमा बयान दिएर बसेका छन् । यो प्रकरणमा पनि उनी ७० करोडमै जोडिएका छन् । अख्तियारका प्रमुख राई एमालेको भित्री कार्यकर्ता रहेकाले अख्तियारले यो प्रकरणमा मुद्दा दायर गर्दा बाँस्कोटालाई मुद्दा चलाउन नपर्ने राय दिन सक्ने ‘सेटिङ’ बारे राजनीतिक वृत्तमा चर्चा छ । 

यस्तै, अघिल्लो ७० करोड टेप प्रकरणबारे संसदीय समिति बैठकमा राईले भनेका थिए ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ ‘हामीले छानबिन गरिरहेको छौं । पर्याप्त प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोषी ठह¥याएर मुद्दा लैजान हुँदैन । यस्मा एमाले निकट अख्तियार प्रमुख राईले बाँस्कोटाको फाइल तामेलीमा पठाउन सक्ने आशंका पनि केहीले गरेका छन् ।