देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको आन्दोलन, बेमौसमी बाजा

देशान्तर


काठमाडौं । तत्कालीन सत्तारूढ दलहरूको चुनावी गठबन्धन भत्काएर संसद्को तेस्रो दल माओवादीलाई नेतृत्व सुम्पिँदै सत्तासीन भएको नेकपा एमाले दुई महिनामै सत्ताबाट बाहिरिनु परेपछि पछिल्ला १० महिनामा यति धेरै उत्तेजित, आक्रोशित र उत्ताउलो भएको छ कि जे विषयमा पनि उसले सरकार र सत्ता गठबन्धनलाई तारोमात्र बनाएको छैन, कहिले आन्दोलन त कहिले मध्यावधि चुनावको धम्की दिएर जनतालाई अल्मल्याउने काम गरिरहेको छ । पार्टीभित्र एकलौटी र मनमौजी बन्दै गइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राष्ट्रिय राजनीतिमा आफ्नो दबाब र प्रभाव कायमै छ भनेर फेरि आन्दोलनको कुरा गर्न थालेका छन्, जसलाई पार्टीकै नेता, कार्यकर्ता र राजनीतिक क्षेत्रका जानकारहरूले ओलीको बेमौसमी बाजाका रूपमा लिएका छन् ।


गत वर्ष सम्पन्न आम निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरे पनि आफ्नो पार्टी दोस्रो भएपछि जसरी पनि सत्तामा जाने रणनीति लिँदै चलखेल गरेका ओली जब आफ्नो रणनीतिमा असफल भए, त्यसपछि सरकार र गठबन्धनविरुद्ध विषवमन गर्न सक्रिय छन् । पार्टीप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्न आकर्षण बढाउन भन्दै सञ्चालन गरेका अभियान पनि फलदायी नभएपछि ओली यति विघ्न विचलित भएको स्वयम् एमालेका नेताहरू नै बताउँछन् । पछिल्लो एक वर्षमा एमालेले सञ्चालन गरेका ग्रासरुट अभियान, छोराछोरीसँग एमाले, मध्यपहाडी यात्रालगायत अभियानमा ओलीले जुन साथ, सहयोग र समर्थनको अपेक्षा गरेका थिए, त्यसका बदला आलोचना र विरोध खेप्नु परेपछि ओलीले अब के गर्ने, के नगर्ने भन्ने दोधारमा छन् । त्यसैले उनले आन्दोलनलाई सहारा बनाउन खोजेको विश्लेषकहरूको टिप्पणी छ ।


खासमा ओली के चाहन्छन् ? गठबन्धन भत्काउन र फेरि सत्तामा जान । तर, उनले वर्तमान गठबन्धन भत्काउन सजिलो नरहेको बुझेका छन् । गठबन्धन नभत्किने बुझेपछि उनले गठबन्धनका दलहरूलाई एकपछि अर्को गर्दै गाली पनि गर्न थालेका छन् ।
ओलीका लागि राजनीति गर्न अहिले आन्दोलन र मध्यावधि चुनाव एजेन्डा बन्ने गरेका छन् । कहिले आन्दोलनको धम्की दिन्छन् त कहिले मध्यावधिको कुरा गर्छन् । उनी मध्यावधि चाहँदैनन् भन्ने तथ्य त कोशी प्रदेशको राजनीतिले नै चरितार्थ गरिसकेको छ । कोशीमा मध्यावधिमा जाने आँट नभएर नै एमालेले कांग्रेसको एउटा समूहलाई सरकार बनाउन साथ दियो । मध्यावधि चुनावमा गएमा अहिलेको हैसियत पनि गुम्ने र पार्टी थप कमजोर बन्ने बुझेर नै ओलीले अहिले मध्यावधिको कुरा गर्न छाडेर आन्दोलनको कुरा गरिरहेका छन् ।


खासमा अहिले आन्दोलन किन चाहियो ? यसको उत्तर उनीसँग नै छैन । तर, कारण एउटै छ, त्यो हो, एमाले सरकारमा छैन । सरकारमा रहँदा ब्रह्मलुट गर्ने र बाहिर हुँदा आन्दोलन गरेर सरकारलाई कामै गर्न नदिने एमालेको चरित्रलाई ओलीले कायम राख्न मात्रै खोजेको हो, जुन उनको अभिव्यक्तिमा झल्किरहन्छ । पछिल्लो पटक उनले कार्यकर्तालाई भनेका छन्, छोटो समयको निर्देशनमा पनि आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि तयार रहनू । तर, आन्दोलन किन, के का लागि र कुन माग राखेर गर्ने भन्नेमा उनले केही बताएका छैनन् । कार्यकर्तालाई सक्रिय देखाउन र सरकारसँग विभिन्न विषयमा भागबन्डाको दोउपेचलाई बलियो बनाउन मात्रै उनले आन्दोलनको धम्की दिएको र जसको कुनै सान्दर्भिकता र औचित्य नरहेको जानकार बताउँछन् ।