देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ इतर समूहको भेलाको निष्कर्ष : मनोमानीविरुद्ध संघर्ष गर्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरुले संस्थापन समूहले संगठनलाई एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेविसंघका नेताहरुले फरक मतलाई स्थान नदिई मनोमानी ढंगले संगठन चलाएको आरोप लगाए ।

नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलका क्रममा भेला भएका केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाए । केन्द्रीय सदस्य सुनिल शर्माका अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको जानकारी दिए ।

संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रिय सदस्य शर्माले बताए । तर कतिपयले बैठकमा सहभागी भएर बलियो उपस्थिति जनाउनुपर्ने धारणा राखेका थिए ।

बाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरु, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो । छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ.सुवास पौडेलले जानकारी दिए ।

२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठमहिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आब्हान गरिएको छ ।