देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा अध्यक्षमा माओवादी बार्गेनिङ बढाउँदै

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा राष्ट्रियसभाको अध्यक्ष बनाउनेगरी उनका हकमा पार्टीले बनाएको मापदण्डलाई अपवाद मानेर सदस्यमा उम्मेदवार बनेर जितेका नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलालाई पछिल्लो समय माओवादीले राष्ट्रियसभा अध्यक्षमा रोक्ने आन्तरिक कसरत गरेपछि फागुन २९ गते हुने निर्वाचन नजिकिँदै गर्दा माओवादीबाट धोका हुने संकेतका कारण यतिबेला सिटौला तनावमा छन् । 

पहिलो कोशीमा गठबन्धनबाट उम्मेद्ववार बनाइएकी माओवादीकी चम्पा कार्की सदस्यले निर्वाचनमा हारेपछि माओवादीले कांग्रेसबाट धोका भएको भन्ने बहाना पाएको छ भने दोस्रो राष्ट्रियसभमा पहिलो दल हुन् पुगेको दम्भ पनि माओवादीमा बढेको छ । त्यतिमात्र हैन आलोपालो सहमतिअन्तर्गत प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने तर्क अगाडि सार्दै माओवादी सिटौला माथि छिर्के हान्ने रणनीतिमा अघि बढेको छ । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा अधिकांश सदस्यले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने भनेको र आफूलाई पनि ठूलो दलको हैसियतले अध्यक्षमा दाबी गर्नु ठीक लागेको भनेर प्रचण्डले प्रचारित गराएका छन् । यसरी एकातिर पार्टीको आन्तरिक संगठनलाई थुम्थुम्याएका छन् भने गठबन्धनको निर्णयअनुसार अघि बढ्ने भनेर गठबन्धनलाई आश्वस्त पारेजस्तो गर्दै अघोषित दबाब सिर्जना गरेका छन् । 

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको आपसी सहमतिमै सिटौलालाई नै अध्यक्ष बनाउने गरी राष्ट्रियसभामा ल्याएको नेताहरूको दाबी छ । तर एकथरीले प्रचण्डपन्थी बनेका कांग्रेस पार्टी सभापति देउवाले प्रचण्डले बाटो फेर्न सक्ने भयका कारण राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रलाई छाडन् सक्ने पनि तर्क गरेका छन् । सिटौला सम्मानजनक राजनीतिक बहिर्गमनको खोजीमा रहेको र राष्ट्रियसभाको अध्यक्ष उनका लागि अवसर हुने राजनीतिका जानकारहरू बताउँछन् तर देउवाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि मन्त्रिपरिषद् पुनर्गठनका बेला सिटौलालाई सरकारको नेतृत्व गर्ने गरी पठाउन सक्ने पनि सम्भावना उत्तिकै छ । कांग्रेसले वर्तमान गृहमन्त्री हटाउन चाहेको छ । सिटौला पूर्वगृहमन्त्री भएकाले प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री नै बनेर जान सक्ने कुरालाई नर्कान सकिन्न । राष्ट्रियसभा अध्यक्षको विषय निर्वाचन अगाडि नै गठबन्धन दलबीच भागबन्डा टुंगिएको थियो । तर कोल्टे फेर्ने स्वभावका प्रचण्डले सहमतिमा चिसो पानी खन्याउने प्रयास नगर्लान् भनेर विश्वस्त हुने आधार नभएकोले सिटौलाको छट्पटी बढ्दो छ । सत्ता बिमुख भएपछि छटपटाइरहेको तथा राष्ट्रियसभामा पहिलोबाट तेस्रो दलमा झरेको एमाले मौका पाउनासाथ अध्यक्षको कार्ड देखाएर गठबन्धनमा खेल्न सक्ने सम्भावनाले पनि सिटौलालाई पिरोलेको छ ।