देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : साउद

देशान्तर


काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् । उनले हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उनले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गरेको उनले बताए । परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा अर्थतन्त्रमा थप सुधार आउने उनले बताए । दश बर्षभित्र दश हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै मन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताए ।

फरक प्रसङ्गमा मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उनले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी पनि दिए । सरकारले रुसी सेनामा भर्ती नहुन गरेको अनुरोधका बाबजुद केही नेपाली त्यहाँ भर्ती भएका र युद्धमा ज्यान गुमाएका बताए । त्यसैगरी, आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको बताउँदै त्यसमा कतारबाट पनि सहयोग हुने आश्वसान प्राप्त गरेको जानकारी उनले दिए । मन्त्री साउदले तीनवटै तहका सरकारले जनअपेक्षा पूरा गर्न इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।