देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविको बढ्दै छ विवादित छवि

देशान्तर


काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोताबाट कमाएको लोकप्रियतालाई भोटको राजनीतिमा सटही गरेर राष्ट्रिय राजनीतिमा एकाएक चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय एकपछि अर्को विवाद र घोटालामा तानिँदा उनको आलोचना त बढेको छ नै, रविले कसरी जनतालाई झुक्याइरहेका छन् र सत्ता र शक्तिको भरमा आफ्ना कमजोरी लुकाउन केके हत्कण्डा प्रयोग गरिरहेका छन् भन्ने तथ्य पनि विस्तारै खुल्दै जान थालेको छ । त्यागिसकेको नागरिकतालाई देखाएर राजनीतिमा आएका रवि सत्तारोहण गरेको ३२ दिनमै कसरी बाहिरिनुप¥यो भन्ने तथ्य त सबैका सामु छर्लंग नै भएकै हो । अब उनले नागरिकले खाई नखाई जम्मा गरेको सहकारीको रकम अपचलनका बारेमा पनि जवाफ दिँदै हिँड्नुपर्ने भएको छ । पार्टी खोलेर लोकप्रिय हुन खोजेका उनी दिनदिनै विवादित हुँदैछन् ।


डेढ वर्षअघिसम्म रवि फगत एक जना सञ्चारकर्मी थिए, टेलिभिजनका सञ्चालक थिए । न्युज २४ टेलिभिजनमा नेतृत्वदायी भूमिकामा रहेर र त्यहाँ सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गरेर कमाएको लोकप्रियताका आधारमा ग्यालेक्सी टीभी खोले गितेन्द्रबाबु राई (जीबी)सँग मिलेर । १५ प्रतिशत सेयरसहित रवि ग्यालेक्सीमा प्रबन्ध निर्देशक थिए । ग्यालेक्सी छाड्दा त्यो सेयर पनि बेचेर निस्किएको भए पनि टीभी स्थापना र सञ्चालनका क्रममा उनले प्रयोग गरेको रकमका बारेमा अहिले सर्वत्र चासो र बहस भइरहेको छ । पुराना र मूलधारका दलहरूलाई गाली गरेर राजनीतिमा उदाएका रवि आफ्नो कारणले मात्रै आलोचित छैनन्, उनले पार्टीमा भित्र्याएका नेताहरूका कारण पनि बदनामी कमाइरहेका छन् । आफूसँगै पार्टीका नेताहरू पनि एकपछि अर्को काण्डमा फँस्दै जाँदा स्थापनाको ६ महिनामा नै संसद्मा चौथो दल बनेको रास्वपाको हैसियत आगामी चुनावमा के होला भनेर समेत चर्चा हुन थालेको छ ।


सस्तो लोकप्रियता र सार्वजनिक खपतका लागि जे पनि भनिदिने रविको उद्देश्य त त्यतिबेला नै स्पष्ट भइसकेको थियो, जतिबेला बालकोटको बार्दलीमा बसेर केपी ओलीको निगाहमा प्रचण्ड सरकारको उपप्रधान तथा गृहमन्त्री पद लिन सफल भए । नागरिकताबारे अदालतमा मुद्दा रहेकै बेला तालुकदार मन्त्रालय ताक्नुले नै उनको नियत स्पष्ट पारिसकेको थियो । यतिमात्रै होइन, मन्त्रालयमा बसेर राष्ट्रिय परिचयपत्रको सर्भर एक निजी कम्पनीलाई दिलाउने उनको नियत पनि उतिबेला नै छर्लंग भइसकेको थियो । रविलाई दुई पटकसम्म अत्यधिक मतले प्रतिनिधिसभा सदस्यमा जिताएका चितवन— २ का मतदाताले अहिले उनै रविमाथि प्रश्न गर्न थालेका छन्, हामीले सहकारीमा जम्मा गरेको रकम कसरी ग्यालेक्सी टीभीमा पुग्यो र हाम्रो बचत कहिले फिर्ता हुन्छ ? रविले आफूलाई थाहा नभएको टालटुले जवाफ दिए पनि नागरिकले पत्याउन छाडेका छन् । पोखरा र बुटवलका सहकारी पीडितले पनि रविमाथि यस्तै प्रश्न सोझ्याएका छन् । सहकारी लुट प्रकरण सार्वजनिक भएपछि रविको नारायणगढ बुटवल यात्रा पनि खल्लो भएको छ ।
रवि र उनको दल अहिले मिसन २०८४ मा छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने र देश चलाउने ठूला कुरा उनी र उनको पार्टीका नेताहरूले गरिरहेका छन् । तर, जनताले अहिले दिनानुदिन भोगिरहेको समस्याका बारेमा उनी चिन्तित छैनन् । जनतालाई अहिले समाधान चाहिएको छ, उनी अर्को चुनाव भनिरहेका छन् । अहिलेको मुद्दालाई चार वर्ष बोकिरहने र भोटसँग साट्ने उनको नियत स्पष्ट छ ।