देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विश्वविद्यालयको नियति र प्राध्यापकका पीडा


केही दिनअघि त्रिभुवन विश्वविद्यालयमै प्राध्यापनरत विद्वान् राम लोहनीले त्रिविबारे चिन्ता र चासोसहित आफ्नो फेसबुक वालमा लगातारजसो लेखिरहनुभयो । उहाँका पोस्टहरूले धेरै प्रश्नहरू जन्माएका छन् र ती प्रश्नको जबाफ राज्य-सरकार-शासकबाट अपेक्षा गरेका छन् । लोहनीले लेख्नुभएको छ, ‘हाम्रो टीयूमा नियमहरू राम्रोसँग र संस्थागत रूपमा लागू हुनै पनि धेरै गाह्रो छ । एउटा भीसी टाउकोमा बसेर केही गर्न सक्दैन, जतिसुकै असल र योग्य भए पनि । सयौं दिन ताल्चा लगाउने विद्यार्थीसँग जोरी खोज्न कसले सक्छ सम्बन्धित पार्टीले सहयोग नगरेसम्म ? प्रेम चलाउने हुन कसलाई रहर हुन्छ ?’

माथिका प्रश्नसँगै सयौं प्रश्न उब्जिन्छन् हाम्रा मस्तिष्कमा त्रिविबारे । उहाँको आशय छ– त्रिविमा नियम छन् तर ती लागू हुन सक्दैनन् । लागू गराउने वातावरण छैन त्यहाँ । विद्यार्थी राजनीति र पार्टीका सीधा हस्तक्षेप (कुप्रभाव)का कारण जोसुकै व्यक्ति नेतृत्वमा पुगे पनि वा उपकुलपति बने पनि त्रिवि सुधार सम्भव छैन ।

लोहनीले लेख्नुभएको छ, ’विश्वविद्यालय सुधार्नको लागि शिक्षकहरू कस्ता हुनपर्छ ? त्यस्तो कसरी बनाउन सकिन्छ भन्ने नसोचीकन विश्वविद्यालय सुध्रिन्न । विश्वविद्यालयका प्राध्यापकहरूलाई सगर्व प्राध्यापन गर्छु भन्न सक्ने अवस्था छ ? हेजिटेसन हुन्छ उनीहरूलाई कतिपय अवस्थामा । आदर्शको कुरा होइन, व्यावहारिक कुरा । समाजले दिने सम्मान र हेर्ने दृष्टिकोणै सही छैन । त्यो सुधार गर्न भीसीले सक्दैन ।’लोहनीले त्रिविका शिक्षकहरूमाथि पनि प्रश्न गर्नुभएको छ । यो प्रश्न शिक्षकको गुणस्तर (क्षमता) र राजनीतिक सक्रियता वा पक्षधरताबारे हुनुपर्छ भन्ने बुझिन्छ । सँगसँगै त्रिविमा गर्व र सम्मान अनि आत्मस्वाभिमानसाथ कक्षाकोठामा छिर्ने वातावरणसमेत नभएको गुनासो लोहनीजस्ता शिक्षकहरूकै रहनुले त्रिविको दुर्दशालाई संकेत गरेको छ ।

लोहनीको प्रश्न शिक्षकमाथि मात्र छैन, त्रिविमा पढ्न जाने विद्यार्थीमाथि पनि छ । त्रिविमा पढ्न आउने विद्यार्थीको शैक्षिक गुणस्तर वा क्षमता र राजनीतिक उद्देश्यले पनि शिक्षणमा असर पर्ने गरेको तथ्य यथार्थ हो । मेधावी विद्यार्थीलाई स्वदेशमै र सरकारी कलेज÷विश्वविद्यालयमा आकर्षण गर्न नसक्नु पनि त्रिविको समस्या नै हो ।

लोहनी लेख्नुहुन्छ, ‘जतिसुकै योग्य व्यक्ति पैदा भए पनि समाजमा आर्थिक उपार्जनको आधार छैन भने त्यो काम छैन । विश्वविद्यालय सुधार्न योग्य व्यक्तिको माग बढ्नुपर्छ । १२ कक्षा पढेका विद्यार्थीहरू विदेश जान हत्ते गरिरहेको अवस्था विश्वविद्यालय सुध्रिने कार्यक्रमबाट रोकिन्न । राम्रा विद्यार्थी विश्वविद्यालय जाने अवस्था नभएसम्म विश्वविद्यालय सुध्रिन्न । विश्वविद्यालयको अध्ययनको लक्ष्य के हुने भन्ने कार्यक्रम सरकारले बनाउने हो मुख्य रूपमा ।’

प्राध्यापकहरू क्षमतावान् र दक्ष भएर मात्र शिक्षा राम्रो हुँदैन, यो पनि तथ्य हो । डाक्टर राम्रो भएर बिरामी निको हुँदैन, बिरामीले डाक्टरको सल्लाह मान्नुपर्छ सँगै औषधि ग्रहण गर्ने क्षमता पनि बिरामीको शरीरमा हुनै पर्छ । प्राध्यापकले दिएका ज्ञान ग्रहण गर्ने क्षमता र इमानदारी विद्यार्थीमा पनि हुनैपर्छ, यो तर्क लोहनीज्यूको सही हो ।

अहिले त्रिविमा उपकुलपति नियुक्तिको प्रसंगमा लोहनीले यस्ता केही सबाल उठाउनुभएको हो । त्रिविका कुलपतिसमेत रहनुभएकम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भनेपछि यसबारे प्राज्ञिक जगतको चासो बढेको छ । प्रधानमन्त्रीको कुरा सैद्धान्तिक रूपमा सकारात्मक देखिन्छ तर व्यावहारिक रूपमा त्यो कतिको निष्पक्ष र पारदर्शी हुन सक्छ ?

