देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कांग्रेस सत्तामुखीमात्रै भयो’

देशान्तर

नेपाली कांग्रेस देशकै जेठो र प्रजातान्त्रिक (लोकतान्त्रिक) पार्टी स्थापना भएको ७८ वर्ष पूरा भएको छ । बीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले भने विगतको मूल मर्मविपरीत आफूलाई सत्ता केन्द्रित मात्रै गरेको राजनीतिक विश्लेषकहरू बताउने गर्छन् । नेपाली कांग्रेसको ७८ वर्षको उतारचढावलाई देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. बद्रीनारायण गौतमसँग अन्तर्वार्ता गरेर इतिहास केलाउने प्रयास गरेका छन् ।

बद्रीनारायण गौतमले नेपाली कांग्रेसकै बारेमा रहेर विद्यावारिधि गरेका छन् । नेपाली कांग्रेससँग सम्बन्धित आधा दर्जन पुस्तकहरू प्रकाशित छन् भने विभिन्न सञ्चारमाध्यमहरूमा सय बढी लेख प्रकाशित गरेका छन् । उनका ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ ‘शान्तिपूर्ण आन्दोलनमा नेपाली कांग्रेस’ ‘नेपाली कांग्रेस र विमान अपहरण’ ‘नेपाली कांग्रेस र प्रतिरोध आन्दोलन २०२५-२०३१’ ‘जनसंघर्षका तीस वर्ष’ लगायतका पुस्तकहरू प्रकाशित छन् । उनै गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश । 

७८ वर्षअघि नेपाली कांग्रेस जुन उद्देश्य लिएर स्थापना भएको थियो, अहिले नेपाली कांग्रेस कस्तो र कुन अवस्थामा पाउनु हुन्छ ?

नेपाली कांग्रेस जुनबेला स्थापना भयो, त्यतिबेला जहानियाँ राणा शासन मुलुकमा चलिरहेको थियो । नेपाली जनता नागरिकको हैसियतमा थिएनन् । त्यतिबेला जनताहरू ‘रैती’को रूपमा रहेका थिए । रैतीमा रहेको जनतालाई नेपाली नागरिकमा रूपान्तरण गर्ने र नेपाली समाजमा पनि परिवर्तनका किरणहरू प्रवाह गर्ने र नेपाली समाजलाई रूपान्तरणको मार्गमा लैजाने उद्देश्य अनुरूप बीपी कोइरालाले त्यतिबेला नेपाली कांग्रेस पार्टी स्थापना गरेको हो । त्यतिबेला नेपाली कांग्रेसको मूल लक्ष्य भनेको प्रजातन्त्रको पुनस्र्थापना, राणा शासन अन्त्य नै थियो । त्यतिबेला देशभित्रबाट गर्न सक्ने प्रयासहरू आन्दोलनलाई दबाउन राणाहरूले मान्छे मारिहाल्ने र दमन गर्ने भएको हुँदा देश बाहिर संगठित (भारत) भएर आन्दोलन गरिएको थियो । तर, आजको अवस्थामा आइपुग्दा नेपाली कांग्रेस सत्ताको भासमा चुर्लुम्म डुब्ने परिवेशमा पुगिसकेको अनुभव मैले गरेको छु । यस क्रममा नेपाली कांग्रेसले पुराना मूल्य र मान्यता, पुराना दिनहरू र त्यतिबेलाको लक्ष्य उद्देश्यभन्दा पनि समयको परिवर्तनसँगसँगै आफूलाई सत्तामुखी पार्टीको रूपमा रूपान्तरण गर्न कसरी लैजाने भन्नेमा मात्रै ध्यान केन्द्रित गरेको जस्तो लाग्छ ।

२००२ सालमा स्थापना हुँदाको पार्टी र २००७ सालको क्रान्तिपछि आउँदा केही परिवर्तन पाइन्छ, नेपाली कांग्रेसमा ?

