देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता लम्ब्याउन प्रचण्ड ‘यूटर्न’ हुन सक्ने !


काठमाडौं । सत्ता र शक्तिका लागि जस्तोसुकै र जो सुकैसँग पनि सम्झौता गर्न खप्पिस खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा भएको सहमतिअनुसार आफ्नो कार्यकाल अब ११ महिना मात्रै बाँकी रहँदा आफ्नो सत्ता लम्ब्याउन गठबन्धनका मुख्य दलहरूलाई फेरि धोका दिन तिकडम रचिरहेको खुलासा भइरहँदा पछिल्लो पटक उनले फेरि बालकोटाको बार्दलीको डण्डी समाउन पुगेको संकेत मिलेको छ भने नेकपाकालदेखि नै उनलाई साथ दिँदै आएका र एमालेसमेत विभाजन गरी नयाँ पार्टी एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र अहिलेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकसाथ धोका दिएर ‘यूटर्न’ खोजेको देखिएको छ । एमाले अध्यक्ष केपी ओलीसँग मिलेर प्रधानमन्त्री बन्नबाट माधवकुमार नेपाल र शेरबहादुर देउवालाई रोक्न उनले अनेक प्रपञ्च रचिरहेको उनीनिकट विश्वस्त्र सूत्रले बताएको छ भने ओलीले पनि माधव नेपाललाई रोक्न प्रचण्डलाई उक्साउन थालेका छन् । 

नेपाली राजनीतिमा धोकेबाज नेताको छवि बनाएका प्रचण्ड आफ्नै छविलाई मलजल पुग्ने गरी अगाडि बढिरहेका मात्रै छैनन्, सत्ता साझेदारहरूलाई छक्याउँदै सरकार सञ्चालन गरिरहेका छन् भने आफू अनुकूल निर्णय गर्न पाएनन् भने गठबन्धनलाई दोषारोपण गर्ने गरिरहेका छन् । एकवर्षे कार्यकालमा कामभन्दा बढी आश्वासन र नतिजाभन्दा बढी प्रतिबद्धता मात्रै सीमित रहेका प्रचण्डले पटकपटक मन्त्री फेरबदलको कुरा गरिरहे भने मन्त्री फेर्न गठबन्धनका दलहरूले नै सहयोग नगरेको पनि बताइरहे । तर, सरकारमा बसेर सबैभन्दा बढी आलोचित भएका उनकै पार्टीका मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, रेखा शर्मा, शक्ति बस्नेत र सुदन किराँतीलाई समेत हटाउन नसकेका उनले आफू र आफ्ना पार्टीका मन्त्रीहरूको कमजोरी भने अनदेखा गरिरहेका छन् । 

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको दौराको फेरो समातेर शान्तिपूर्ण राजनीतिमा आई संसदीय जोडघटाउमा सहभागी प्रचण्ड तिनै नेता हुन्, जसले कोइरालालाई मुलुकको पहिलो राष्ट्रपति बनाउन रोके । पहिले वचन दिएर पनि संविधानसभामा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बनेको नाममा उनले लोकतन्त्र, गणतन्त्र बहालीको नेतृत्व गरेका कोइरालालाई नै राष्ट्रपति बन्न नदिएर प्रचण्डले खुला राजनीतिको पहिलो अध्यायमा नै धोकाधडीको राजनीति गरेका थिए । त्यसयता उनीबाट धोका नपाएका कुनै दल र दलका नेता छैनन् र आफ्नो स्वार्थअनुसार उनले प्रयोग नगरेका नेता पनि कोही छैनन् । कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर तीन पटक प्रधानमन्त्री बनेका प्रचण्डले पछिल्ला दुई वटा चुनावमा पनि फरकफरक पार्टीसँग गठबन्धन गरे । कांग्रेससँग मिलेर सरकार चलाइरहेका बेला एमालेसँग गठबन्धन गरेर चुनावमा जाने अनि कांग्रेससँग गठबन्धन गरेर चुनावमा गएर पछि एमालेसँग मिलेर सरकार बनाउने उनको चरित्रले उनी आफू सत्तामा जान र जे पनि गर्न तयार हुन्छन् भन्ने कतै छिपेको छैन । 

बार्दलीको बार समातेर तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले ओलीले आफूलाई जुनसुकै बेला धोका दिन सक्ने आकलन गरी राष्ट्रपति चुनावमा कांग्रेसलाई साथ दिएर ओलीसँगको सहकार्य तोडेका उनै प्रचण्डले अहिले पनि ओलीको साथ लिएर कांग्रेस र एकीकृत समाजवादीलाई धोका दिने तयारी गरिरहेका छन् । प्रधानमन्त्री पद लम्ब्याउने प्रचण्डको चाहना र माधव नेपाललाई जसरी पनि प्रधानमन्त्री बन्नबाट रोक्ने ओलीको मनशायबीच मेल खाँदा अहिले प्रचण्ड ओली साँठगाँठ बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

एमालेमा आगो लगाएर पार्टी फुटाएको भन्दै माधव नेपालविरुद्ध आक्रोशित ओलीले उनलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने घोषणा गरिसकेका छन् र त्यसैका लागि उनले प्रचण्डलाई प्रयोग गर्ने रणनीति बनाएका छन् । राजनीतिका चतुर खेलाडी ओली र सत्ताका लागि जे पनि गर्ने प्रचण्डको चरित्रबीच मेल खाँदा वर्तमान गठबन्धन कुनै पनि दिन भत्किन सक्ने आकलन पनि विश्लेषकहरूको छ । राजनीतिलाई अस्थिर बनाएर तर मार्न माहिर ओली र प्रचण्डको स्वभावले देशको राजनीतिलाई अझै अस्थिर बनाउने संकेत देखिन थालेको छ । 

एकातिर ओलीले वर्तमान गठबन्धन र त्यसमा पनि माधव नेपाल र शेरबहादुर देउवाको आलोचना गरिरहनु र उनलाई बल पुग्ने गरी प्रचण्डले गठबन्धनभित्रैका दल कांग्रेस र एकीकृत समाजवादीका कारण सरकारले अपेक्षित गति लिन नसकेको बताइरहँदा दुवैको एउटै उद्देश्य रहेको छर्लंग हुन्छ । सुशासन, अर्थतन्त्र सुधार, सेवा प्रवाह, आवश्यक कानुन निर्माण, रोजगारी सिर्जनालगायत थुप्रै विकाउ नारा दिएर प्रधानमन्त्री भएका प्रचण्डले यसबीचमा यी कुनै पनि विषयमा सुधार ल्याउन त सकेका छैनन् नै मुलुकलाई थप अस्थिरता र जर्जरतातर्फ धकेल्न भरपूर प्रयत्न गरिरहेका छन् ।