देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

महासमिति बैठकको सन्देश 

देशान्तर

पार्टीको नीति, कार्यनीतिलगायत अन्य प्रसंगहरूलाई सम्बोधन गर्दै र तीनै तहका सरकारले गरेका कामहरूको मूल्यांकन गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ ।  देशभर र विदेशबाट समेत गरी २२ सयभन्दा बढी महासमिति सदस्य सहभागी बैठकले कांग्रेसलाई वैभवशाली इतिहासको जगमा नयाँ सोच र योजनासहित अगाडि बढाउन पनि नेतृत्वलाई दिशानिर्देश गरेको छ । महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठकले गरेका निर्णय र छलफलमा उठेका विषयले कांग्रेसलाई गतिशील बनाउन सहयोग त पुर्‍याउनेछ, योसँगै अन्य दलहरूलाई पनि त्रसित बनाएको छ । 

२००७ सालदेखि हरेक क्रान्तिको नेतृत्व गरेको र मुलुकलाई निकास पनि दिएको कांग्रेस साँच्चिकै लोकतान्त्रिक दल हो र यसले अरूलाई पनि लोकतन्त्रको पाठ पढाउन सक्छ भन्ने सन्देश महासमितिबाट पुनः दिएको छ । कांग्रेस आफ्ना कार्यकर्ता, क्रियाशील सदस्य, साधारण सदस्य, मतदाता तथा शुभेच्छुकहरूका कारण बनेको, स्थापित भएको र चलिरहेको पार्टी हो । नेपाली कांग्रेस कम्युनिस्ट पार्टीका जस्ता जागिरे कार्यकर्ताबाट चलेको पार्टी होइन । यसले आम मानिसको कुरा सुन्छ र उनीहरूकै पक्षमा काम गर्छ भन्ने सन्देश पनि यो बैठकले दिएको छ, जसले अन्य दलहरूलाई सोच्न बाध्य बनाएको छ । 

मुलुकमा राजनीतिक स्थायित्वको खाँचो छ, स्थायित्वले नै मुलुकलाई समुन्नतिको बाटोमा अगाडि बढाउँछ, त्यो स्थायित्व र समुन्नति कांग्रेसले मात्रै दिलाउन सक्छ र त्यसका लागि कांग्रेस पार्टी पहिलो मात्रै नभएर बहुमतसहितको हुनुपर्छ । अन्य कम्युनिस्ट पार्टीहरूको साथमा सरकार चलाउँदा वा सरकारमा सहभागी हुँदा कांग्रेसले चाहेजस्तो काम हुन सक्दैन, जुन पछिल्ला दशकमा देखिएको छ । हो, यही कारणले यो महासमिति बैठकले आगामी चुनावमा गठबन्धन नगर्ने, एक्लै आफ्नै बलबुतामा चुनाव लड्ने र बहुमतसहितको सरकार सञ्चालन गर्ने संकल्प पारित गरेको छ, जुन आम कांग्रेसजनका लागि सबैभन्दा खुसीको कुरा हो । कांग्रेस भएर पनि रूख चिह्नमा भोट हाल्न नपाउनेहरूका लागि त यसले खुसीको सञ्चार गरेको छ नै, यसले पार्टीको संगठन, आदर्श, मूल्य र मान्यता जोगाउन पनि बल पुर्‍याएको छ । 

बैठकले नेताहरूका लागि अवसरको एउटा मापदण्ड पनि तय गरिदिएको छ । आजीवन लाभको पदमा बसिरहने नेताहरूको मानसिकतामा यसले ब्रेक लगाइदिएको छ र पार्टीमा सक्षम नेतृत्व विकासका लागि मार्ग प्रशस्त गरिदिएको छ । राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने प्रावधान महासमितिले पारित गरेर कांग्रेस एउटा विधिबाट चल्छ र योगदान गरेकाहरूलाई समानरूपमा अवसर दिन्छ भन्ने स्पष्ट पारेको छ । नमरुन्जेल आफैं सांसद, मन्त्री र प्रधानमन्त्री हुन्छु भन्ने मानसिकतालाई यो महासमितिले हटाइदिएको छ । 

कांग्रेसको नेतृत्वमा २०७२ मा नयाँ संविधान जारी भयो । जसले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक तथा धर्म निरपेक्ष बनाइदियो । कैयन् मौलिक अधिकार सुरक्षित गरिदियो । संघीयता, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार अपरिवर्तनीय विषय हुन् । तर, अन्य विषयमा भने खुला छलफल गर्न सकिन्छ भन्ने सन्देश यही बैठकले दिएको छ । खासगरी संघीयता र धर्म निरपेक्षताका विषयमा उठिरहेका असन्तुष्टि र विरोधलाई चिर्न कांग्रेसले यस्तो निर्णय गरेको हो । संविधान गतिशील दस्तावेज हो, यसलाई आवश्यकताका आधारमा संशोधन वा परिमार्जन गर्न सकिन्छ, महासमिति बैठकको निष्कर्ष पनि यही हो । 

आम नागरिकको जीवनसँग जोडिएर नीति बनाएको कांग्रेसले यो महासमितिबाट आफूलाई थप सशक्त, समायानुकूल र समयसापेक्ष बनाउने प्रयास गरेको छ । नागरिकको चाहना, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्रतालाई आफ्नो नीति तथा कार्यनीति बनाएको कांग्रेसले अब नागरिकमा बढेको निराशा हटाउन पहल गर्नु पर्दछ ।