काठमाडौँ । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बरहथवाको वरिष्ठ हवल्दार पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।
वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको जनाइएको छ ।
समितिका संयोजक सहसचिव थानेश्वर गौतमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् । छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया