देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपदमा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

देशान्तर


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताएका छन् ।
ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताए । जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेटसमेत थप गरी १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताए ।

अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुनेगरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुनःनिर्माणका लागि पहल लिनुपर्नेमा जोड दिए ।
प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनःनिर्माणको कार्य प्रारम्भ गरिने बताए । उनले यसका लागि सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्र र तहमा तीव्रताका साथ तयारी गर्न निर्देशन पनि दिए । प्रधानमन्त्री दाहालले हालैका भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूला विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत गर्न निर्देशन दिए ।

सबै प्रदेश, जिल्ला र स्थानीय तहमा पर्याप्त मात्रामा खोज तथा उद्धार उपकरणको व्यवस्था, टेन्टलगायत राहत सामग्रीको व्यवस्था गर्न प्राधिकरणलाई निर्देश गर्दै उहाँले अर्थ मन्त्रालय र योजना आयोगले पुनःनिर्माणाका साथै जोखिम न्यूनीकरण र पूर्वतयारीको लागि थप बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले निजी आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा मुख्यसचिवको नेतृत्वमा अध्ययन थालिएको उनको भनाइ छ । रासस