देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समुदायमा कांग्रेस ‘कुराभन्दा पनि काम गर्ने’ :डिला संग्रौला

देशान्तर



नेपाली कांग्रेसले माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको छ । विगतमा संगठन विस्तारका लागि गर्ने अभियानभन्दा पृथक् तरिकाले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरेर माघ १३ गतेदेखि यो अभियान सुरु भएको हो । १३ गते प्रतिनिधिहरू खटिएका थिए भने १६ गतेबाट औपचारिक रूपमा अभियान सुरु भएको छ । अभियानअन्तर्गत अहिले वडातहसम्म प्रतिनिधिहरू पुगेर जनता (समुदाय)ले नेपाली कांग्रेससँग राखेको अपेक्षाहरूको टिपोट पनि गरिरहेका छन् । अहिलेको अवस्थामा जनताका कुराहरू सुन्नका लागि नै नेपाली कांग्रेसले यो अभियान सुरु गरेको केन्द्रीय सदस्य डिला संग्रौला पन्तले बताइन् । उनले अब कांग्रेस कुराभन्दा पनि काम गर्ने उद्देश्यका साथ अघि बढेको देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको कुराकानीमा बताएकी छिन् । उनै डिलासँग गरिएको कुराकानीको सम्पादित अंश ।


नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नुको मुख्य उद्देश्य के हो ?

यसको मुख्य उद्देश्य समुदायमा जाउँ जनताका कुरा सुनौं भन्ने हो । नेपाली कांग्रेस अहिले तीन तहको सरकारमा सहभागी छ भने संसद्को ठूलो दल पनि छौं । स्थानीय, प्रदेश र संघ गरेर तीन तहको सरकारमा संसद्को ठूलो दलका हैसियतले सहभागी हुँदै गर्दा जनताको अपेक्षा हामीसँग धेरै छन् । त्यसैले हामी जनताले सरकार र हामीसँग (कांग्रेस) के चाहन्छन् ? उनीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा के कस्तो चाहना राखेका छन् ? उनीहरूको चाहना र भावना बुझ्न र त्यहाँबाट आएका सुझावहरूलाई तत् निकायहरूमा लगेर कार्यान्वयन गराउनको लागि हामी जनताको बीचमा आएका छौं । अहिले हामी समुदायस्तरमा गइरहेका छौं । जनता र समुदाय फरक कुरा भएकाले हामी अहिले विभिन्न तह र तप्कामै पुगेर कुराहरू सुन्ने र बुझ्ने काम गरेका हौं । अहिले हामी खानेपानीको समुदाय, खेलप्रेमी, कतै गन्धर्व समुदाय, यसैगरी शिक्षाको कुरा सुन्नका लागि विद्यालय र क्याम्पसमा पुगेर शिक्षक र प्राध्यापकहरूसँग छलफल गरेका छौं । यसैगरी हामी अहिले किसान, उपभोक्ता समिति सबैतिर पुग्दा उहाँहरूको सोचको बारेमा हामीले जान्ने र बुझ्ने अवसर पाएका छौं । यो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हामीहरू अहिले जिल्लाजिल्लामा खटिएका छौं । यसैका लागि म कुराकानी गर्ने बेला पाल्पामा छु । समुदायमा रहेका मानिसहरूले नेपाली कांग्रेसले के काम गर्ने र कसरी समस्या समाधान गर्दा आफूहरूले अनुभूति गर्न पाइन्छ भन्ने खालका सुझावहरू पनि दिनुभएको छ । यो अभियान पार्टीको मात्र नभई देशकै विकास र समृद्धिको यात्राका लागि थप प्रभावकारी हुन्छ भन्ने विश्वास छ ।


