यस अगाडिको आलेखमा आदि अनादिकालमा सूचना तथा सञ्चार आदानप्रदानका शैली तथा कालखण्डअनुसार भइरहेका परिवर्तनका बारेमा चर्चा गरिएको थियो । परिवर्तन गतिशील छ, गतिलाई प्राविधिक पाटोबाट नियाल्दा काल, गुरुत्वाकर्षण र स्पेसजस्ता डाइमेन्सनबाट बुझ्न सहज हुन्छ । सामाजिक परिवेशमा परिवर्तन प्रायःजसो सकारात्मक हुन्छन् र त्यसबाट प्रलय वा अनिष्टको अवस्थामा बाहेकमा सिर्जनशीलतासमेतको विकासक्रम अगाडि बढेकै बुझ्नु पर्दछ ।
ढुंगेयुगमा सूचना तथा सञ्चारको आदानप्रदान अत्यन्तै सीमित कोडहरूबाट हुन्थ्यो भने संकेत विकास हुँदै जाँदा लिपिबद्धताले लेखनकला बिकास भयो । यसक्रमबाट नै भाषा र भाषिकाहरूले संग्रृहीत हुन पाए । हरेक परिवर्तनमा प्रविधि नङ र मासुजस्तै अन्तरनिहित रहे । ढुङ्गेयुगको हातहतियार विकासक्रम आजका दिनमा आइपुग्दा मेकानिकल इन्जिनियरिङमा, बोलीचालीको भाषा, भाषा विज्ञानमा, रहनसहन सामाजिक विज्ञानमा, औषध उपचार चिकित्सा विज्ञानमा, सूचना तथा सन्देश इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, हँुदै आईसीटीमा संस्थागत हँुदै आए ।
मानव जीवनशैली विज्ञान र प्रविधिकै कारण समाजमा सभ्यता विकासको प्रमुख अभिन्न अंग बन्यो । हामीले लेखन तथा अडियो, भिडियोमार्फत सूचना आदानप्रदानको एक युग पार गरिसकेका छौ । हरेक कुराको विकास भनेको सूचना तथा सञ्चारमा समृद्ध समाज हो । कुनै पनि परिवर्तन सूचना सञ्चारको यथेष्ट प्राप्तिबाट हुने गर्छ । सञ्चार जगत्को मूल्य मान्यता मर्यादित बनाउन सकेनौं भने यसबाट समाजको विकास हुन सक्दैन । त्यसैले सञ्चार उद्यमी, सञ्चारकर्मी, मूलधारका सञ्चार उद्योगहरू जिम्मेवार छन् र रहनु पर्दछ पनि ।
पर्चा छरेर, भित्तेलेखन गरेर त्यसपछि माइकिङ गर्दै सन्देश प्रवाह गरेर विश्वभरि राजनीतिक परिवर्तन भएका छन् । १३ मंसिर २००७ मा विराटनगरबाट सुरु भएको रेडियो प्रजातन्त्रले करिब ३ महिनामा नै राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न प्रभावकारी सहयोगी बनेको इतिहास पुरानो भइसकेको छैन ।
त्यसबाट सूचना नै शक्ति हो भन्ने आज स्थापित भइसकेको छ । २०६२÷०६३ सालमा भएको दोस्रो जनआन्दोलनको उभार ल्याउन र निरंकुशताविरुद्ध लड्न पनि सञ्चालनमा रहेका अन्य सञ्चारमाध्यमभन्दा एफएम रेडियोहरूको भूमिका सशक्त र प्रभावकारी सञ्चारमाध्यम बनेको सर्वविदितै छ ।
जुनसुकै कालखण्डमा पनि सन्देशको आदानप्रदानबाट नै परिवर्तन भएका छन् । अबको सूचना तथा सन्देश आदानप्रदानको स्वरूप कस्तो रहला र अब हुने सूचना तथा सन्देशको आदानप्रदान गर्ने प्रविधिबाट समाजमा कस्तो परिवर्तन होला भन्ने बुझ्न सामाजिक सञ्जालको प्रयोगमार्फत विश्व राजनीतिमा अहिले भइरहेको अस्वाभाविक नयाँ राजनीतिज्ञहरूको उदयबाट पनि हामी सबैले थोरै आकलन गरिरहेकै छौ । सञ्चारले नै समाजमा सिद्धान्त स्थापित गर्दै जान्छ र जति धेरै जनमत निर्माण गर्न सक्छ त्यही सिद्धान्त स्थापित हुँदै जान्छ । तर जसरी प्रविधि विकास भइरहेको छ त्यसले आगामी दिन स्वतन्त्र नभई छाडा शैली विकास हुन सक्ने चुनौती पनि थपिँदै गएको छ ।
