देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोयल्टी बिरामी – अध्यक्ष अधिकारीद्वारा शल्यक्रिया गर्ने उद्घोष

देशान्तर


काठमाडौं । स्रष्टाको सिर्जनाको सार्वजनिक प्रयोग गरेबापत रोयल्टी संकलन गरी स्रष्टालाई वितरण गर्ने अधिकार प्राप्त अर्धसरकारी गैरनाफामूलक संस्था संगीत रोयल्टी संकलन समाजमा तीन पटक अध्यक्षमा चुनाव लडेर हारेका र चौथो पटक र पाँचौं पटक सदस्यमा जितेर महासचिवमा दोहोरिएका म्युजिक प्रोड्युसर एसोसियसनका अध्यक्षसमेत रहेका बद्री पाण्डेका कारण अहिले समाज बिरामी भएको स्रष्टाहरूले बताएका छन् ।


पाण्डे दोस्रो कार्यकालका लागि पुनः महासचिवमा दोहोरिएपछि सबैभन्दा पहिले अन्य दुई सीएमओ ( प्रस्तोता समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज)सँगको सहकार्य तोडाएका थिए । यद्यपि यो निर्णय पदाधिकारीहरू सबैको सहमतिमा भएको बताइन्छ । तर अन्य दुई सीएमओका केहीले यो निर्णय पाण्डेकै जोडबलमा भएको ठान्छन् । संगीत तथा चलचित्र उत्पादक समाज र संगीत उद्योग संघको नेतृत्वसँग पाण्डेको इगोका कारण विभिन्न कारण देखाई सहकार्य तोडेको उनीहरूको बुझाइ छ । जस्ले गर्दा रोयल्टीको अभियान नै भिरमा धकेलिएको उनीहरूको टिप्पणी छ । तीनवटा सीएमओले तीनथरी मापदण्ड तीनतिरबाट पठाउदा रोयल्टी तिर्नुपर्ने र दायरामा आउनुपर्ने क्षेत्र पनि आउन चाहेको छैन भने रोयल्टी संकलन ठप्प प्रायः भएको छ । तिकडम अपनाएर पुनः महासचिव बनेका पाण्डेले साधारणसभामा पेस गरेको आकर्षक डिजिटल योजनालाई स्रष्टाहरूले सहजै पत्याइदिएका थिए । त्यही योजनालाई मूर्तरूप दिन भन्दै पाण्डेले मेटाडाटा संकलनका नाममा र कार्यालयको भौतिक पूर्वाधार निर्माणका नाममा स्रष्टाको संकलित रोयल्टी खर्च गर्दै आएका छन् । यो बीचमा उनी संस्थागत सहभागिताको लागि भन्दै एक पटक थाइल्यान्ड र दुई पटक भारतमा भएका कार्यशालाको भ्रमणमा पनि गइसकेका छन् । त्यस यता उनले आफूलाई रोयल्टीको सर्वज्ञानी र अन्य स्रष्टालाई अल्प ज्ञानी ठान्ने गरेको रोयल्टीका पूर्वपदाधिकारी बताउँछन् ।

कुनै प्रयोजनका लागि जसरी पनि मुख्य पदमा बस्न चाहेका पाण्डेलाई सर्जकहरूले रोयल्टीको गतिविधिबारे प्रश्न गर्दा जवाफ नदिने र प्रश्न गर्ने मन भए कार्यालयमै आउन भन्ने गरेको एक संगीतकारले बताएका छन् । पाण्डेको रवैयाप्रति अधिकांश स्रष्टा रुष्ट रहेको पाइएको छ । संस्थाको जिम्मेवार पदमा रहेका उनले सामाजिक सञ्जालमार्फत आफू कसैको म्यानेजर नभएको स्रष्टा आफैंले म्यानेज गर्नुपर्ने भनेर गैरजिम्मेवारपूर्ण ओठे जवाफ फर्काउने र स्रष्टालाई तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि स्रष्टाहरूले बताएका छन् । उनीमाथि स्रष्टाको पक्षमा कम व्यवसायीको पक्षमा बढी वकालत गर्ने गरेको पनि आरोप छ ।
उठ्नुपर्ने करिब ५० स्थानको रोयल्टी नउठिरहेको अहिलेको अवस्था र पाण्डेका कारण संस्थाप्रति सदस्यको बढ्दो बितृण्णा, घट्दै गएको स्रष्टाको चासो र भरोसा उठ्दै जान थालेपछि अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलन र वितरणमा शल्यक्रिया गर्ने उद्घोष गरेका छन् । समाजका अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमार्फत गीतसंगीतको सार्वजनिक प्रयोग गरेबापत रोयल्टीको दायरामा ल्याउन कडा कानुनी अप्रेसनको तयारी भइरहेको बताएका हुन् ।