विगतमा पनि अभियान त कांग्रेसले सञ्चालन गर्ने गरेको थियो, पहिला र अहिलेकोमा नाममात्रै फरक त होला नि ?
होइन । पहिला अभियान आन्तरिक हुने गथ्र्यो । अहिले हामी राजनीतिक कार्यकर्ताहरूभन्दा पनि फरक विचार राख्नेहरूका पनि कुरा सुनिरहेका छौं र उहाँहरूको ‘फिडब्याक’ पनि लिइरहेका छौं । यसलाई अझ भन्नु पर्दा हामी अहिले जनताको बीचमा छौं । जनताको गुनासो सुनेर त्यसलाई कार्यान्वयन गर्नका लागि नेपाली कांग्रेसले खेल्ने भूमिकाको विषयमा रणनीति नै निर्माण गर्न लागि परेका छौं । मलाई लुम्बिनी प्रदेशको ६ वटा जिल्लामा संयोजन गर्ने भनेर जिम्मा दिएको छ । यसमा प्रदेश कार्यसमितिको टोली पनि सँगै छ । मुख्य अभियान सहिद दिवसको अवसर पारेर माघ १६ गते देशभरका केही जिल्लाबाहेकका वडाहरूमा सुरु भएको छ । सवै वडामा प्रतिनिधिहरू खटिनु भएको छ । प्रतिनिधिहरूले समुदायमा पुगेर के समस्या छन् त्यसको बारेमा जानकारी लिनुहुन्छ । समुदायले स्थानीय सरकारबाट के चाहन्छ, अहिलेको सेवा प्रवाह कस्तो अवस्थामा छ ? भनेर प्रतिनिधिले अन्तरसंवाद गर्नु भएको छ । उदाहरणको लागि नेपालको सन्दर्भमा गन्धर्व समुदाय भनेको पछाडि परेको जाति हो । उनीहरूको माग भनेको के छ भने हामीले रोजगारी पाएनौं, हामीलाई शिक्षा र स्वास्थ्यको पनि अभाव छ । बाटोघाटो विकास निर्माणका कुराहरूबाट पनि वञ्चित छौं । हाम्रो पहिचान भएन, यो कुरालाई राज्यले सम्बोधन गर्नु प¥यो । यसका लागि तीन तहकै सरकारले नीति नियमहरू ल्याउनुपर्छ भन्नुभएको छ । यसैगरी हामी प्रहरीमा पनि पुग्यौं । सामुदायिक प्रहरीले समुदायमा कसरी शान्ति सुरक्षा प्रदान गर्ने मात्र होइन, त्यहाँका झै झगडा र दुर्घटना न्यूनीकरण गर्नका लागि खेलेको भूमिकाका विषयमा छलफल गरेका छौं । यसैगरी समाजमा कसरी मेलमिलाप गराउन भूमिका खेल्छ र त्यहाँ के अभाव छ भन्ने पनि कुरा बुझेका छौं । यसैगरी क्याम्पसमा पुगेर प्राध्यापकहरूसँग पनि खुला छलफल गरेका छौं । उच्च शिक्षासम्बन्धी कस्तो नीति आवश्यक पर्छ भन्ने कुराहरूमा छलफल केन्द्रित भएको थियो । छलफलका क्रममा उहाँहरूले विश्वविद्यालयमा व्याप्त राजनीतिक करण र भागबन्डा अन्त्य गर्नुपर्ने सुझाव दिनुभएको छ । यसैगरी करार र पार्टटाइम शिक्षकहरूको समस्याको विषय पनि उठान गर्नुभएको छ । उहाँहरूले शिक्षाको नीतिगत तहमा आमूल रूपान्तरण नगरेर मुलुक अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष उहाँहरूले दिनुभएको छ । खेलाडीहरूका कुरा सुन्दा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूले आफ्नो समस्याहरू सुनाउनु भयो । खेलाडीहरूले खेलेर जीवन गुजारा पनि चल्ने अवस्था नरहेको र राष्ट्रले आफूहरूले प्रतिभालाई पहिचान गर्न नसकेको गुनासो गर्नुभएको छ । यसैगरी खानेपानीको समस्याका विषयमा पनि हामीले जानकारी लियौं । पाल्पामा खानेपानी उपभोक्ताहरू मिल्दा समस्या समाधान भएको दृष्टान्त पनि सुनाउनुभयो । समस्या मात्रै होइन समाधानका उपायहरू पनि हामीलाई बताउनु भएको छ । तर स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।


समुदायमा पुगेर अन्तक्रिया गर्दा, कांग्रेससँग पार्टीसँग अपेक्षा राखेको कि, सरकारमा पनि भएकाले सरकारसँग ?
सरकारमा हामी भएको हुनाले । संसद्को सबैभन्दा ठूलो दल पनि अनि स्थानीय सरकारमा पनि धेरै ठाउँमा नेतृत्व गरेको हुनाले सरकारसँग धेरै अपेक्षा गर्नुभएको छ । सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको नाताले हामीलाई सरकारबाट पन्छिने हक पनि त छैन । जनताका सवालमा नेपाली कांग्रेस पनि जिम्मेवार र वफादार हुनु प¥यो । जनताका सवालहरूले सुन्ने अनि टिप्पणी गर्ने होइन कार्यान्वयन गर्नुपर्ने अपेक्षा राख्दै खुला बहसमै उत्रिनु भएको छ । यो एकदमै राम्रो काम भएको छ । यहाँबाट आएका समस्याहरूलाई टिपोट गरेर कार्यान्वयनका लागि पार्टीले जिम्मेवार भएर काम गर्नेछ ।

