काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो भएको बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२औँ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले पुथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउनु राम्रो भएको बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताए । उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए । पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने उनको भनाइ थियो । उनले राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताए ।
यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताए । चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोसी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन् । यो बिषयमा केन्द्रीय कार्यसमितिको बैठकपछि उचित निर्णय गर्ने उनले बताएका छन् । अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए ।
लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको पनि बताए । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ ।
प्रतिक्रिया