देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गरौ : गृहमन्त्री

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् ।
२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा काठमाडौं महानगरपालिकाले आज बिहान भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको बताएका हुन् ।
विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएको भन्दै उनले खुशी व्यक्त गरे ।


कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।
गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे । उनले काठमाडौँका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तर सरकार समन्वयबाट काम गर्नुपर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताइन् । उनले धेरै संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेकोमा जोड दिइन् । विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने डंगोलको भनाइ छ ।


कार्यक्रमा आगलागी, सडक दुर्घटना तथा विपद्जन्य जोखिममा काम गर्ने प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी निरीक्षक शम्भु विष्ट, नगर प्रहरी नायब निरीक्षक (फायर कमान्डर) नरेशबहादुर कुँवर, नगर प्रहरी नायव निरीक्षक (फायर कमान्डर) गगनबहादुर गुरुङ, दमकल चालक तथा पम्प अपरेटर नवराज सुवेदी र कार्यालय सहयोगी तथा अग्नि नियन्त्रक रामबहादुर खत्री रहेका छन् ।