देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलम्चीको पानी वितरण पुनः सुरु

देशान्तर

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण पुनः सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पुनः वितरणको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् ।

त्यसका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिए । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्चीको पानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताए ।

उनले काठमाडौंवासीलाई वर्षभर पानी उपलब्ध गराउन दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरुको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको बताए । यादवले काठमाडौं उपत्यकाभित्र स्थानीय श्रोतको पहिचान तथा प्रयोग एवं काठमाडौं भित्रको ढुंगेधाराहरुबाट प्रयोग नहुँदा खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको स्पष्ट पारे । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले काठमाडौंको मात्रै नभइ देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले आफू उपत्यकावासी सम्पूर्णलाई सुलभ तरिकाले पानी उपलब्ध गराएको दिन पूरा खुशी हुने बताए । सिंहले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभइ पुनः वितरणमात्रै गरिएको स्पष्ट पारे ।

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए ।