देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस एक्लै चुनावमा जानुपर्छ : सुशील भट्ट

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य सुशील भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्द सत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् ।

उनले विधानमा उल्लेख  भए अनुसार तोकिएका सबै बैठकहरू एक दिन पनि ढिला नगरी  गरिनुपर्नेमा जोड दिए । काँग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरूमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे ।  ‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चितताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति  पनि समेटियोस्’, उनले भने ।

नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ सङ्गठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरूको  भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्नुपर्ने उनले बताए । यस्तै पार्टी नेतृत्वका लागि  उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समय सीमा  तोकिनुपर्ने उनले बताए ।

यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया बदल्दै वडा तहदेखि  नै प्रतिस्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्यानाकर्षण पनि गराए । ‘त्यसले गर्दा केन्द्रीय सदस्य र  पदाधिकारीहरू वडा तहदेखि नै प्रतिस्पर्धा गर्दै आउँदा उहाँहरू पनि  थप बलशाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व  बन्ने देखिन्छ’, उनको भनाइ थियो ।

यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषय विज्ञ छानिनु पर्ने लगायतमा पनि उनले जोड दिए ।