देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेद्वारा सरकारमा रहेका तीन मन्त्रीको राजीनामा माग

देशान्तर

काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्रीले लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै उनले किराँतीको राजिनामा माग गरे । यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएका छन् । उनले प्रतिपक्षलाई नसुन्ने हो भने संसद् र सडक अवरुद्ध गर्ने चेतावनी दिए ।

यस्तै राराष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनामा हत्या भएको भए गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री र गोली चलाउने डिएसपीलाई कारबाही गर्नुपर्ने बताए।

शुन्य समय प्रारम्भ हुनासाथ प्रतिपक्षीदलहरुले उठेर अबरोध गरेका थिए । यसैबीच सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरे । त्यसपछि एमाले सांसदहरुले अवरोध खोलेपछि शुन्य समयको कारबाही जारीे छ ।