काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।
बिहिवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले एउटा पार्टीका उम्मेदवारहरूले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरू मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए । उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने बताए ।
उनले पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरूको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको पनि जानकारी दिए। साथै गठबन्धनले सबै जिल्लाहरूमा पार्टीका जिल्ला प्रमुखहरू सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।
प्रतिक्रिया