विगतका अभियानमा आएका कुराहरू सुनुवाइ भएको जस्तो त लाग्दैन त ?
यहाँ बुझ्नुपर्ने कुरा के हो भने, यो संगठनभित्रको अभियान होइन । पहिलाको अभियानले संगठनभित्र निर्वाचन पछाडि अवसर पाएका र नपाएका त्योभित्र तिक्तता गुटवन्दी, तेरो मेरो भावनालाई चिर्न विशेष आन्तरिक अभियानले सफलता पाएको थियो । अब त्यसपछि केही हदसम्म एकताबद्ध भएको कांग्रेसले अब जनताका कुरा सुन्नका लागि यो अभियान सुरु गरेको हो । अब जनताका सबालको सम्बोधन हुनुप¥यो । जनताले हामी र सरकारबाट के चाहन्छन् भन्ने कुरामै हामी केन्द्रित भएका छौं । जनताले हामीलाई पहिल्यै गर्नुपर्ने काम ढिला गरी सुरु गरेको भन्नु भएको छ । उहाँहरूले ढिलै भए पनि समुदायसम्म आइपुग्नु भएको छ, यहाँका कुराहरू लिपिबद्ध मात्रै नगरेर कार्यान्वयनका लागि आग्रह गर्दै ‘कथनी र करणी’ एउटै हुनुपर्छ भन्ने सुझाव दिनु भएको छ ।

नेताहरूले सुझाव त सुन्ने मात्रै त होला ?
होइन, होइन । यो पाली हामीले कार्यान्वयन गर्छौं । कार्यान्व्यन गर्नका लागि नै यो अभियान हो । हामीले कार्यान्वयन गर्नका लागि नै स्थानीय सरकारलाई अभियानमा सँगसँगै हिँडाएका छौं । यसैगरी प्रदेश सरकारका पनि हामीसँग हुनुहुन्छ । यसैगरी संघीय सरकारका साथसाथै पार्टीमा पनि कार्यान्वयन गराउनका लागि पहल गर्छौं । यो कुरा गर्नेभन्दा पनि काम गर्ने अभियान हो ।

कुरा त मीठै हुन्, जनताले पत्याउँलान् त ?
जनताले पत्याउनुपर्छ, अहिलेको हाम्रो अभियानमा जनता (समुदाय)को सहभागिता एकदमै राम्रो छ । पहिलो पटक नेपाली कांग्रेस यसरी आयो भनेर उहाँहरू उत्साहित हुनुहुन्छ ।

तपाईंहरूसँग राखेको अपेक्षा के रहेछ त ?
पार्टीको कुरा गर्दा उहाँहरूले नेपाली कांग्रेस जुन हिसाबले हिँड्नुपर्ने थियो, त्यो हिसाबले हिँड्न नसकेको आरोप पनि छ । दोस्रो हामी गठबन्धनको सरकारमा छौं, गठबन्धनको सरकारले न्यायोचित सम्बोधन गर्न नसकेको कुराहरू पनि उठाउनु भएको छ । यसैगरी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा पनि नदिने, सहिद परिवारको अवस्था के कस्तो छ, यसका लागि राज्यले सम्बोधन नगरेको गुनासो पनि गर्नुहुन्छ । यसैगरी द्वन्द्वपीडितलगायतको सम्बोधन किन गर्न सकेन भन्ने आक्रोश पनि छ । पहिला हामीले यस्तो गरेका थियौं भनेर गफ गरेर मात्रै पार्टी अघि बढ्न सक्दैन भनेर चेतावनीको शैलीमा पनि भन्नु भएको छ । त्यो भनेको हामीलाई सच्चिनका लागि गरेको आग्रह हो । उहाँहरूले सरकार जनमुखी भएर काम गर्नुपर्नेमा जोड पनि दिनु भएको छ ।

एमालेले झुलाघाट चिवाभन्ज्याङ र माओवादीले तीनमहिने विशेष अभियान सञ्चालन गरेपछि कांग्रेसले पनि त्यस्तै सिको गरेको हो ?

