काठमाडौँ । राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्।
उमेदवारको टुङगो लगाउन कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा छलफलमा जुटेका छन् । बैठकमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का ,प्रमुख सचेतक रमेश लेखक बरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी छन् । माओवादी केन्द्रका पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । उक्त बैठकबाट उम्मेदवार टुंगो लगाउने माओवादीको तयारी छ । यस्तै एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा चलिरहेको छ । जनता समाजवादी पार्टीको पनि उम्मेदवारको टुंगो लगाउन कार्यकारिणी समितिको बैठक चलिरहेको छ । माघ ११ मा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
प्रतिक्रिया