काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो संसद् अधिवेशनमा सहमतिबाटै प्रस्तुत गरिने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा अब छिटै सहमतिमा पुग्ने आशा बढेको उल्लेख गरे ।
बैठकमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरे । उनले टीआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए । उनले सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरे । सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताए । उनले राजनीतिक दलहरू सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । अप्ठ्यारो महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रूपमा मात्र लिएर बुझ्न नहुने उल्लेख गरे ।
प्रतिक्रिया