लोहनीको सबाल छ– कुलपति र सहकुलपति राजनीतिक व्यक्ति (प्रधानमन्त्री र शिक्षामन्त्री) रहेका अवस्थामा उपकुलपति स्वयम् जतिसुकै स्वतन्त्र भए पनि उसले राजनीतिक हस्तक्षेप वा कुप्रभावबाट मुक्ति पाउला र ?

एउटा भीसी टाउकोमा राखेर विश्वविद्यालयमा कायापलट भइहाल्छ भन्ने सोच्नु सही नहुने तर्क छ लोहनीको । ‘अहिलेकै अवस्थामा एउटा कार्यक्रम पास गराउन सहकुलपति र कुलपतिसँग राय मिलाउन सक्नुपर्छ । कुलपति प्रधानमन्त्री वा मन्त्री नराख्ने कुरा पनि आदर्श मात्र हो । जब आर्थिक निर्भरता लगभग सरकारमा निर्भर हुन्छ भने बाहिरको कुलपति राखेर पनि केही हुन्न । विश्वविद्यालयको आर्थिक स्वायत्तताको ग्यारेन्टी हुनुपर्छ पहिला ।’

लोहनीको चिन्ता त्रिविकै आर्थिक अवस्थाबारे पनि छ । त्रिवि कमजोर हुनुमा त्रिवि आर्थिक रूपमा स्वायत्त र सबल नहुनु पनि रहेको लोहनीको तर्क जायज लाग्छ । ‘जबसम्म विश्वविद्यालय आर्थिक रूपले सरकार वा कुनै दातृ संस्थामा निर्भर रहन्छ, केही पनि सुध्रिन्न । त्यो भीसीले गर्ने होइन । यहाँ क्याम्पसका शिक्षकहरूले चार महिनासम्म तलब पाउँदैनन् । दुई वर्षदेखि बढ तलब निकासा भएको छैन । त्यसै सुध्रिन्छ विश्वविद्यालय ? भीसीले खल्तीबाट हाल्न पनि सक्दैन, नियम लागू गराउन पनि सक्दैन । भोको पेटबाट के अपेक्षा हुन्छ ?’

लोहनी स्वयम्  यस्तो पीडादायी यथार्थका भुक्तभोगी हुनुहुन्छ । त्रिविमा पढाउनेहरूले नियमित तलबसमेत समयमा नपाउने अवस्था हुनु र त्रिविको आर्थिक दायित्व सरकारमा रहनु बडो दुःखलाग्दो अवस्था हो । प्राध्यापकहरू, जो राज्यका उच्च प्राज्ञिक वर्ग हुन्, ‘थिंक ट्यांक’ हुन्, उनीहरू स्वयम् राज्यबाटै पीडित छन् भने अन्य क्षेत्रको हविगत के होला ?

राज्य प्राध्यापकहरूप्रति जिम्मेवार नहुने अनि त्रिविका शिक्षक, कर्मचारी, नेतृत्व नियुक्तिमा भागशान्ति गर्ने, विद्यार्थीलाई झण्डा र डण्डा बोकाएर गुरुहरूमाथि प्रहार गराउने गैरजिम्मेवार काम राजनीतिक दलहरूबाटै भएको यथार्थ छ । यस्ता कामहरू राजनीतिक दलले रोक्न जरुरी छ ।

लोहनी एक जना प्रतिनिधि हुनुहुन्छ त्रिविका शिक्षकहरूको । उहाँले लेख्नुभएका सन्दर्भ अत्यन्त अर्थपूर्ण र मार्मिक छन्, यसर्थ यश आलेखमा उहाँकै स्टाटसलाई आधार बनाइएको हो ।

लोहनीको पीडा यस्तो छ, ‘शिक्षकहरूको अवस्था कति गएगुज्रेको लोहनीको पीडा यस्तो छ, ‘शिक्षकहरूको अवस्था कति गएगुज्रेको हुन्छ भन्ने कुरा उनीहरूको जीवनयापनलाई नियाले थाहा हुन्छ । एउटा किताब किन्न उनीहरूसँग पैसा हुन्न । विश्वविद्यालयमा किताबहरू अध्यावधिक हुने कल्पना पनि हुन्न । नपढी कसरी ज्ञान बढ्छ ? नियम त छ नि शिक्षकहरू अध्यावधिक हुने, पाठ्यक्रम अध्यावधिक गर्ने । कसरी सम्भव छ ?’

उहाँ टीयूमात्र होइन, कुनै पनि विश्वविद्यालय यही संरचनागत ढाँचाबाट इन्द्रको बाउ चन्द्र आए पनि सुधार्न नसक्ने बताउनुहुन्छ । हाम्रो सामाजिक राजनीतिक सन्दर्भलाई विचार गर्दा बरु जस्तोसुकै अवरोध र विरोध पनि पचाउन सक्ने ज्याद्रो मान्छेले चाह्यो भने केही गर्न सक्ने तर  प्राज्ञिक व्यक्तित्वले त केही पनि गर्नै नसक्ने दाबी छ लोहनीको ।