काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पुस १० मा सिंहदरबारस्थित आलिसान कार्यालयबाट करिव एक घण्टा भाषण गरेर आश्वासनको पोका बाँडेको चार दिन बित्न नपाउँदै नागरिकले भने सडकमा गोली खानु परेपछि सरकारले जनताको नाममा के काम गरिरहेको छ भन्ने स्पष्ट त भएकै छ, स्वयम् प्रधानमन्त्री प्रचण्डले आफैंले आफ्नो कार्यशैली परिवर्तन गरेर सुधारको सुरुवात गर्ने प्रतिबद्धताको पनि यहीबीचमा खिल्ली उडाइसकेका छन् भने उनको आगामी एक वर्षको कार्यकाल पनि काम कम, गफ बढी हुने स्पष्ट चित्र देखिँदैछ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाहमा सुधार, रोजगारी सिर्जना, विकास निर्माण तथा आर्थिक संकट समाधानलगायत दर्जनौं प्रतिबद्धतासहित गत वर्ष प्रधानमन्त्री भएका प्रचण्डको सरकारले एक वर्षमा मुलुकको अवस्थामा सुधार ल्याउन त सकेन नै, रोजगारीका लागि विदेश जान खोज्ने युवामाथि तातो गोली चलाएर अनाहकमा दुई जनाको ईहलीला समाप्त गरिएको छ । यसबाट उनको क्रमभंगता निर्दोष युवाहरूको ज्यान लिने र उनको पारिवारिक हेलिकोप्टर सयरबाट सुरु भएको छ
प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने र प्रधानमन्त्रीमा टिकिरहन जे पनि गर्न सक्ने नेताको छवि बनाएका प्रचण्डले भाषणैपिच्छे आफूले एक वर्षमा बग्रेल्ती सुधारका काम गरेको दाबी गर्छन्, तर, व्यवहारमा फिटिक्कै देखिँदैन । सरकारको एकवर्षे उपलब्धि र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दाहालले सुनाएका गुलिया कुराको स्वाद पनि बिर्सन नपाउँदै उनले जे गरिरहेका छन् र मुलुकमा जे भइरहेको छ, त्यसले सिंगो राज्य संयन्त्रलाई नै गिज्याइरहेको छ ।
संविधानतः शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पर्छन्, नागरिकलाई राज्यले यी अधिकार प्रत्याभूत गर्नुपर्छ, रोग, भोक र गरिबीले कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन, तर, सर्वहारा वर्गको हितका लागि भन्दै सशस्त्र संघर्ष गरेर राष्ट्रिय राजनीतिमा स्थापित भएका प्रचण्डकै सरकारले रोजगारी माग्ने युवामाथि गोली चलाएर बन्दुकले मात्रै सत्ता टिकाउन सकिन्छ भन्ने देखाउन खोजेको जानकारहरूले बताउन थालेका छन् ।
सानातिना र राष्ट्रिय महत्व नभएका कार्यक्रममा सहभागी नहुने र त्यस्ता कार्यक्रममा समय नफाल्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड गाउँ पालिकास्तरीय कार्यक्रममा सहभागी हुन गोरखा पुगेर जसरी आफ्नै समयको दुरुपयोग गरे, त्यहीँबाट उनी सुध्रिँदैनन् भन्ने तथ्य प्रमाणित भइसकेको पनि राजनीतिका जानकारहरू बताउँछन् । एउटा कुरा बोल्ने र काम अर्कै गर्ने प्रचण्डको पुरानै बानी हो । उनलाई यो बानी भुल्नै कठिन छ, त्यसैले त मुलुकले सुधारको बाटो समाउन सकेको छैन, एक राजनीतिक विश्लेषकले भने । सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका नेतालाई जोगाएको आरोप खेपेका प्रधानमन्त्री एनसेलको सेयर खरिदबिक्रीको विवादमा पनि तानिएका छन् । आजियटाबाट सबै सेयर लिएका नेपाली मूलका सिंगापुरे व्यापारी सतिशलाल आचार्यसँगको सम्बन्धका कारण उनी आलोचित छन् । आचार्यसँगको सम्बन्धका बारेमा त उनले स्वीकारसमेत गरिसकेका छन् । त्यतिमात्रै होइन, परिवारका सदस्यले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप सांसद र पार्टीका नेताहरूले नै लगाइरहेका छन् । खासगरी छोरी गंगाको भूमिकालाई लिएर त दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा नै दिइसकेका छन् । सचिवालयमा उत्पन्न विवादका कारण गजुरेलले राजीनामा दिए पनि राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न चाहेको भनेर सामसुम पार्ने प्रयास दाहाल निकटस्थहरूले गरिरहेका छन् ।
आफ्नै बोलीका कारणसमेत विवादमा आइरहने दाहालको कार्यशैलीप्रति सत्ता गठबन्धनमा आलोचना हुने गरेको छ । कांग्रेससँग च्याँखे थाप्न चार दल सम्मिलित समाजवादी मोर्चा दाहालले त्यसैलाई देखाएर कार्यकाल लम्ब्याउन चाहिरहेका छन् । उनले त यतिसम्म गरेका छन् कि अदालतले केही दिनअघि मात्रै ३५ दिने पक्राउ पुर्जी जारी गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्दसहितका नेतालाई बालुवाटारमै स्वागत गरेर कानुनी राजकै उपहास गरिदिएका छन् ।
प्रतिक्रिया