नेपाली जनताको कांग्रेस र प्रजातन्त्रप्रतिको अविचलित आस्था र विश्वास नै नेपालको सुन्दर भविष्यको आश्वस्तता हो, मूल आधार हो । प्रजातन्त्रको पुनस्र्थापनापछिको संक्रमणकाल लम्बिएर अनेक प्रकारका उतारचढाव झेल्नु परेकाले संसदीय व्यवस्थाले राजनीतिक स्थिरता प्रदान गर्न नसकेको पक्कै हो । त्यो पनि नेपालको स्थायित्व र स्थिरतामा आफ्नो अहित देख्ने छिमेकी, प्रजातन्त्रलाई जनवादसम्म पुग्ने रणनीति मात्र ठान्ने र मान्ने नितान्त अविश्वसनीय कम्युनिस्टसँगको पार्टनरसिप र परम्परागत शक्तिलाई प्रतिनिधित्व गर्ने राप्रपाको कमजोर उपस्थिति मात्र होइन, अस्थिर नीतिका कारण स्थिरताको मियो थाम्ने दायित्व एक्लो कांग्रेसका काँधमा आइपरेकाले अस्थिरताको आयु अस्वाभाविक ढंगले लम्बिन पुगेको हो ।
२०४६ को जनआन्दोलनपछि पुनस्र्थापित प्रजातन्त्रले राष्ट्रिय जीवनका सबै क्षेत्रमा अकल्पनीय परिवर्तन ल्याएको छ । अहारिस र पूर्वाग्रह नराखी हेर्नेले देख्नेछन्, यो अवधिमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी, सिँचाइ आदिमा मात्र होइन, आमसञ्चारका प्रविधि र माध्यममा पनि क्रान्तिकारी परिवर्तन आएको छ । त्यस्तै कांग्रेसको उदार प्रजातन्त्र र खुला बजारमुखी अर्थव्यवस्था अपनाएर देशले आर्थिक विकासका क्षेत्रमा उच्चवृद्धि दर कायम गर्न सकेकै कारण निजी क्षेत्रका आर्थिक क्रियाकलापबाट रोजगारीका प्रत्यक्ष र अप्रत्यक्ष दुवै क्षेत्रमा अद्भुत मात्रामा वृद्धि भएकै छ । जोसुकैले उचालेर सुरु भएको भए पनि माओवादीको कथित् जनयुद्धले विकासका पूर्वाधार ध्वस्त पारेर मुलुकलाई ३० वर्ष पछाडि धकेले पनि आर्थिक विकासका आधार कांग्रेसले २०४८ मै तयार पारेको र त्यही राजमार्ग पहिल्याएर अघि बढेकाले गति केही शिथिल भए पनि दिशा सही भएकाले प्रतिकूल राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा पनि देश अघि बढेको छ र निरन्तर बढी रहनेमा शंका नगरे हुन्छ । यही तथ्य र तथ्यांक जनतासमक्ष जोडदार ढंगले प्रस्तुत गर्न नसक्नु कांग्रेसको हद दर्जाको कमजोरी हो । तसर्थ उसले त्यहीबाट सुधार सुरु गर्ने मात्र होइन, अब थालिहाल्नु पर्छ ।
माथिका प्रकरणबाट प्रस्ट हुन्छ, कांग्रेसको आर्थिक नीतिका कारण आमनेपालीको जीवनस्तर निकै माथि उठेको छ । धनी र गरिब दुवैथरीका हातमा महँगा मोबाइल सेट भएका कारणमात्र होइन, खानपान, पहिरन तथा औसत उमेर वृद्धिले पनि विकासका मामलामा देशले लामो फड्को मारेको टड्कारै देखिन्छ । वैदेशिक रोजगारीका निम्ति तरुणहरूको बहिर्गमन र रेमिट्यान्सको आगमनले राष्ट्रिय विकासमा वैदेशिक निर्भरता क्रमशः घट्दै गएको छ तर देशको आन्तरिक उत्पादनमा आएको ह्रास र आयातमा भएको अचाक्ली वृद्धिले अर्थतन्त्रमा भुक्तानी सन्तुलनको ग्राफ पनि निरन्तर बढिरहेको छ । तरुण पुस्तालाई विदेश जान रोक्ने, निर्यातमुखी उत्पादन बढाउने र पर्यटन आकर्षित गर्ने व्यवसायलाई गतिशील तुल्याउने योजना जुन छन्, तिनको कार्यान्वयन कार्यक्रममा तीव्रता प्रदान गर्नु आजको आवश्यकता हो । त्यसैका निम्ति कांग्रेसले अधर्मी गठबन्धनको आलिंकनबाट मुक्त हुनुपर्छ भन्ने कथनको जोडदार समर्थन हुन पुगेको हो । विसं. १९९७ सालको प्रजापरिषद्को पहिलो जनविद्रोहको उद्घोष गर्ने पर्चामा भनिएको थियो– ‘भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्न ।’ यहाँ पनि त्यही लागू हुन्छ– अप्रजातान्त्रिक तत्वसँगको गठबन्धनले प्रजातन्त्र जोगिँदैन । राजनीतिक स्थिरता पनि उपलब्ध हुँदैन ।
कांग्रेसका नेता तथा कार्यकर्ताको सबैभन्दा ठूलो कमजोरी के रहेको छ भने कुनै पनि विषयमा आफूले गहिरो अध्ययन नगर्ने, विरोधीले जुन भ्रम फैलाइदिन्छन्, त्यसैलाई टपक्क टिपेर ‘देश खत्तम हुन लाग्यो, हाम्रै नेता पनि भ्रष्टाचारी हुन्, तिनैले बिगारे’ भन्ने उनीहरूका लहैलहैका पछाडि दगुर्ने प्रवृत्ति महामारी बनेर फैलिएका कारण त्यस्तो नैराश्यता छाएको हो । २०४६ सालमा पञ्चायतको अन्त्य भएर संसदीय व्यवस्था फर्केपछि २०४७ सालको असारमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले जुन बजेट प्रस्तुत गरेको थियो, त्यसमा प्रस्ट पारिएको छ– मुलुकको वाषर््िाक राजस्व १० अर्ब ७२ करोड । २०८० सालको बजेटमा राजस्वको अंक बढेर १६ खर्ब पुगेको छ । यो तुलना, उकालो लागेको हो कि ओरालो लागेको प्रमाण हो, कसैले पनि छुट्ट्याउन सक्छ– राम्ररी अध्ययन गरेका खण्डमा ।
त्यस्तो अभूतपूर्व उपलब्धि उजागर गर्ने कांग्रेसबाट प्रयास नै भएको छैन । कांग्रेस कार्यकर्ता त आफ्नै नेताहरूका घर गनेर आफूले त्यस्तै घर बनाउन नसकेकोमा पश्चाताप गरिरहेका छन् । उनीहरूमा कम्युनिस्ट नेताहरूका घर गिन्ीत गर्ने चेतना र जाँगर जागेको भए देख्ने थिए, उपत्यकाभित्र कांग्रेसका भन्दा दोब्बर संख्यामा उनीहरूका आलिसान घर छन् र त्यही संख्यामा गाडी पनि छन् । त्यस्तै ठूला कर्मचारी र न्यायाधीश कसका काठमाडौंमा घर छैनन् ! कसले कुन स्रोतबाट ती सम्पत्ति आर्जन गरेका रहेछन्, तिनको छानबिन गर्ने हो भने कांग्रेसका दुई चार नेतालाई छाडेर अधिकांश कति बबुरा रहेछन्, ती सबै खुलस्त हुनेछन् ।
आश्चर्य ! कांग्रेसमा विरोधीका प्रचार र प्रहारको अध्ययन, विश्लेषण तथा प्रतिकार गर्ने संगठित प्रयासको संरचना नै छैन । त्यही कारण सञ्चारका माध्यममा कार्यरत सञ्चारकर्मीहरू पनि कम्युनिस्टकै प्रचार प्रणाली र शैलीबाट प्रभावित छन् । कांग्रेस त्यस्ता संयन्त्र निर्माण गरेर जुन दिन प्रजातन्त्रको प्रतिरक्षामा जुरुक्क उठ्छ, त्यस दिन सबै छर्लंग हुन्छ, प्रजातन्त्रलाई बदनाम गर्ने को रहेछन् र त्यसैबाट जीवन तत्व प्राप्त गर्ने रहेछन्, त्यसको दूध र पानी छुट्टिन्छ । अनि मात्र जनता कांग्रेसलाई काँध थाप्न र प्रजातन्त्र जोगाउन सडक गल्ली र गाउँका गल्छेडाबाट उत्रनेछन् । यिनै सब कारणले संसदीय प्रजातन्त्र र कांग्रेस दुवैको भविष्य उज्ज्वल छ, भनिएको हो । त्यसका लागि ठूलो प्रयासको खाँचो अवश्य छ । तर त्यो न दुर्लभ छ, न अप्राप्य छ !
००
प्रतिक्रिया