विसं. २००२ सालमा भारत स्वतन्त्र हुने नै भयो, ब्रिटिस साम्राज्यबाट भारत स्वतन्त्र भइसकेपछि नेपालमा पनि राणा शासनबाट स्वतन्त्र हुनुपर्छ भन्ने सन्दर्भमा बीपी कोइरालाको पहलमा नेपाली कांग्रेसको तदर्थ समिति गठन भएको हो । त्यसलाई नेपाली राष्ट्रिय कांग्रेसमा रूपान्तरण गर्ने क्रममा स्पष्ट विधि, विधान, कार्यक्रम र संघर्षका सबै कुराहरू बनाएको हुँदा स्पष्टरूपमा सबै दस्तावेजसहितको पहिलो पार्टीको रूपमा नेपाली कांग्रेस (राष्ट्रिय कांग्रेस) जन्मिएको हो । तर समयक्रममा के भयो भने हिंसात्मक आन्दोलनको उद्देश्य लिन नेपाली कांग्रेसलाई सम्भव थिएन । किनभने भारत अहिंसात्मक आन्दोलनबाट स्वतन्त्र भएको थियो । महात्मा गान्धीकै धङधंगी बोकेरै भारतीय परिवर्तनकारी शक्तिहरू, भारतीय कांग्रेसका नेताहरू सबै लागिपरेका थिए र उनीहरू (कांग्रेस) भारतको समर्थन बिना क्रान्ति गर्न सक्ने अवस्था पनि थिएन । तसर्थ प्रखररूपमा असंलग्नताको सिद्धान्त अनुरूप शान्तिपूर्ण आन्दोलन गर्ने नीतिले कांग्रेस अघि बढ्यो । तर त्यस क्रममा प्राप्त गरेको अनुभवका आधारमा राणा शासन भनेको कानुनको भाषा नबुझ्ने, बन्दुकको भाषामात्रै बुझ्ने भएको हुँदा त्यसलाई फाल्नको लागि शान्तिपूर्ण आन्दोलनबाट मात्रै सम्भव छैन भन्ने कुरा कार्यकर्ताहरूलाई महसुस भयो । किनभने बीपी कोइरालालाई विराटनगरमा भएको मजदुर आन्दोलनपछि समातेर थुनियो । बीपी जेल पर्नुभयो । बीपीपछिको कांग्रेस डिल्लीरमण रेग्मी, मातृकाको नेतृत्वमा आयो । बीपीलाई जेलबाट छुटाउन पनि लामो संघर्ष गर्नु पर्‍यो । जेलबाट छुट्ने अवस्थासम्म बीपीले पनि शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन हुँदैन भन्ने महसुस गर्नु भएको थियो । अर्को कुरा नेपालबाट निष्कासित भएका ‘सी’ वर्गका राणाहरूले ‘नेपाल प्रजातन्त्र कांग्रेस’ बनाइसकेका थिए । उनीहरूले पनि शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन हुँदैन र हिंसात्मक शक्तिको बलमा अडेको राणा शासनलाई फाल्नको लागि हिंसात्मक क्रान्ति चाहिन्छ भन्ने भएर थीरबम मल्लको नेतृत्वमा सुवर्णशमशेर र महावीर शमशेरको लगानीमा मुक्ति सेना गठन प्रक्रिया पनि सुरु भइसकेको थियो । नेपाली राष्ट्रिय कांग्रेससँग जनबल प्रशस्त थियो । नेपाल प्रजातन्त्र कांग्रेससँग धनवबल प्रशस्त थियो । धनबलबिना जनबल पनि क्रियाशील हुन नसक्ने, जनबल बिना धनबल पनि काम नलाग्ने अवस्था भइसकेको हुँदा भारतीयलगायतका शुभेच्छुकहरूले दुई वटै पार्टी मिल भनेर दबाब पनि दिइराखेका थिए । त्यो दबाब दिइरहेको अवस्थामा २००५ सालमा आएर क्रान्ति गर्ने टुंगो अनि २००६ सालमा दुईवटा पार्टी मिलाएर नेपाली कांग्रेस बनाए । नेपाली कांग्रेसको मूल लक्ष्य भनेको जसरी हुन्छ नेपालबाट राणा शासन अन्त्य गर्ने थियो । राणा शासनको अन्त्यपछि मात्रै समाज रूपान्तरणको योजना बनाएर अगाडि बढांला भन्ने बीपीको नीति अनुरूप २००७ सालको क्रान्ति गरिएको हो ।

कांग्रेसले क्रान्ति त गर्‍यो, तर प्रधानमन्त्री राणा नै भए भने त्यो सरकारमा गृहमन्त्रीको रूपमा बीपी कोइराला किन सामेल भए त ?

