देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविबारे अनुसन्धान अघि बढ्यो 

देशान्तर

काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोपमा कास्की प्रहरी, सहकारी विभागलगायतका निकायमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको उजुरीबारे सीआईबीलगायतका निकायबाट अनुसन्धान प्रक्रिया अगाडि बढिरहँदा अब यो विषयमा सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन थालेपछि रविको निदहराम हुन थालेको छ । यद्यपि यस प्रकरणमा उनले कुनै सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै आइरहेका छन् । 

सहकारीको रकम हिनामिनामा मुछिएका लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर (जीबी) राईको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुुरु गर्दै सम्बन्धित बैंकसँग खाता माग गरेको हो । 

विभागले २० वटा बैंकहरूलाई पत्र पठाउँदै बैंक खाता भए, नभएको विषयमा विवरण पठाउन भनेको छ । विभागले लेखेको पत्रमा बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेस गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनिएको छ ।

सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिससमेत जारी भएको छ । जीबी र रविमाथि गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा कर्जा लिएर ठगी गरेको आरोप छ । राईविरुद्ध कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । रविका नाममा पोखराको सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जाको रूपमा छुट्टै एक करोड निकालिएको तथ्य बाहिरिएको थियो ।  भने बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट रवि र गोर्खा मिडियाको नाममा रकम जम्मा भएको डिपोजिट स्लिप सार्वजनिक भएको थियो । यो प्रकरणमा रविले पत्रकार सम्मेलन गर्दै आफ्नो खातामा पैसा जम्मा भएको कागज देखिए पनि पैसा जम्मा नभएको भन्ने बैंकको पत्र सार्वजनिक गर्दै स्पष्टीकरण दिएका थिए । तत्कालीन समयमा फोर के टेलिभिजनका सेयरधनी र प्रबन्ध निर्देशक रहेका उनले सेयर बेच्दा सित्तैमा लिएको सेयर सित्तैमा दिन पनि लेनदेन भएको प्रमाण चाहिने भएकाले ल्याप्चेसहित कागज गरेको भने स्विकार गरेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ भने किटानी जाहेरीका आधारमा  लामिछाने र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि पनि छानबिन अगाडि बढाएको छ ।  यो प्रकरणमा लामिछानेसँग सीआईबीले एक चरणको बयान पनि लिइसकेको छ । केही समयअघि साँझको समयमा लामिछानेको घरमा पुगेको प्रहरीको टोलीले उनीसँग बयान लिएको हो  । 

यसैबीच, केही दिनअघि मात्र लामिछाने  र उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाले तयार पारेको सहकारी र लघुबित्त संकट समाधानका उपायसहितको प्रतिवेदन  प्रधानमन्त्रीलाई बुझाएका छन् । बालुवाटारमा पुगेर २० पन्ने प्रतिवेदन  बुझाउँदै  रास्वपाले  सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल हस्तक्षेप गर्न सुझाव दिएको छ । यसलाई कतिपयले पानी माथिको ओभानो बन्ने लामिछानेको पारा भनेर पनि टिप्पणी गरेका छन् ।