देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीमा प्रचण्डकै रजगजको तारतम्य

देशान्तर

काठमाडौं । साढे तीन दशकदेखि कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा पार्टीको मूल नेतृत्वमा रहँदै आएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डको पद नै धरापमा परेपछि प्रस्तावित विधानको मस्यौदा नै उल्ट्याएर कुनै पनि व्यक्ति जति समयसम्म पनि नेतृत्वमा बस्न सक्ने र केन्द्रीय सदस्यहरूबाट अध्यक्ष र पदाधिकारी चयन गर्ने प्रावधानसहितको नयाँ विधान सम्मेलनबाट पारित गराएर फेरि एक पटक अध्यक्ष बन्ने तारतम्य मिलाएका छन् ।

विधान मस्यादा समितिले कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी समय बस्न नपाइने र प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष र पदाधिकारीसहित सबै केन्द्रीय सदस्य चुनिने प्रावधानको प्रस्ताव गरे पनि प्रचण्डकै जोडबलमा कार्यकाल हदबन्दी हटाइएको छ भने प्रत्यक्ष निर्वाचनको व्यवस्था पनि परिवर्तन गरिएको छ । प्रत्यक्ष निर्वाचन गर्दा आफू पुनः अध्यक्ष बन्न नपाउने हो कि भन्ने डरले उनले १९९ केन्द्रीय सदस्य महाधिवेशनमा प्रत्यक्ष निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी र अध्यक्ष चुन्ने प्रावधान राखेका छन्, जुन हालै सम्पन्न विधान सम्मेलनले पारित गरेको छ ।

योग्यता पुगेको व्यक्ति प्रत्यक्ष प्रतिस्पर्धाबाट केन्द्रीय समितिमा पुग्ने बाटो खुले पनि नेतृत्वमा पुग्ने बाटो भने यो विधानले बन्द गरिदिएको छ । मस्यौदामा प्रमुख पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने प्रस्ताव गरिएको थियो । बूढापाका नेताहरूको अझै प्रमुख पदमा रहने आकांक्षा राखेकाले कार्यकाल हटाइएको हो । विधान मस्यौदामा पदाधिकारी तथा समितिका सदस्यहरूको सदस्यको कार्यकाल वर्ष तोकेर अधिवेशनमा प्रस्तुत गरिएको थियो ।

केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरूका लागि दुई कार्यकाल, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूका लागि तीन कार्यकाल, जिल्ला र गाउँ नगरका पादाधिकारी र सदस्यका लागि चार कार्यकाल र वडा पदाधिकारी र सदस्यका लागि पाँच कार्यकाल’ प्रस्ताव भएको थियो । यो प्रावधान पारित भएको भए निश्चित कार्यकालपछि नेताहरू कार्यकारी भूमिका छोड्नुपर्ने हुन्थ्यो । सबै पदमा प्रत्यक्ष प्रतिस्पर्धाको प्रावधान हटाइएपछि युवा नेताहरू निराश छन् । सधैं बूढापाका नेताहरू मात्रै नेतृत्वमा रहने र उनीहरूबाटै शासित हुनुपर्ने बाध्यताको अन्त्य हुन नसकेको उनीहरूको गुनासो छ । साढे तीन दशकदेखि निरन्तर नेतृत्वमा भए पनि माओवादी अध्यक्ष दाहाललाई चुनौती दिने नेता उक्त दलमा छैनन् । उनलाई विगतमा चुनौती दिएका नेताहरू मोहन वैद्य, बाबुराम भट्टराईले माओवादी छाडिसकेका छन् । माओवादीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने विधि बनाए पनि दाहाल सक्रिय रहँदासम्म अरू नेताले चुनौती दिन मुस्किल छ ।

नयाँ विधानले ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । केन्द्रीय समितिमा ९० प्रतिशत प्रत्यक्ष र १० प्रतिशत मनोनीत हुने प्रावधान राखिएको छ । पार्टीको सबै समितिमा कम्तीमा २० प्रतिशत युवा र ३५ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेछन् ।

युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग उठिरहेका बेला माओवादीमा अझै पनि युवाहरूलाई नेतृत्वमा आउन मुस्किल छ । नेतृत्व विकास हुन नसकेको र अहिलेका अध्यक्ष तथा पदाधिकारीहरूलाई चुनौती दिन सक्ने नेताहरू नै नभएकोले पनि माओवादीका रूपान्तरण र पुस्तान्तरण असम्भव बन्दै गएको विश्लेषकहरूले टिपपणी गरेका छन् ।