यो दुर्भाग्य हो । नेपालको आन्दोलन जति बेला सफल भयो भनिन्छ त्यतिबेला नै दुर्भाग्यको अवस्था आउँछ । नेपाली कांग्रेसले नेपालभित्रै क्रान्तिको हेडक्वार्टर खडा गरेर सशस्त्र क्रान्ति सुरु गर्नका लागि पाल्पामा तयारी गरिसकेको थियो । किनभने त्यतिबेला नेपालको काठमाडौंपछिको सबैभन्दा धेरै सैनिक रहेको अड्डा (गौडा) भनेको पाल्पा थियो । पाल्पामा त्यतिबेला रुद्रशमशेर ‘कमान्डर इन् चिफ’ बडा हाकिम थिए । तसर्थ बीपीले के सोचे भने राजा त्रिभुवनलाई काठमाडौंबाट उम्काएर कुनै पनि हालतमा पाल्पा पुर्‍याउने र राजाको नाममा पाल्पाबाट क्रान्ति गर्ने योजना अनुरूप बीपीले सुवर्णशमशेरको सहयोगमा रुद्र शमशेरसँग भेटेका थिए । राजा त्रिभुवनलाई काठमाडौंबाट बाहिर लैजानका लागि जेल तोडेर भागेका गणेशमान सिंह पनि गोप्यरूपमा काठमाडौं आएर काम गरिरहनु भएको थियो । त्यतिबेला के भयो भने भारतले ‘भाइटल रोल’ खेलिदियो । के रोल थियो भने राजा त्रिभुवनलाई आफूले उम्काएर लाने र क्रान्ति गर्न त दिने तर क्रान्तिको समापन आफ्नो किसिमबाट गर्न पाइयोस् भनेर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू लागे । भारत स्वतन्त्र भएपछि उनीहरूमा नेपालप्रति ‘बिगब्रदर’को छवि हाबी भइसकेको थियो । तसर्थ नेहरूले राजा त्रिभुवनलाई आफ्ना मान्छे लगाएर भड्काए । त्यतिबेला कांग्रेसको पछि लाग्दा क्रान्ति सफल भए त तपाईं पुनस्र्थापित हुनुहोला, कांग्रेस नै असफल भयो भने ? बरु तपाईं नेपाल छाडेर भारत आउनुस् भन्ने सल्लाह दिए । भारतीय राजदूतावासमा आउनु भयो भने त्यहाँबाट दिल्ली ल्याउने नेपालमा क्रान्ति सफल भए पनि असफल भए पनि राजाको रूपमा पुनस्र्थापित गर्ने ग्यारेन्टी मेरो भयो भनेर नेहरूले खबर पठाए । त्यसपछि पहिला पाल्पा जान्छु भनेका त्रिभुवनलाई गणेशमान सिंहले खबर पठाउँदा बाथको रोगी छु, हेलिकप्टर नारायणहिटीमा उतार्छौं भने मात्रै पाल्पा जान्छु भने । त्यतिबेला कांग्रेसले हेलिकप्टर उतार्न सक्ने अवस्था नै थिएन । राजा त्रिभुवन दिल्ली पुगेपछि नेहरूले हैदराबादमा सम्मानित बन्दीको रूपमा राखेका हुन् । त्यतिबेला कसैले पनि भेट्न पाएनन् । अन्त्यमा सिजफायर गरेर परिवर्तन स्वीकार्न त्रिभुवनलाई बाध्य पारिएको थियो । नेहरूले त्यतिबेला के तर्क गरेका थिए भने, नेपाल भर्खरै परिवर्तन हुँदैछ । नेपाली कांग्रेसले सोँचे अनुरूप एकै पटक सबै परिवर्तन भयो भने त्यसको भार बोक्न सक्दैन । बरु राणाले जानेका छन्, फेरि उत्तरबाट चीनको साम्यवाद नेपालमा प्रवेश गर्न सक्छ, त्यसलाई रोक्नको लागि पनि अहिले राणासँग मिलेर कांग्रेसले सरकार बनाउनै पर्छ भने । तसर्थ राणालाई नै प्रधानमन्त्री मानेर बीपी गृहमन्त्रीमा बस्नु त्यतिबेलाको बाध्यात्मक परिस्थिति हो । 

२०१५ सालमा कसरी कांग्रेसको दुई तिहाइ बहुमत आयो, पार्टी थोरै भएर हो ?

