काठमाडौं । राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालले जाजरकोटमा भुकम्प प्रभावितहरुलाई कम्बल ( फाइवर बल्याङ्केट) वितरण गरेको छ । जापान ईन्टरनेशनल सपोर्ट प्रोग्रामसङ्गको साझेदारीमा बारेकोट गाँउपालिकाको १, ५ र ६ नं वडाका भुकम्प प्रभावितहरुलाई ३५० थान कम्बल बितरण गरिएको हो । चिसोको कारण भुकम्प प्रभावितहरुको मृत्यु दर बढ्न थालेपछि माहासंघले भुकम्प प्रभावित क्षेत्रका जनसमुदायलाई कम्बल वितरण गर्ने निर्णय गरेको महासंघका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैयाँले बताए ।
जाजरकोटको बारेकोटमा केन्द्रबिन्दु बनाई गत कात्तिक १७ गते मध्यरातमा गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमका घर बिहिन भुकम्प प्रभावितहरु त्रिपाल मुनि रात बिताउन बाध्य भएका छन् जसले गर्दा सुत्केरी महिला, गर्भवति महिला, बालबालिका, वृद्धा र शिशुको मृत्यु दर बढ्न थालेको छ । हालसम्मको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा गरि ३६ जनाको चिसो र झाडापखाला कारण मृत्यु भईसकेको छ जसमध्ये जाजरकोटमा मात्र ३० जनाले ज्यान गुमाएका छन् ।
“घरबिहिन भएका भुकम्प प्रभावितहरुका लागी चिसोबाट राहत पुर्याउन मद्दत गर्ने उद्दश्यका साथ महासंघले केन्द्रविन्दु रहेको गाँउपालिकामा कम्बलहरु बितरण गरेको हो । हाम्रो यो सानो तर महत्वपूर्ण सहयोगले पकै पनि अति जोखिममा रहेका जनसख्या जस्तै सुत्केरी, गर्ववति, महिला, बृद्धा, अपाङ्गता भएका ब्यक्ति, बालबालिका र अन्य घर बिहिन भएका भुकम्प प्रभावितहरुलाई न्यानो बनाउन सहयोग गर्ने छ”, भन्छन् महासंघका कार्यक्रम संयोजक क्षितिज शर्मा ।
जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति जाजरकोट र स्थानिय विपद् व्यवस्थापन समिति, बारेकोट गाउँपालिकासंगको समन्वय तथा सर्वाङ्गिन विकास केन्द्रको व्यवस्थापनमा भुकम्प प्रभावितहरुलाई कम्बलहरु बितरण गरिएको हो । महासंघले भुकम्प प्रभावितहरुको समस्यालाई न्यूनिकरण गर्नका लागी गरेको सहयोगले प्रभावितहरुलाई चिसोबाट बच्नको लागि ठूलो राहन पुर्याउने बताउछन् बारेकोट वडा नं १ का जनप्रतिनिधि लालबहादुर पुन ।
२०७२ सालको भुकम्प पछि महासघंले विपद् जोखिम न्यूनिकरण सम्बन्धि कार्यहरु नेपालका विभिन्न जिल्लाहरुमा सम्पन्न गर्दै आएको छ । राष्ट्रिय युवा गैसस महासंघ नेपाल युवाको क्षेत्रमा काम गर्दै आईरहेको राष्ट्रिय स्तरको महासंघ हो । विगत एक दशकदेखी महासंघले युवा संघसंस्थाहरुको क्षमता अभिबृद्धी गर्दै वातावरण संरक्षण, विपद व्यवस्थापन, स्वस्थ्य, निति निर्माण,शिक्षा,मानव अधिकार, सुशासन तथा नीति सुधार, दिगो विकास र उद्यमशिलतामा बहस एवं पैरवी गर्दै आइरहेको छ ।
प्रतिक्रिया