काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण गर्न सुझावसहितको प्रतिवेदन बुझाउन पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्व सचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
गत शुक्रवार नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए । शनिवार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा ५ जनाको ज्यान गएको थियो।
कार्यदलका अन्य सदस्यहरूमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सीई श्यामबहादुर खड्का, अन्तर प्रदेश समन्वय अनुसन्धान शाखाका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि छन् । मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव छन् ।
कार्यदललाई एक महिनायताका सवारी दुर्घटनाको विश्लेषण, विगतका कार्यदलका प्रतिवेदन सँगै स्थलगत अध्ययन गरी सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गरी सुझाव दिन भनिएको छ ।
प्रतिक्रिया