काठमाडौं । सबै मान्छेमा धेरै प्रतिभा हुँदैन । थोरै मान्छेमा मात्र धेरै किसिमको प्रतिभा र क्षमता रहेको हुन्छ । यस्तै थोरैमध्येकी एक, बहुमुखी प्रतिभाकी धनी हुन् पुष्पा खनाल । उनका सिर्जनाहरू त्यसका साक्षी हुन् ।
इलामको सुन्दर गाउँ एकतप्पामा माता दमन्ता खनाल र पिता अम्बिकाप्रसाद खनालको चौथो सन्तानको रूपमा जन्मिइन्, पुष्पा खनाल । गाउँ र सहरका अनेकौं सुखदुःख झेल्दै पढाइसँगै साहित्यका अन्य विधा र विशेषगरी गीत लेखनमा सक्रिय खनाल स्थापित प्रसिद्ध गीतकार हुन् । वि. सं. २०६९ मा पुष्पाले पोखिएँ यसरी नामको गीत र कविता संग्रह प्रकाशन गरिन् । त्यस्तै २०७६ मा ‘गह पोखिएर’ नामको उनको गीत संग्रह प्रकाशित भयो । २०७८ मा यो संग्रहको दोस्रो संस्करण प्रकाशित भयो ।
त्यसबाहेक २०६९ सालमा प्रसिद्ध गीतकार लोकराज अधिकारी र पुष्पाको संयुक्त गीति एल्बम प्रतिष्ठामा रहेको प्रसिद्ध गायिका अञ्जु पन्तको स्वर गोविन्द मधुर आचार्यको संगीतमा रहेको त्यसैले म आइन तिमलाई दुःख दिन बोलको गीत पुष्पाको सर्वाधिक रुचाइएको गीत हो । यो गीतमा पुरुष स्वर अर्का ख्यातिप्राप्त गायक नरेन्द्र प्यासीको रहेको छ । २०७३ मा प्रकाशित अभिनभ एल्बममा संगृ्रहीत पुष्पाका गीतहरूले उनलाई गीत पारखीबीच अझै बढी चिनिन मद्दत ग¥यो । यो एल्बममा रहेको यो आँखाको पानीलाई कुन छाताले छेकु म बोलको गीत लोकप्रिय बन्यो । पुष्पाको यही गीत पहिलो पटक संगीत गरेका गायक तथा प्रस्तोता सरोज कोइराला अहिले संगीतकारका रूपमा समेत स्थापित हुन पुगेका छन् । यो गीतमा पुुरुषतर्फ कोइरालाको र महिला स्वर रोशनी अधिकारीको रहेको छ । त्यसयता दुई सयभन्दा बढी गीत लेखिसकेकी पुष्पाका माया केवल माया, एउटा माझीलगायत आधा दर्जन गीत रेकर्ड गराएर विस्तारै सार्वजनिक गर्दै आएकी छन् । रेकर्ड भएका गीतको संख्या धेरै नभए पनि सरल शब्दावली, मानवीय संवेदनालाई चित्रात्मक ढंगले प्रस्तुत गर्ने क्षमता, प्रेमका सुन्दर बिम्बहरू र कोमल भावका कारण पुष्पाका गीतहरू हरेक श्रोताहरूमाझ कर्णप्रिय र कालजयी बने । यस्तो क्षमता भएका गीतकार कम नै देखिन्छन् ।
पुष्पा भ्रमणप्रिय स्रष्टा हुन् । भ्रमणले समाज, संसार र मान्छे चिन्न मद्दत गर्दछ । पुष्पा खनाल नेपाल र नेपाल बाहिरका सुगमदेखि दुर्गमसम्मका सुविधासम्पन्न सहरदेखि सुविधाहीन गाउँ र कुना कन्दरासम्म पुग्छिन् । त्यहाँको स्थानीय रंगलाई टपक्क टिप्छिन् । गीत र कविताको माध्यमबाट सुन्दर बान्कीयुक्त सिर्जनाहरू आमपाठक समक्ष प्रस्तुत गर्छिन् । साहित्य रच्नेमात्र होइन साहित्यिक संगठन गर्ने, साहित्यिक सञ्जालमा विभिन्न पेसा, वर्ग, भूगोल र समाजका फरकफरक मान्छेलाई जोड्ने र अघि बढाउने कर्ममा क्रियाशील छिन् उनी । नेपाल र नेपाल बाहिरका धेरै साहित्यिक र सिर्जनशील संस्थासँग जोडिएकी उनी नेपाल स्रष्टा समाज, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठानजस्ता नेपालका प्रतिष्ठित संस्थाहरूमा कार्यकारिणी पदमा रहेर काम गरिसकेकी पुष्पा हाल अमेरिकाका नेपालीहरूको संस्था एसोसियसन अफ नेपालिज इन् अमेरिकाजको बोर्ड अफ डिरेक्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको कार्यसमिति सदस्य रहेकी छन् ।
पुष्पाले झन्डै १७ वर्ष नेपाल रेडक्रस सोसाइटीमा रहेर नेपालका दुर्गम क्षेत्रका दुःखी, गरिब र असहायहरूको सेवा गरिन् । नेपाल टेलिभिजन, रेडियो सगरमाथा, कान्तिपुर तथा अन्य सञ्चारमाध्यमसँग जोडिएर काम गरिन् । अन्नतः देशमै स्थापित हुँदै गरेकी स्रष्टा एकाएक कसैलाई थाहै नदिई सुटुक्क बिदेसिइन् । बिदेसिनु उनको रहर हो या वाध्यता यसको जवाफ उनैसँग होला । सोधेर उनलाई दुःखी बनाउने आँट गरिएन । तर विदेशमै हराउने त होइन नि ? भन्ने हाम्रो प्रश्न सकिन नपाउँदै भन्छिन् ‘माटो त प्राण हो, चटक्क बिर्सन कहाँ सकिन्छ र ? देश मुटुभरि बोकेकी छु । अवश्य फर्कन्छु ।’
इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसियसनकी आजीवन सदस्यसमेत रहेकी उनले नेपालमा ज्योति फिल्मस् म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, योङ माइन्डस इन्टरटेनमेन्ट म्युजिक अवार्डमा सर्वोत्कृट महिला गीतकारको अवार्ड प्राप्त गरिसकेकी छन् भने उनका सिर्जना स्वदेशमा मात्र नभएर विदेशमा समेत सम्मानित भएका छन् । उनको प्यासी प्यासी बोलको गीत हालैमात्र विश्व गीतकार अवार्डको उत्कृष्ट १० मा चयन भएको छ । उनले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन, संयुक्त अरब इमिरेट्स, भारत, बंगलादेश, फिनल्यान्ड, इटली, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, बेल्जियम, पोल्यान्ड र दी नेदरल्यान्ड जस्ता देशहरूको भ्रमण गरेर संसार चिनिन् र गीत, कविता र निबन्धको माध्यमबाट संसारका मान्छेहरूका सुख, दुःख र मान्छेको नियतिलाई उतार्दै पस्किरहेकी छन् । दी पुष्पा क्रियसन्स नामको आफ्नो च्यानलमार्फत सिर्जना र साहित्यिक सामग्री पस्कँदै आएकी छन् ।
प्रतिक्रिया