देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री

देशान्तर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन् । पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले मुलुकको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राखे । उहाँले संस्कारसहितको व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिए ।


ऋषि, महर्षिको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको उनले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । सर्वसिद्धिधाम पञ्चकोटसहित मुक्तिनाथ क्षेत्रको समग्र विकासमा उक्त सडकले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
स्वामी कमलनयनाचार्यले धार्मिक पर्यटनको विकासमा सरकारको सहयोग चाहिएको बताए । स्वामी कमलनयनाचार्यले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताए । उनले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राखे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसिद्धिधाम पञ्चकोट पवित्र देवभूमिका रुपमा स्थापित भइरहेको बताए । पञ्चकोटको विकासमा सहयोगी बन्न निजी क्षेत्र तयार रहेको उनको भनाइ छ ।
सभ्यताको जननी कालीगण्डकी नदी र शालिग्रामको संरक्षणका लागि स्वामी कमलनयनाचार्यले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताए । नेपाललाई प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।