एमाले र माओवादीको विशेष पार्टीभित्रको अभियान थियो । पार्टीभित्रको विशेष अभियान त हामीले पहिला नै गरेका थियौं । हाम्रो अभियान विशुद्ध जनताको बीचमा छौं । हामी हाम्रो अभियानको क्रममा बिहानदेखि अबेरसम्म सडक, झुपडी र बस्तीमा छौं । हामीले अरू पार्टीले गरे जस्तो संगठन विस्तारको एजेन्डा लिएर आएकै छैनौं । हामी जनता के चाहन्छन् त्यो बुझ्ने प्रयासमा छौं ।

नेपाली कांग्रेस भनेको व्यक्तिवाद हावी भएको पार्टी हो, यहाँ त यस्ता गुनासाहरू के सम्बोधन होला र ?
व्यक्तिवाद हावीभन्दा पनि केन्द्रीय कार्यसमितिले अभियानको बारेमा निर्णय गरेको हो । अब नेपाली कांग्रेसभित्र व्यक्तिवादी चरित्रले पनि काम गर्न सक्दैन । नेपाली कांग्रेस विशाल समुन्द्र पनि हो । हामी सामूहिक नेतृत्वमा पनि छौं । जनताले हामीलाई भोट दिएर सत्तामा पु¥याएका छन् भने जनताका लागि काम नगरे भोलिका चुनावमा जनताले नै सडकमा ल्याउँछन् । यो त बारम्बार निर्वाचनले देखाइरहेको कुरा हो । यसलाई हामीले पाठको रूपमा लिनै पर्छ ।

यहीबीचमा महामन्त्री गगन थापाले सुरु गरेको अभियानलाई के भनेर बुझ्ने ?
महामन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको अभियान संवाद यात्रा हो । समानान्तर होइन । हामी पनि जनतासँग संवाद गरिरहेका छौं । महामन्त्रीज्यू देशैभरि संवाद गर्दै यही अभियानलाई जोड्दै अभियानमा खटिएका प्रतिनिधिहरूसँग अन्तरसंवाद गर्दै समुदायमा कांग्रेस भन्ने अभियानलाई थप महत्व, प्रभावकारी बनाउँदै उत्साह थप्नको लागि यात्रा भएको हो । यसलाई बेग्लै यात्रा भनेर नबुझ्न आग्रह गर्दछु ।

तपाईंको पार्टीमा गुटबन्दी छैन भनेर त कसैले पत्याउँदैन, महामन्त्री थापाको महत्वाकांक्षी योजना भनेर सामाजिक सञ्जालमा टिप्पणीहरू देखिन्छन् त ?
अब सामाजिक सञ्जालको पछाडि नलागौं । कसले के भन्छ भन्ने कुरामा म टिप्पणी गर्न चाहन्न् । उहाँको क्यालेन्डर पनि केन्द्रीय कार्यालयले निकालेको हो । अभियान यहीसँग जोडिएको हो । हामीले बेग्लाबेग्लै अभियान चलाइराख्या छैनौं । सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको छ । यसैगरी केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश प्रदेशमा समन्वय गर्न हामी खटिएका छौं । यो सबैलाई छाता दिनका लागि महामन्त्रीजीले संवाद यात्रालाई जोडिरहनु भएको छ । पार्टी सभापतिले पनि यसलाई साथ दिएर हामीलाई हौसला प्रदान गरिरहनु भएको छ ।

यो अभियान कहिलेसम्म कसरी चल्छ ?
यो अभियान १३ गते प्रतिनिधिहरू जिल्ला जिल्ला खटिनुभयो र हाम्रो पूर्वसभापति सुशील कोइराला स्मृति दिवसको पारेर माघ २६ गते समापन हुनेछ ।

तपाईंहरू तीनै तहमा हामी सरकारमा छौं, भनेर जनतालाई भन्ने अनि काठमाडौं फर्किंदा समीकरण परिवर्तन भइसक्छ कि ?
समीकरण केही पनि हुँदैन । अहिले गठबन्धन सरकारमा छ । गठबन्धनमा एकअर्कालाई घुक्र्याउने काम भइराख्या छ । तर पनि यो गठबन्धन स्थिर र स्थायित्व, समृद्धि र विकासका लागि हो । यो गठबन्धन पाँच वर्ष जानु पर्नेछ । तर गठबन्धनमा झुन्डिरहने र नेतृत्व गर्नेले जनतामुखी काम गर्न सकेनन् भने गठबन्धन केका लागि भनेर त्यसबेला प्रश्न उठ्ला । अहिलेसम्म हामी गठबन्धनमै इमान्दार छौं ।

गठबन्धनका कारण कांग्रेसले अपजशको भारी बोकिरहने हो त ?
अपजशको भारी हामीले किन बोक्ने ? सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । उहाँले नै आफैं मैले एक वर्षमा काम गर्न सकिनँ भनेर भनिसक्नु भएको छ । उहाँले अब राम्रो काम गर्छु भन्नु भएको छ । गलत कामको अपजश हामीले बोक्ने जश जति उहाँले लिने हुँदैन । हामीले उहाँलाई सच्चिनका लागि भनेका छौं ।

प्रचण्ड सच्चिनु प¥यो भन्या ?
सरकारको नेतृत्व गर्नु भएको छ । प्रचण्डले सच्चिएर जनतामुखी काम गर्नुपर्छ । सरकारले गरेका गलत क्रियाकलापको अपजश जति कांग्रेसको अनि राम्रो काम जतिको जश माओवादीको हुनै सक्दैन ।

मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो र ?
मन्त्रिपरिषद् पुनर्गठन गर्नका लागि प्रधानमन्त्रीलाई छुट छ । उहाँका मन्त्रीले राम्रो काम गर्नु भएको छैन भने पुनर्मूल्यांकन गर्ने र त्यसैअनुसार अघि बढ्नलाई कांग्रेसले केही बाधा पारेको छैन ।

भनेको कांग्रेसका मन्त्रीहरूले राम्रो काम गरेका छन् है ?
कांग्रेसबाट मन्त्री बनेर सरकारमा गएकाहरूले राम्रो काम गरेका छन् कि छैनन् भनेर गठबन्धनको बैठकमा समीक्षा गर्न प्रधानमन्त्रीलाई छुट छ । समग्ररूपमा समीक्षा गर्नुपर्छ । हामीले केन्द्रीय कार्यसमितिको बैठकमा पनि कांग्रेसबाट मन्त्री बन्नु भएका ९ जनालाई के कारणले राम्रो काम गर्न सक्नु भएन, भनेर धेरै कुरा उठाएका थियौं । सरकारकै नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्डले आफैं काम गर्न सकेन भन्नुहुन्छ । कतिपय घटनाहरूमा जिम्मेवार भएर बोल्नु हुन्न । त्यसैले सरकारमा पनि बस्ने अनि गलत अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई पनि छैन । त्यसकारण गठबन्धनमा भएकाले जनतालाई केन्द्रबिन्दुमा राखेर जनतालाई समृद्धिको अनुभूति दिनुपर्छ भन्ने कुराको सरकारलाई निर्देशन दिएर घचघच्याउने काम भइसकेको छ ।

गठबन्धनको बैठकमा कोशीको मत परिणामलाई लिएर अलिअलि अप्ठ्यारो कुराहरू पनि सुनिन्छ त ?
हामी गठबन्धनमा हुँदाहुँदै पनि कोशीमा राष्ट्रियसभाको चुनावमा बेग्लै नतिजा आएको छ । गठबन्धनलाई हामीले जिताउन सकेनौं । त्यसले गर्दा केही टीकाटिप्पणी भएको छ । त्यहाँ भएको कमी, कमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा त्यस्तो पुनरावृत्ति नहुने गरी अगाडि बढ्नुपर्छ । आरोप प्रत्यारोपले गठबन्धनलाई अगाडि लान सकिँदैन भने अस्थिरताको राजनीतिले पनि मुलुकलाई जोड्न सक्दैन । त्यो विद्यमान परिस्थितिलाई हामीले आत्मसात् गरेर गठबन्धनभित्र भएका कमी, कमजोरीलाई सच्याएर लैजानु पर्छ ।

कोशी प्रदेशमा कांग्रेसले नै फट्याईं ग¥यो भन्छन् हो ?
कसले के ग¥यो भन्ने कुराभन्दा पनि हामीले सोचेको भन्दा फरक मत परिणाम आएको छ । यसलाई धेरै टीकाटिप्पणी गर्नुभन्दा पनि भएको कमी, कमजोरीलाई आत्मसात् गरेर आगामी दिनमा यस्तो कमी, कमजोरी नहुने गरी अघि बढ्नुपर्छ ।

माओवादीका नेताहरू नै अहिले गठबन्धनको भविष्यका बारेमा छलफल गर्नुपर्ने कुराहरू गर्छन् त ?
माओवादीका नेताहरूले भनिरहनु भएको छ । हामीले पनि भनिराख्या छौं । राम्रो काम नगर्ने हो भने कुर्सीमा किन बसिरहने भनेर त हामीले पनि प्रश्न गरेका छौं । गठबन्धनको शीर्ष तहमा छलफल भइरहेको छ । बाहिर आएका कुराहरूमा भन्दा पनि यथार्थमा रहेर गठबन्धनमा बस्दा जिम्मेवार पनि हुनुपर्छ ।