देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुपर सिक्समा टुंगियो यात्रा

देशान्तर


काठमाडौं । लिग चरणमा अफगानिस्तानलाई पराजित गरेर आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पुगेको नेपालले आफ्नो अन्तिम खेलमा प्रतियोगिताकै शीर्ष स्थानमा रहेको भारतसँग हार बेहोरेसँगै विश्वकप यात्रा टुंगिएको छ । शुक्रबारको खेलमा नेपालले १ सय ३२ रनको फराकिलो हार बेहोरेको हो । २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।
कप्तान देव खनालले ३३ रन बनाएको इनिङ्समा पुछारका ब्याट्सम्यान दुर्गेश गुप्ताले नटआउट २९ रन बनाए । अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए । आकाश चन्दले नटआउट १८ रन बनाउँदा भारतका सौम्य पाण्डेले सर्वाधिक ४ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सचिन दास र कप्तान उदय शरणले शतकीय पारी खेले । नेपालका लागि गुलसन झाले तीन विकेट लिँदा आकाश चन्दले एक विकेट लिएका थिए ।


नेपालमाथिको जितसँगै भारतीय युवा टोली समूह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । नेपालले समूह चरणको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार भोगेको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको थियो । एसिया कपमा छनोट भएको नेपाली क्रिकेटको सिनियर राष्ट्रिय टोलीले गत वर्ष भारतसँग खेलेको थियो । त्यसपछि एकपछि अर्को प्रतियोगितामा नेपाल र भारत आमनेसामने भइरहेका छन् । एसिया कपपछि सिनियर टोलीको भेट चीनमा भएको एसियाली खेलकुदको क्वार्टरफाइनलमा भएको थियो । त्यसपछि युवा टोलीको भेट यू–१९ एसिया कपमा र अहिले यू–१९ विश्वकपको सुपर सिक्समा पुगेपछि शुक्रबार भेट भएको थियो । नेपालले क्रिकेट इतिहासमा भारतलाई एक पटक मात्र हराएको छ । नेपालले सन् २०१७ मा १९ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा भारतलाई हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।