देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतमा जीवन खोज्दै गीतकार शिवाकोटी

देशान्तर


काठमाडौं । गीतकार कुमार शिवाकोटी पेसाले व्यवसायी हुन् । एक दशकदेखि अमेरिकामा बस्दै आएका गीतकार शिवाकोटी गीत, संगीत र साहित्य भनेपछि हुरुक्कै हुने कोमल मनका धनी व्यक्तित्व हुन् । ‘भिझाएर आँसु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ हामी नेपालीलगायत करिब दर्जन गीतहरू बजारमा ल्याइसकेका गीतकार शिवाकोटी घुम्न रुचाउने स्वभावका व्यक्तित्व हुन् । ९ वर्षकी ठूली छोरी प्रिन्सा र ४ वर्षकी सानी छोरी प्रनिका र धर्मपत्नी यशनासँगै अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएका छन् गीतकार शिवाकोटी । जन्मभूमि इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत आफ्ना सिर्जनाहरू एकपछि अर्को गर्दै बजारमा ल्याइरहेका गीतकार शिवाकोटीसँग गीतसंगीत, जीवन र समसामयिक विषयवस्तुमा आधारित भएर गरिएको कुराकानीको सम्पादित अंश

अहिले केमा व्यस्त हुनुहुन्छ ?
म गीतसंगीतको मायाप्रेममा डुबेको यात्री हुँ । यसकै सेरोफोरोमा बित्छ मेरो धेरै समय । हालै हामी नेपाली बोलको गीत बजारमा आयो । र अब मेरो मुटु बोलको गीतको तयारीमा छु । सम्भवतः अर्को महिनासम्म रिलिज हुन्छ होला ।

गीतसंगीत सिर्जनाका लागि कुन समय उपयुक्त हुन्छ ?
गीतसंगीत सिर्जनाको कुनै समय नै हुँदैन । कहिले फूल हेरेर गीत फुर्छ त कहिले घाटमा देखिने पीडाले पनि गीत लेखिन्छ । मैले रातिको २ बजे पनि गीत फुरेपछि लेखेको अनुभव छ । सुखदुःखका आयामहरूसँगै बेलामौकाले साथीभाइसँग रमाइलो गर्दा पनि सिर्जना फुरेको छ ।

कहिलेदेखि गीत लेखनमा सक्रिय बन्नुभयो ? पहिलो गीत कुन हो ?
मैले २०५८ सालदेखि गीत लेखनमा कलम चलाएको हो । त्यतिबेला म १७ वर्षको थिए । जानेर, नजानेर बैंसालु उमेरसँगै लेख्न सुरु गरेको यात्रा अहिले निरन्तर कायम छ । मैले पहिलो पटक लेखेको गीत किन सपनीमा भन्ने हो । जुन गीत बाबु बोगटीको स्वरमा स्वरबद्ध छ । बाबु बोगटीकै युट्युब च्यानलमा सुन्न सकिन्छ ।

कस्तो प्रकारका गीतहरू यहाँ बढी मात्रामा लेख्न रुचाउनुहुन्छ ?

यो मुडमा भरपर्ने कुरा हो । बिछोडका भावनाहरू बढी समेट्ने प्रयास गरेको छु जस्तो लाग्छ । कुनै पनि प्रकृति प्रेम, रमाइला सिउँडीको काँडैमा, पिरतीको खेलजस्ता मेरा रमाइला र रेकर्ड भइसकेका गीतहरू हुन् ।

किन विरहमा बढी कलम चलाउन मन लाग्छ ? तपाईं त प्रेम विवाह गरेको मान्छे ?
धेरैको वियोग नजिकबाट देखेको मान्छे हुँ र वियोग पनि भोगेको छु मैले । नजिकबाट भन्नुपर्दा प्रेम वियोग मात्रै होइन देश वियोगजस्ता कुराले जहिले पनि छँुदो रहेछ । र चसक्क भएपछि त्यो विरह र तनावलाई कलमका माध्यमबाट लेखिँदो रहेछ अनायासै र त्यो पीडा र भोगाइ सिर्जना बन्दो रहेछ । यशनासँग एक वर्षसम्म प्रेम सम्बन्धमा रहेर हामीले विवाह गरेका हौं । प्रेमकालमा रहेको त्यो एक वर्ष निकै रमाइलोसँग बित्यो । अझै विवाहपछि छोरीहरूको आगमनले परिवार पूर्ण भएको छ ।

तपाईंको प्रेम जीवन कसरी सुरु भएको थियो ? केही अनुभव बाँड्न मिल्छ ?
यशनासँग मेरो पहिलो भेटको कथा निकै रोमाञ्चक छ । कफी पिएर सुरु भएको यो यात्रा निकै स्मरणीय मात्रै भएन उनी मेरो प्रेमिका हुँदै अहिले पत्नीका रूपमा रहँदा झनै माया झाँगिएको छ । फैलिएको छ ।

रिलिज भएका गीतहरूमध्ये तपाईंलाई सबैभन्दा बढी मन छुने गीत कुन हो र किन ?
मलाई भिजाएर आँसु बोलको गीतले निकै मन छुन्छ । जसमा दीपक शर्माको संगीत तथा रामकृष्ण ढकालको स्वर रहेको गीत हो यो । यो गीत मैले २०१७ मा लेखेको हुँ ।

अबको तयारी के छ ? के कस्ता गीतहरू बजारमा ल्याउने योजनामा हुनुहुन्छ ?

मेरो नयाँ गीत मेरो मुटु र बिहानीको घामलगायत रिलिजको तयारीमा छन् । सामाजिक विषयवस्तुलाई उठाएर लेखिएको बिहानीको घामबाट मैले धेरै आशा पनि राखेको छु । जुन गीत कर्मग्याल्जेन बम्जनको संगीत तथा किशोर शिवाकोटीको स्वरमा रहनेछ ।

जन्मभूमि इन्टरटेनमेन्टमार्फत तपाईंले के के काम गर्दै आउनुभएको छ ?
यसबाट मैले गीतसंगीत, कला र साहित्यमा आबद्ध व्यक्तित्वहरूका भावना र विचार पनि समेट्ने तयारीमा छौँ । अहिलेसम्म भिडियोहरू मात्रै आइरहेको यस च्यानलबाट छिट्टै नै अन्तर्वार्ता र जानकारीमूलक शृखलाहरू प्रसारण हुनेछन् ।