काठमाडौँ । सुन प्रकरणमा थुनामा रहेका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महराले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै दिएको निवेदन माथि सुनुवाई गर्दै उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।
६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया