देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महासमिति बैठकको सर्वत्र चासो 

देशान्तर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठकको तयारी अन्तिम चरणमा पुर्‍याइरहँदा महासमिति बैठकले गर्ने निर्णय तथा भविष्यका लागि अवलम्बन गर्ने नीति कस्तो होला भन्ने चासो सर्वत्र बढेको छ भने नीति अधिवेशनको जिम्मेवारीसहित महासमिति बस्न लागेकाले पनि धेरैको चासो बढेको हो । पार्टीको १४औँ महाधिवेशनपछि पहिलो पटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पार्टी सञ्चालन, सरकारको कार्यशैली र आगामी रणनीतिका बारेमा छलफल हुने कांग्रेस उच्च स्रोतको दाबी छ । 

बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन सयभन्दा बढी महासमिति सदस्य सहभागी हुनेछन् । फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सन्राइज सभाहलमा हुने बैठकको तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । बैठक नीति अधिवेशनका रूपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी अन्तिम चरणमा छ । यसैगरी, बैठक तयारीका लागि विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशमशेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जितजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ तोकिएका छन् । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गरेका छन् । कार्यविभाजन अनुसारका काम अगाडि बढिरहेको र तयारी अन्तिम चरणमा पुगेको शर्माले बताएका छन् । 

महासमिति बैठककै सन्दर्भमा कांग्रेसले देशभर समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको छ । अभियानका लागि नेताहरू जिल्ला तथा पालिका र गाउँबस्तीमा पुगेर सुझाव संकलन गरी फर्केका छन् । महामन्त्री गगन थापाले त हुलाकी राजमार्गअन्तर्गत पूर्वपश्चिम यात्रा नै गरे । तर, यही बीचमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनका कारण अभियान स्थगित भएको छ । हालसम्म सञ्चालित अभियानका क्रममा प्राप्त सुझावलाई समेटेर महासमितिमा पेस गरिने महामन्त्री थापाले बताएका छन् ।