काठमाडौं । नेपाली कांग्रेसले यसअघि क्यालेन्डर बनाउँदैनथ्यो । पार्टीमा युवा पुस्ताको कुरा अलिअलि सुनिन थालेपछि सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालमा आएर बल्ल क्यालेन्डर बनाउन राजी भए । विधानअनुसार हरेक तीन–तीन महिनामा बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन भएको डेढ वर्षपछि साउनमा बसेको थियो । साउनपछि असोजमा तोकिएको बैठक केही समय ढिला बस्यो । त्यतिबेला मंसिरमा तय भएको महासमितिको बैठक पटकपटक सर्दै फागुनमा पुगेको छ । यसैगरी नेपाली कांग्रेसले ‘समुदायसँग कांग्रेस’ घोषणा गरे पनि यो सरेर राष्ट्रियसभाको चुनावपछि मात्रै सुरु हुने भएको छ । यसअघि माघ ७ देखि २२ गतेका लागि तय भएको अभियान माघ १३ देखि २२ गतेलाई तोकिएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पार्टीको अभियान सार्ने विषयमा छलफल नै गरेका थिए ।
गत कात्तिकमा समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो । दसैं– तिहार र जाजरकोट भूकम्पको कारण देखाउँदै पुस १५ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले माघ ७ देखि २२ सम्मका लागि अभियान तय गरेको थियो । माघ ११ मा हुने राष्ट्रिय निर्वाचनका कारण अभियान माघ १३ गतेबाट सुरु गर्ने मोटामोटी सहमति गरिएको छ । कांग्रेसले अहिले ५९ जिल्लामा मात्र समुदायसँग कांग्रेस अभियान गर्न लागेको हो । कर्णाली प्रदेशका पाँच, गण्डकी प्रदेशका दुई र कोशी प्रदेशको एक जिल्लामा अभियान सञ्चालन नै गरिने छैन । कालीकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला, मुस्ताङ, मनाङ र सोलुखुम्बुमा अभियान चिसोका कारण अहिले सम्भव नदेखिएको पार्टी कार्यालयले जनाएको छ । अभियानमा संगठन सुदृढीकरण, कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिन प्रतिनिधिलाई कार्यादेश दिने तयारी कांग्रेसले गरेको छ । फागुन ७ देखि महासमितिको बैठक तय गरिएको र उक्त बैठक नीति अधिवेशनको रूपमा पनि रहेकाले यो अभियानबाट आएका सुझावहरू पार्टीको नीति तय गर्न मद्दत पुग्ने कांग्रेस नेता मधु आचार्यले देशान्तरलाई जानकारी दिए ।
प्रतिक्रिया