काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसी (सन्देश) ले महासचिव देव गुरुङलाई कर्णालीका भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको आरोप लगाएका छन् ।
उनले महासचिव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।
रुकुम पश्चिमका केसीमाथि गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको घटनामा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् । भूकम्प गएको तीन दिनपछि माओवादी केन्द्रका महासचिव गुरुङ चिनियाँ संस्थाकी निर्देशक सोउ नेतृत्वको टोलीसँगै राहत सामग्री लिएर जाजरकोट र रुकुमपश्चिम पुगेका थिए ।
प्रतिक्रिया