त्यतिबेला पार्टी थोरै भन्न मिल्दैन, च्याउसरी पार्टी उम्रिसकेका थिए । राजा महेन्द्र त सुरुमा चुनाव गराउने पक्षमै थिएनन् । राजा महेन्द्रले कुनै पनि पार्टीले बहुमत ल्याउँदैन भन्ने स्पष्टरूपमा आफ्ना मानिसहरू लगाएर देशव्यापीरूपमा गोप्य सर्वेक्षण गराएर त्यो प्रतिवेदन प्राप्त गरेपछि मात्रै आम चुनाव गराएका हुन् । २०१५ साल फागुन ७ गतेबाट आमचुनाव हुँदैछ, फागुन १ गतेसम्म संविधान नै जारी गरेका थिएनन् । बीपी र सुवर्णशमशेरले राजा महेन्द्रका मान्छेहरूलाई समेत प्रभावमा पारेर यो चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउँदैन, नेपाली कांग्रेसले धेरै जित्यो भने २०÷२२ सिट जित्छ भन्ने प्रतिवेदन राजा समक्ष पुर्‍याउन तारतम्य मिलाइएको थियो । यो प्रकरणमा बीपी र सुवर्णशमशेर अत्यन्त दूरदर्शी नेताको रूपमा हेर्छु । उक्त प्रतिवेदन पाएपछि राजा महेन्द्रले चुनाव गराए । राणा-कांग्रेसको सरकारबाट बीपी कोइराला बाहिरिए पछि सत्तामा जान दिइएन, बीपीलाई अनेक हतकण्डा अपनाएर सत्तामा पुग्न रोकियो । किनभने नेहरूले बीपी राष्ट्रवादी भएकाले यसलाई म चलाउन सक्दैन भन्ने कुरा बुझे । राजा त्रिभुवन हुँदासम्म सबै कुरा नेहरूको चल्थ्यो । त्यसले गर्दा बीपी सत्तामा पुग्ने अवसर पाएनन् । त्यो समयमा बीपीले आफ्नो पार्टीका सम्पूर्ण अवयवहरू सबै प्रयोग गरेर देशव्यापीरूपमा नेटवर्क बनाए त्यो नेटवर्क (संगठन)ले नेपाली कांग्रेसलाई २०१५ सालको चुनावमा त्यो बहुमत दिलाएको हो । अनि २००७ सालका मुक्ति सेनाले नेपाली कांग्रेसको चारतारे झण्डा बोकेर कुन कन्दरामा नेपाली कांग्रेसको नारा घन्काएका थिए त्यो वृक्षको रूपमा फुलेको हो । अर्को भनेको बीपीको करेस्मेटिक नेतृत्व र उहाँले तयार पारेको समाजवादी घोषणापत्रको आधारमा गाउँगाउँमा जसरी पुग्यो, त्यसले जनताले त्यसलाई राम्रोसँग पत्याए र कांग्रेसले बहुमत पाउन सफल भयो । राजा महेन्द्रले त आफू नजिकका व्यक्तिहरूलाई चुनावमा उठाएर नेपाली कांग्रेसलाई हराउन भरमग्दुर प्रयास गरेकै हुन् ।

अनि ‘कु’ पछि नेपाली कांग्रेसको अवस्था कस्तो थियो त ?

राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरिसकेपछि सुवर्णशमशेर बाइचान्स बाहिर रहे । कतिले त सुवर्णशमशेरलाई शंका पनि गर्छन् तर मेरो अध्ययनले उनलाई शंका गर्ने ठाउँ छैन । बीपी जेल बस्दा बाहिर रहेका सुवर्णशमशेरले नै नेपाली कांग्रेस जोगाएका हुन् । २०२५ सालसम्म उनले चलाए । त्यतिबेला पार्टीको क्रान्तिकारी धार जीवितै रह्यो । सुवर्णशमशेर पनि प्रवासमै बसे । उनको प्रयासले बीपी लगायतका नेताहरू जेलबाट छुटे । बीपी छुटेपछि सुवर्णशमशेर ओझेलमा परे र बीपीकै लाइन, नीति र कार्यक्रम अगाडि आयो । त्यतिबेला भारतले बीपीलाई प्रयोग पनि गरेको हो । किनभने भारतलाई बंगलादेश बनाउनु पर्ने रहेछ, बंगलादेश बनाउनका लागि नेपालबाट बीपीलाई उछिट्ट्याएर भारत लगियो, बीपीको माध्यमबाट हतियार उठाएर पहिलो चरणमा ती हतियारहरू बंगलादेश बनाउने मुभमेन्टमा प्रयोग भए । दोस्रो चरणमा बीपीले ती हतियाहरू पाउन सकेनन् । अनि बल्ल बीपीले बुझे भारतको चरित्र । ओखलढुंगा काण्ड त बीपीले भारतको चाहनाविपरित घटाएका थिए । ओखलढुंगा काण्डपछि बीपीले आफू भारतको खेलमा फसेको कुरा बुझे । त्यतिबेला बीपीले गृह र परराष्ट्र नीति भारतको अनुकूल अवलम्बन गरेको खण्डमा बीपी आजीवन प्रधानमन्त्री हुन्थे तर त्यस्तो बीपीले गरेनन् । बीपीले इन्दिरा गान्धीसँग विवाद गरेपछि अप्ठेरोमा पारियो र मेलमिलापको नीति लिएर नेपाल आए । जब उनी मेलमिलापको नीति लिएर काठमाडौं आएपछि त्रिकोणात्मक अवस्थामा रहेको नेपाली कांग्रेसको राजनीतिले एकाकारको स्थिति पायो । त्यतिबेला कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको एउटा धारले शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने थियो, त्यसले देशभित्रैबाट गतिविधि गरिरहेको थियो, एउटा धार बीपीको थियो । त्यसले सशस्त्र आन्दोलन गर्नुपर्छ भन्ने थियो भने सुवर्णशमशेरको धारले सम्झौता गरेर राजाबाट प्रजातन्त्र पुनस्र्थापना गर्नुपर्छ भन्ने थियो । बीपी नेपाल आएपछि सुवर्णशममेरको र कृष्णप्रसाद भट्टराईको धार पनि एकाकार भएर देशभित्र शान्तिपूर्ण आन्दोलनको आधार तयार भयो । त्यो गतिविधिले २०३६ सालमा विद्यार्थी आन्दोलनका माध्यमबाट केही परिवर्तन ल्याएको हो । बीपी त विद्यार्थी आन्दोलनको विरुद्धमै हुनुहुन्थ्यो, तर युवाहरूको चाहनालाई टार्न नसकेर अनुमति दिनुभयो । त्यही आन्दोलने राजालाई जनमत संग्रहको चरणमा पुर्‍यायो । राजा वीरेन्द्रलाई पनि पञ्चायतलाई जनमतको जामा पहिर्‍याउन जनमत संग्रह घोषणा गरिदिए । जनमत संग्रहमा सूर्यबहादुर थापालाई अघि सारेर पञ्चायतलाई जिताए । यो जनमत संग्रहले मानिसहरूलाई संगठित बन्न सचेत बनायो र पञ्चायतको डर क्रमशः कम भयो । यसैको परीक्षण स्वरूप २०४२ सालको सत्याग्रह परीक्षण थियो । त्यसमा कम्युनिस्टहरूलाई पनि साथ लिइएको थियो । सत्याग्रह आन्दोलनमार्फत कम्युनिस्ट पनि शान्तिपूर्ण आन्दोलनमा आए भनेर हलचल पनि पैदा भयो । बन्दुकको नालबाट मात्रै सत्ता परिवर्तन हुन्छ भन्ने कम्युनिस्टहरू कांग्रेसको सत्याग्रह आन्दोलनमा सहभागी भएर कांग्रेसकै क्याडरहरूसँग जेलमा एकै ठाउँमा बस्न जानु त्यो सानो परिवर्तन थिएन । त्यसले नै सहयात्राको बीजारोपण गरेको थियो । त्यसैमा टेकेर २०४६ सालमा गणेशमान सिंहले जनआन्दोलनको नेतृत्व गर्नुभयो । त्यो कांग्रेस कम्युनिस्टको सहकार्य त होइन, कार्यगत एकतामात्रै थियो । त्यसले नेपालमा प्रजातन्त्र पुनस्र्थापना गरेको हो ।

बीपीले त कम्युनिस्टसँगको सम्बन्धलाई त राम्रो मानेनन् है ?

