देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीविरुद्ध विद्रोह बढ्दै 

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नै नीति आफैं नै पार्टी भन्ने मनोवृत्तिलाई विस्तारै उनकै पार्टीका कार्यकर्ताहरूले चुनौती दिन थालेका छन् । प्रदेश अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म आइपुग्दा अहिले ओलीको बोली विक्न कम भएको छ । विगतमा सबैलाई पेल्दै र हेप्दै आएका ओलीले आफूले जसलाई चाह्यो उसैलाई नेतृत्वमा स्थापित गर्ने गरेकोमा अहिले ओली प्रवृत्तिलाई चुनौती दिँदै प्यानल बनाएरै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा उत्रिएका हुन् । ओलीलाई चुनौती दिँदै पछिल्लो पटक धादिङमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित हुँदा उनले डा. रामकुमार अधिकारीलाई पराजित गरेका हुन् । पछिल्लो समय पार्टीमा गुटबन्दी बढ्दै जाँदा धादिङको जिल्ला अधिवेशनमा कुटाकुट नै भएको थियो । २० माघमा जिल्ला अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच हानाहान हुँदा विद्यार्थी नेता सन्तोष खनालको हात नै भाँचिएको थियो । 

भूमि त्रिपाठी एमाले धादिङको अध्यक्षमा दोहोरिन चाहेका थिए भने बागमती प्रदेशका पूर्वराज्यमन्त्री रामकुमार अधिकारी पनि जिल्ला अध्यक्ष हुने दौडमा थिए । यी दुईबीच सर्वसम्मत हुन सकेन नै, साथै दुवै पक्ष एक अर्कामाथि जाइलाग्ने अवस्था आएका थियो ।  धादिङमा त्रिपाठी र अधिकारीले आआफ्नै गुट सञ्चालन गर्दै आएका छन् । त्रिपाठीलाई प्रदेश अध्यक्षमा पराजित भएका कृष्णप्रसाद दाहाल र अधिकारीलाई प्रदेश अध्यक्ष  कैलाश ढुंगेलले समर्थन गरेका थिए । 

ढुंगेल केपी ओलीका भक्त भएकाले उनले हस्तक्षेप गरेर अधिकारीलाई नेतृत्वमा स्थापित गर्न खोज्दा विवाद भएको थियो । विवाद भएपछि माघ २० गते स्थगित भएको अधिवेशन फागुन ३ गते बिहीबारमात्रै चुनाव हुँदा ओली पक्ष पछारिएको हो ।  

यसैगरी मुगु जिल्ला अधिवेशनको विवादमा पनि केन्द्रमा उजुरी परेको छ । ९ मंसिरमा उद्घाटन भएको अधिवेशन प्रक्रियागत रूपमा नै बेठिक भएकाले विवाद भएको अध्यक्षका प्रत्याशी डम्बरबहादुर रावलले बताउँदै आएका छन् ।

निर्वाचन गरौंभन्दा पनि बहुमत पक्षको माग नसुनेर एकलौटी रूपमा राति जिल्लाको नेतृत्व घोषणा गरिएकाले केन्द्रीय संगठन विभाग, अनुशासन विभागमा निवेदन दिएको रावलको भनाइ छ ।

अधिवेशनको हालले नेतृत्व छान्ने अधिकार अध्यक्ष मण्डललाई दिएकाले अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गर्दा आफू अध्यक्ष चयन भएको पूर्णबहादुर रोकायाले दाबी गर्दै आएका छन् ।

मुगुको जिल्लाको नेतृत्व चयनप्रति एमालेकै १० वटा भ्रातृ संगठनले नै असन्तुष्टि जनाएका छन् । कर्णाली प्रदेश कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेका व्यक्ति मीनबहादुर शाहीलाई निर्वाचनमा हराएर गुलावजंग शाह विजयी भएका थिए । शाह र यामलाल कँडेलले पार्टी केन्द्रको चाहनाविपरीत कर्णालीमा चुनाव गराएर आफ्नो पक्षका शाहलाई अध्यक्ष निर्वाचित गराएका थिए ।

कर्णाली प्रदेश कमिटीमा भएको विवादकै कारण प्रदेश कमिटीको पहिलो बैठक उद्घाटन गर्न सुर्खेत पुगेका अध्यक्ष ओली बैठक नै नबसी काठमाडौं फर्किएका थिए ।