काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अहिले इतिहासकै सबैभन्दा बढी विवादमा फसेको छ । विगतमा गणेश थापाले नेतृत्व गर्दा भ्रष्टाचार गरेको भन्दै आवाज उठाएर फिफा र एफसीलाई इमेल गर्दै कारबाही गराएकाहरू नेतृत्वमा रजगज गर्न पुग्दा उनीहरूले भने त्यही गणेश प्रवृत्ति देखाउन थालेका छन् । म्याराथन शैलीमा कार्यसमितिको बैठक बसेर केही एजेन्डा तय गर्दै भोलि सोमबार एन्फाको साधारणसभा हुँदैछ । चार महिनाको अवधिमा तेस्रो पटक हुन लागेको साधारणसभा एजेन्डाभन्दा पनि व्यक्तिगत कुराहरूमा केन्द्रित हुने पक्का छ । ए डिभिजन लिग आयोजना भएको छैन भने बी र सी डिभिजनको कुरा त परै जाओस् । सन् २०२७ को फिफा महिला विश्वकप खेल्ने लक्ष्य बनाएको एन्फा त्यो लक्ष्य पूरा गर्नका लागि गरेका केही काम एन्फाले गरेको देखिएको छैन ।
‘ए’ डिभिजन लिग सकिएको आठ महिना भइसकेको छ भने उक्त लिगको विवाद अझैं साम्य भइसकेको छैन । त्यतिबेला विभागीय क्लब एपीएफले ललितपुरे क्लब थ्री स्टारविरुद्ध हालेको उजुरीमा एन्फाले प्रस्ट निर्णय गर्न नसक्दा अझै पनि अन्योल रहेको छ भने खेलाडीहरूले पुरस्कार नै पाउन सकेका छैनन् ।
नेपाली फुटबलमा परिवर्तन गर्ने नाराका साथ पंकजविक्रम नेम्बाङको प्यानलले चुनावबाट एन्फा मुख्यालयमा कब्जा जमाए पनि नेपाली फुटबल भने दिनदिनै खस्किँदो अवस्थामा पुगेको छ ।
२१ सदस्यीय कार्यसमितिका उपलब्ध २० मध्ये ११ जनाले बहिष्कार गर्दा पहिलो बैठकमा कोरम नै पुगेन भने पछिका तीन वटा बैठक अडिट रिपोर्टमै अल्झिए ।
एन्फाले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न निर्णयहरू भएको बताए पनि कार्यसमितिकै केही पदाधिकारी र सदस्यले सार्वजनिक रूपमै त्यसको विरोध गरिसकेका छन् । उता पंकजका दायाँ हात मानिने अर्का उपाध्यक्ष दावाकुंगा लामा लागूऔषध कारोबारमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि अहिले फुटबल राडारबाट टाढा छन् । यसैगरी अध्यक्ष नेम्बाङ र महासचिव किरण राईविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
हेटौंडामा विशेष साधारणसभा गर्दा आपसी लेनदेन गरेर पद जोगाएका नेम्बाङ अहिले पेलेरै जाने पक्षमा देखिएका छन् । जसका कारण फुटबलको विकासभन्दा पनि विनाश गर्नलाई उनी सक्षम भएको नेपाली फुटबल समर्थकहरूले टिप्पणी गर्न थालेका छन् ।
प्रतिक्रिया