बीपीको शब्दमा कम्युनिस्टसँगको सहकार्य कहिल्यै पनि थिएन । बीपी सशस्त्र संघर्षको बाटोमा रहेका बेला पुष्पलालले केही प्रयास गरेका थिए । बनारसमा संयुक्त मोर्चा बनाउन पुष्पलालले आग्रह गर्दा बीपीले कम्युनिस्टको चाहना आर्थिक रूपान्तरण हो, तसर्थ आर्थिक प्रस्ताव तपाईं लेख्नुस्, राजनीतिक प्रस्ताव म लेख्छु । र तपाईंले लेखेको आर्थिक प्रस्ताव म आँखा चिम्लेर समर्थन गर्छु, मैले लेखेको राजनीतिक प्रस्तावलाई तपाईंले पनि आखा चिम्लेर समर्थन गर्नुपर्छ भनेपछि कम्युनिस्टले राजनीतिक प्रस्तावमा समर्थन जनाउन सकेनन् । बीपीले जहिले पनि कम्युनिस्टहरूसँग सहकार्य कहिल्यै पनि हुँदैन, उनीहरू हाम्रो नीति सिद्धान्त अनुरूप कार्यक्रममा सहभागी भएर आन्दोलन गर्छन् भने त्यसमा समर्थन दिन्छौं भन्नुहुन्थ्यो । कम्युनिस्टहरू दरबारका उपज हुन्, त्यसैले उनीहरू कांग्रेसको मित्र शक्ति हुन सक्दैनन् भन्ने मान्यतामा रहनु भयो ।

कम्युनिस्टलाई दरबारको ट्याग लगाउने, अनि राजासँग मेरो घाँटी जोडिएको छ भनेर बीपीले किन भने त ?

कम्युनिस्टहरू कसरी हुर्किए भन्ने कुरा बीपीलाई राम्रोसँग थाहा थियो । केशरजंग रायमाझीले २०३६ सालको काण्डमा के गरे ? यो त जगजाहेर नै छ । राजासँग घाँटी जोडिएको कुरा त बीपीले राष्ट्रियताको सन्दर्भमा भनेको हो । त्यो भनेको राजा पनि राष्ट्रवादी र म पनि राष्ट्रवादी भनेको हो । राजाले पनि राष्ट्रियता चाहन्छन्, म पनि चाहन्छु, राष्ट्रियताको संरक्षण र संवद्र्धनका लागि हामी दुवै सँगै पनि अगाडि जानुपर्छ यो आवश्यकता हो भनेर भनेका हुन् । किनभने बीपीले कहिल्यै पनि राजतन्त्रको विरोध गरेका छैनन् । बीपी नै सबैभन्दा बढी राजाबाट प्रताडित थिए । तर पनि उनी कहिल्यै राजा र राजतन्त्रको विपक्षमा थिएनन् । 

२०४६ सालपछि नेपाली कांग्रेसले बीपीलाई र मूल मान्यतालाई भुल्दै गएको हो ?