अव बिस्तारै आन्तरिक सञ्चार (आफैंभित्र हुने सञ्चार) देखि एक मानिस र अर्को मानिस, एक जनावर र अर्को जनावर, एक वनस्पति र अर्काे वनस्पतिबीच हुने सञ्चार साथै आम सञ्चारको विभिन्न प्रकार र माध्यमको विकासक्रम कति प्रविधिमैत्री छ, कति प्रविधि जडित गर्दै अगाडि बढ्छ भन्ने आउँदो दशकको प्रविधि विकासले निर्धारण गर्नेछ ।
अघिल्लो आलेखहरूमा आम सञ्चारका विभिन्न माध्यमहरूको चर्चा, परिचर्चा गरिएको थियो भने त्यसमा विभिन्न कला, पम्पलेट, पोस्टर, पत्रपत्रिका, हुँदै रेडियो प्रसारण, दूरदर्शन प्रसारण र इन्टरनेट विकासक्रमको ब्याख्या गरिएको थियो ।
के यो दशकमा हामी इन्टरनेट ब्रोडकास्टिङमा मात्र सीमित रहन्छौ होला त ? भन्ने कुरामा स्तम्भकारको दृष्टिकोण अलिक फरक छ । अब विश्व आन्तरिक सञ्चारलाई प्रविधिमार्फत विश्वव्यापीकरण गरी हरेक व्यक्ति, व्यक्ति समक्ष सन्देश कसरी आदानप्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । वर्तमान अवस्थामा Elon Musk को Neuralink ले विकास गर्दै गरेको प्रविधिलाई मानव हितको मूल्य, मान्यताभन्दा नियन्त्रण बाहिर पुग्दा, त्यसले पार्ने सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव डरलाग्दो छ ।
Elon Musk ले मानव मस्तिष्कमा न्यूरा लिंक (Elon Musk’s Neuralink Brain Chip) मार्फत गरिरहेको प्रविधि विकासले सूचना तथा सन्देश आदानप्रदानको शैली कसरी विकास हुन सक्छ भन्नेमा अबका दिनमा विचारविमर्श गर्न आवश्यक छ ।
मानव शरीर पनि अनगिन्ती ट्रास्मिटर र रिसिभर भएको बायलोजिक संयन्त्र हो । यो संयन्त्रमा Bcls को Implant भएपछि हाम्रो मस्तिष्कको हरेक गतिविधि रेकर्ड गर्ने र त्यसलाई Decode गर्ने क्रमको सुरुवात हुने छ ।
यी Decode गरेका सूचना तथा सन्देशहरू यदि इन्टरनेटमार्फत हामीले Link and Share को अधिकार सुनिश्चित गर्ने विश्वव्यापी कानुनको निर्माण गर्न सक्यौं भने सूचना तथा सञ्चारका अहिले हामीले उपयोग गरिरहेका प्रविधिमा विश्वका करिब ८ अर्ब मानिसको बौद्धिकता एकआपसमा संगठित हुने अवसर प्राप्त हुनेछ । यो अनौठो र अदुतीय Networking ले आउदोँ दशकमा सूचना तथा सञ्चार आदानप्रदानको उच्चतम प्रयोगमा कसैले कतै कुनै हदमा संकुचन गर्न सक्ने अवस्था नै शून्य हुनेछ । तत्पश्चात् विश्वका कुनै पनि क्षेत्रले सूचना लुकाउने वा झुटो सूचना प्रबाह गरी समाजलाई प्रभावित पार्न सक्ने अवस्था रहने छैन भने अर्कोतर्फ प्रविधिको दुरुपयोग हुन पनि सक्ने डरलाग्दो सम्भावना पनि छ । क्रमश…
प्रतिक्रिया