काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिभिन्न संझौता गर्दै सम्पन्न भएको छ ।
बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको थियो ।
नेपाल–भारत संयुक्त आयोगको बैठक सकिएपछि दुई देशबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन् ।
बैठक सकिएपछि दुई विदेशमन्त्रीले नेपाल र भारत जोड्ने तीन वटा विद्युत् प्रसारण लाइनका स्वीच् थिची उद्घाटन गरेका थिए । ती प्रसारण लाइनमा रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइन छन् । नेपाल र भारतबीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनको पनि सहमति भएको छ । मन्त्रिपरिषद्ले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । सम्झौताअनुसार अब भारतीय दूतावासले एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।
प्रतिक्रिया