देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ महानगरपालिकाले गर्यो छ महिनामा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल

देशान्तर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।
अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागले जनाएको छ । सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।
त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको छ ।

विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।
विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ ।