देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा सदस्यमा एमालेलाई पनि साथमा लैजाने ढोका बन्द

देशान्तर

काठमाडौैं । टीआरसी विधेयक देखाएर संसदीय समितिमा बार्गेनिङ गरी सार्वजनिक लेखा समिति सहित थप दुई समितिको सभापति पकडाउन सफल नेकपा एमालेले सोही विधेयक देखाएर राष्ट्रिय सभा सदस्यमा थापेको ६ सिटको ढोक्सा भने खाली हुने भएको छ । 

शनिवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबिच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेपछि एमालेलाई पनि साथमा लैजाने ढोका बन्द भएको हो ।  बैठकले एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो  । अब एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने भएको छ । 

यसअघि  प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए । सोही अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । सरकारमा सहभागी ४ दलका नेताहरूको बिचमा  भएको  आजको छलफलले गठबन्धन भित्रकै दलहरूबिचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धनका दलहरूले सिट सङ्ख्यामा आआफ्नो दाबी पेस गरेका छन् । बैठकमा काँग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर  आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्ने तय भएको छ ।