देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटौलालाई रोक्न माओवादीको कसरत

देशान्तर


काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष बनाउने योजनासहित माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमन्त्री कृष्णप्रसाद सिटौला निर्वाचित भए पनि उनलाई रोक्न सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले प्रयास गरिरहेको छ, त्यसका लागि कोशी प्रदेशमा भएको फ्लोर क्रस र राष्ट्रियसभामा आफ्नो संख्यालाई माओवादीले आधार बनाएको छ । ६ वर्षे कार्यकाल पूरा गरेर अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आगामी फागुन २० गते बिदा हुँदै छन् । उनीसँगै २० सांसदको पदावधि त्यस दिन सकिनेछ ।


राष्ट्रियसभा सदस्यका लागि भएको चुनाव मिलेर लडेका कांग्रेस र माओवादी नै अहिले अध्यक्षमा दाबेदारी प्रस्तुत गर्न पुगेका छन् । चुनावअघि नै अध्यक्ष पद कांग्रेसलाई दिने समझदारी भइसकेको दाबी कांग्रेसले गरे पनि माओवादीका नेताहरूले भने अध्यक्षमा आफ्नो पनि दाबी रहने बताउन थालेका छन् । नयाँ निर्वाचनसँगै १८ सदस्यसहित माओवादी राष्ट्रियसभामा पहिलो शक्ति बनेको छ । पहिलो दल भएकाले आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्ष दाबी गरेको माओवादीका नेताहरूले बताउन थालेका छन् ।
राष्ट्रियसभा निर्वाचन परिणामको समीक्षा गर्न गत साता बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादीले अनौपचारिक रूपमा यो विषयलाई राखेको थियो । संवैधानिक परिषद्को संरचनाअनुसार माओवादीले प्रधानमन्त्री छाडेपछि परिषद्मा माओवादीको उपस्थिति नहुने भएकाले पनि माओवादीले नै अध्यक्ष लिनुपर्ने उनीहरूको तर्क छ ।
संवैधानिक परिषद्मा माओवादीको उपस्थिति नहुने भएकोले कांग्रेससँग नयाँ खालको समझदारीको प्रयास भइरहेको प्रधानमन्त्री प्रचण्डका एक सल्लाहकारले दाबी गरे । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ खालको सहमति भए सिटौलाले अरू कुनै जिम्मेवारी पाउन सक्ने गठबन्धनका नेताहरू बताउँछन् ।


राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि सिटौलाले आफ्नो आगामी भूमिकाबारे केही बताएका छैनन् । तर, आन्तरिक रूपमा देउवा र सिटौलाबीच राष्ट्रियसभा अध्यक्षकै लागि सहमति भइसकेको दाबी कांग्रेसका नेताहरूले गरिरहेका छन् ।
माओवादीले सिटौलाको विकल्पमा हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याललाई अगाडि सार्ने तयारी गरेको छ । यसअघि उनी गठबन्धनकै मतमा उपाध्यक्ष बनेकी थिइन् ।


माओवादी अध्यक्ष प्रचण्डको समेत आग्रहमा राष्ट्रियसभाको अध्यक्ष बन्ने गरी सिटौला उम्मेदवार बनेका थिए । शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म सँगै रहेका सिटौलालाई अध्यक्ष बनाउने चाहना प्रचण्डको पनि रहेकाले माओवादीका केही नेताले निहुँ खोज्दैमा सिटौला नरोकिने कांग्रेसका नेताहरूको दाबी छ ।