अध्यक्ष अधिकारी फेसबुकमा लेख्छन्, ‘अहिले देशभर महोत्सवको माहोल छ । गायकगायिकाहरू भ्याइनभ्याइ व्यस्त हुनुहुन्छ ! महोत्सव आयोजकहरूमात्रै हैन कलाकारहरूको ठेक्का लिने बिचौलियाहरू पनि राम्रै कमाइबाट सन्तुष्ट हुनुहुन्छ । तर महोत्सवको रौनक बढाउने र मनोरञ्जनमय माहोल सिर्जना गर्ने त्यति राम्रा शब्दहरू र धुनहरू सिर्जना गर्ने रचनाकार संगीतकार स्रष्टा सर्जकहरू महोत्सवबाट आफूले पाउनु पर्ने रोयल्टीबाट पूर्णतया विमुख, शोषित र पीडित हुनुहुन्छ । जताततै म्युजिक ट्र्याकहरू प्रयोग भएका छन्, ट्र्याकमा लगानी गर्ने ध्वनिअंकन उत्पादकहरू चिल्लै र जिल्लै छन् । हामीले वर्षौ लगाएर सरकारलाई मेला महोत्सवहरूलाई कानुनी मार्गमा ल्याउन आग्रहहरू गर्दै आएका छौं । गृह मन्त्रालयले देशभरका सीडीओ साबहरूलाई यस सम्बन्धमा पत्राचार गरेर रोयल्टी नतिर्नेहरूलाई महोत्सवको स्वीकृति नदिनसमेत निर्देशन गरेको छ तर कार्यान्वयन शून्य छ । यतिसम्म कि गैरकानुनी कार्यविरुद्ध किटानी जाहेरी हाल्दा पनि सम्बन्धित निकाय मूकदर्शक बनेको अवस्था छ ।’


अधिकारी अगाडि लेख्छन्, ‘यो दुर्भाग्य र विडम्बनापूर्ण स्थितिबारे आम सरोकारवाला वर्ग अनभिज्ञ छन्, स्रष्टाहरू भ्रममा हुनुहुन्छ एमआरसीएसएनले केही गरेको छैन । सबैले यथार्थ खोज्नु जरुरी छ । अब स्रष्टा सर्जकहरू, उत्पादक र आफ्ना गीतहरू अरूले गाइदिएर अन्यायमा परेका ओरिजिनल प्रस्तोताहरू समेत संगठित हुनु जरुरी छ । आफ्नो अधिकार हनन् हुन नदिन एउटा गहन कदम चाल्नुछ र त्यस सम्बन्धमा स्रष्टा प्रस्तोता उत्पादक र आयोजकहरूबीच सहकार्यको खाँचो छ । एमआरसीएसएन यस सम्बन्धमा सबै संघसंस्थाहरूसँगको सहकार्यमा एउटा कडा कानुनी अप्रेसनको तयारीमा लागेको छ । लुटमार सैह्य थिएन र छँदै छैन । यो खास अप्रेसन हुँदा को को फन्दामा पर्छन् त्यो पनि हामीलाई थाहा छ । यो भने सबैले थाहा पाइराखुन् कि त्यसपछि अपराधीको रोइलो सुनिने छैन । कार्बाहीसम्म अवश्य लगिनेछ ।’