काठमाडौं । उत्कट मनोकांक्षा र निरंकुश बन्ने सपना देखेर २०५९ सालमा दलहरूलाई प्रतिबन्ध नलगाएको भए नेपालमा सायदै यति चाँडै गणतन्त्र आउँदैनथ्यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाएर शासन सत्ता हातमा लिएपछि जंगलमा रहेको तत्कालीन माओवादी र खुला राजनीति गरिरहेका सात राजनीतिक दलहरूका साथै नागरिक समाज र विभिन्न पेसागत समूहको आन्दोलनका कारणा संंसद् पुनस्र्थापितमात्रै भएन देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको छ ।
२०७२ सालमा संविधासभाबाट संविधान जारी भएपछि अहिले नेपाली राजनीतिमा राजतन्त्रको कुनै पनि अवशेष बाँकी रहेको छैन । हो, आन्दोलनका बेला गरेका प्रतिबद्धताअनुसार नेपाली राजनीति चलेको छैन, भने सीमित शीर्ष भनिएका नेताहरूका कारण अहिले नेपाली समाजमा निराशा व्यापक बढेको छ । यस्तो अवस्थामा अहिले व्यवस्था विरोधी नाराहरू पनि फाट्टफुट्टरूपमा बढ्न थालेका छन् । अहिलेको यो परिस्थितिमा पूर्वराजा ज्ञानेन्द्र शाहले धमिलोमा माछा मार्न खोजिरहेका छन् । विगतमा कमल थापालाई अत्यधिक विश्वास गर्दा राज्यसत्ता नै गुमाएका ज्ञानेन्द्रलाई कहिले बैंकलाई ठग्दै हिँड्ने व्यवसासी दुर्गा प्रसाईंको साथ चाहिएको छ भने कहिले फेरि राप्रपाको मञ्चमै पुगेर भाषणबाजी गर्नु परेको छ । कमल थापाबाट पार नलागेपछि राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउन भित्रभित्रै भूमिका खेलेका ज्ञानेन्द्र अहिले भैरहवामा आयोजित कार्यक्रमको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले अहिलेको अवस्थालाई टुलुटुल हेरेर बसेको टिप्पणी मात्रै गरेनन् व्यवस्थामाथि खिया लागेको रूपमा पनि मञ्चबाट भाषण गरे । भाषण गर्नुअघि राप्रपाका नेताहरूसँग छलफल गरेका उनले अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि धावा बोलेका छन् ।
यदि उनी साँच्चिकै जनताको सेवा गर्नका लागि फेरि पनि राजनीतिमा आउने हो भने विगतमा रहेको पूर्वपञ्चहरूको क्लब राप्रपालाई एकाकार गराएर त्यस पार्टीको अध्यक्ष भएर बस्दा राम्रो हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
अहिले राप्रपा पनि टुटफुट भएकाले सबैले ज्ञानेन्द्र शाहलाई नै देखाउने भएकाले उनको नेतृत्वमा पार्टी अगाडि बढाउँदा पञ्चहरूको क्लब पनि राम्रै चल्ने थियो । विगतमा १९ महिने राजाको प्रत्यक्ष शासन देखेका र भोगेकाहरू भन्दा पनि अहिले २०६३ साल पछाडि जन्मिएका युवाहरूको राजाप्रतिको मोह भनेको स्याल हुइँयामात्रै रहेको एक राजनीतिक विश्लेषकले देशान्तरसँग भने ।
उनले भने ‘अहिलेको शीर्ष राजनीतिक नेतृत्वका कारण जनतामा निराशा बढेकाले ज्ञानेन्द्रको पछि लाग्दा केही हुन्छ कि भन्ने आशामात्रै हो, विगतमा हामीले त देखिसकेका छौं, उनीबाट केही हुन्न भन्ने कुरामा ढुक्क भए हुन्छ ।’
प्रतिक्रिया