२०४६ सालको परिवर्तन पछिको पहिलो सरकारको नीति तथा कार्यक्रम हेर्दा अलिकति बीपीको सुवास भेटिन्छ । त्यसपछि छैन । त्यसपछि विस्तारै कांग्रेस सत्तामुखी बनेको देखिन्छ । हिजोका कांग्रेस विरोधी बनेका व्यक्तिहरूले नै अहिले कांग्रेसलाई डुबाउँदै लगे । जबसम्म कांग्रेसमा एकता रहन्छ, राष्ट्रियताको संरक्षण र सम्बद्र्धन अगाडि बढ्छ । दिल्लीका एक जना नाम चलेका प्रोफेसरले के भनेका थिए भने जब नेपालमा स्थिरता हुन्छ, सानो मुलुक भएकाले विकासको सोपानमा पुगिहाल्छ, त्यो देखेपछि हाम्रो भारत नौ टुक्रा हुन्छ, त्यसैले गर्दा नेपालमा राजनीतिक स्थिरता हुन नदिइएको हो । फेरि २०५० भन्दापछि नेपालका राजनीतिक दलहरूलाई खेलाउने, गलाउने, उचाल्ने, पछार्ने काममा बाहिरी शक्तिहरू लागे र दुर्भाग्य हाम्रा नेताहरू त्यसमै परे । २०५० सालपछि त नेपाली कांग्रेसले बीपीलाई पनि छोड्यो । राष्ट्रिय एकता, मेलमिलाप र समाजवाद जुन नीतिहरू थिए, ती नै निकालेर फालिदियो कांग्रेसले । बीपीको मूल नीति समाजवाद थियो । बीपीले गाउँमा जाउँ र गाउँलाई हेर भन्ने २०१५ सालको घोषणा पत्रमा जुन शब्द लेख्नु भएको छ, त्यो शब्द कांग्रेसले बिर्सियो । जबकि एमालेले त्यसैलाई प्रयोग गरेर ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने कार्यक्रम नै ल्याइदियो । त्यो कार्यक्रम अहिले पनि एमालेको पपुलर कार्यक्रम छ । अहिलेका नेपाली कांग्रेसका नेताहरूले एमालेसँग त्यो कार्यक्रमको प्रतिकार नै गर्न सक्दैनन् । २०६२/०६३ को आन्दोलनमा गिरिजावाबुले सबै कम्युनिस्टसँग सहकार्य गरेर उनीहरूका एजेन्डा स्वीकार गरिदिनुभयो र गणतन्त्रमा प्रवेश गरिसकेपछि बीपीले परिकल्पना गरेको कांग्रेस रहने त कुरै भएन ।

पुरानो कांग्रेस र अहिलेको कांग्रेस कसरी तुलना गर्ने ?

नेपाली कांग्रेसमा गुटबन्दी भन्ने कुरा त सुरुदेखि नै हो । जहिले पनि दुई धार देखिन्छ । सुरुमा महावीर शमशेर राजासँग मिलेकै हुन् । २०१५ सालपछि सूर्यप्रसाद उपाध्याय बीपीकै गृहमन्त्री भए पनि उनले फरक मत लिएर हिँडेकै हो । २०१७ सालको ‘कु’पछि केही समयमा छुटेर उनीहरूलाई सघाउने संगठनमा लागेकै हो । विश्वबन्धु थापा, तुलसी गिरीलगायतका व्यक्तिहरू कांग्रेसकै बाइप्रोडक्ट भए पनि कांग्रेसकै विरुद्धमा लागेर पञ्चायतमा प्रवेश गरेका हुन् । कांग्रेसमा विभिन्न धार (गुट) भए पनि बीपी हुँदासम्म र बीपीको भावना हुँदासम्म एकजुट भएकै हो । २०४८ सालको चुनावपछि गणेशमान सिंहको एउटा लाइन देखिन्छ, किसुनजीले मध्यस्थकारी भूमिका निर्वाह गर्न सकेको देखिँदैन, गिरिजाबाबु त सत्तामै हुनुभयो । गिरिजाबाबु समूहले सत्ता आफैंमा केन्द्रित गर्न खोज्ने, कृष्णप्रसादले मध्यमार्गी बाटो अवलम्बन गर्न नसक्ने, गणेशमानजी त गिरिजाप्रसादको विरुद्धमा जेहाद छेड्ने अवस्थामा पुग्नु भएकै हो । अहिले आएर नेपाली कांग्रेसभित्रको जुन गुटवन्दी देखिन्छ त्यो पहिलाकै निरन्तरता हो । यसमा बढी स्खलन २०६२-०६३ को आन्दोलन पछि आएको हो ।

अहिलेका नेताहरूप्रतिको टिप्पणी ?

 मैले त नेपाली कांग्रेस पार्टीलाई र देशलाई सही बाटोमा लैजाने नेताहरू नै देखेको छैन ।

अब कसरी करेक्सन गर्ने त ?

करेक्सन गर्ने हो भने युवाहरूलाई अगाडि ल्याएर ट्रेन गरियो भने हुन्छ कि भन्ने आशा हो । तर युवा पुस्तामा पनि धेरै व्यक्तिहरू कति इमान्दार रूपमा अगाडि बढ्न सक्छन् भन्ने सवाल नै छ, त्यसको परीक्षण हुन बाँकी छ ।