देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए ।

उनले नेपालमा डाक्टर, नर्स पढाउन रोक्न केही व्यक्ति तयारो, आग्लो लिएर बसेको र त्यसलार्इ पन्छाउन आफू लागेको बताए। नेपालमा लाखौँको संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी उत्पादन गरिने गरी तयारी भएको उनको दावी छ । टेकु अस्पताललाई १०० बेडबाट ३०० बेडको बनाउन अस्पतालको नेतृत्व लागिरहेकाले त्यसमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए । उनले अहिले गाउँहरू बसाइँसराइको कारण रित्तिसकेको बताए । सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नव्यहोर्ने बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको बताए ।