काठमाडौं । दीर्घकालमा मानव शरीरलाई गम्भीर असर गर्ने स्वादिलो तर अखाद्य तत्वहरू अजिनोमोटोलगायतका प्रयोग गरी युवाहरूको जिब्रोलाई स्वादले लठ्ठ बनाउने हेतुका साथ वजार ओगट्न सफल ‘करेन्ट चाउचाउ’लाई उच्च अदालतले लोकप्रिय ‘वाईवाई चाउचाउ’ जस्तै ट्रेडमार्क प्रयोग गरी उत्पादन नगर्न आदेश दिएको छ । ‘पिरो र स्वादिलो’ ब्रान्डका वजारमा स्थापित भर्खरै उत्पादित करेन्टको प्रभाव खाद्य तथा गुणस्तर नापतौल विभागलगायतका सरकारी निकायमा रहेको तयारी खाजाका अन्य उद्यमीको आरोप छ । दुई वर्षको छोटो अवधिमै बजार ओगट्नुमा उल्लेखित कारणहरू नै रहेको विज्ञहरूको भनाइ छ ।
चर्चित नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बास्डर बनाएर आफ्नो उत्पादन करेन्ट चाउचाउको बजार प्रवद्र्धनमा लागेको यशोदा फुड्सले गुणस्तर तथा नापतौल विभागलाई प्रभावमा पारेर खाद्य गुणस्तर मापदण्डमा खेलाँची गरी जनस्वास्थ्यमा खेलवाड गरेको उपभोक्ता हितमा काम गरेका अधिकारकर्मीहरूले बताएका छन् ।
चाउचाउमा प्रयोग भएको मैदा, कृत्रिम रंगहरू, संरक्षणको लागि प्रयोग भएको केमिकल र मोनो सोडियम ग्लुटामेट अर्थात् अजिनोमोटोको परिमाणबारे गुणस्तर तथा नापतौल विभागलाई प्रभावमा पारेर जथाभावी प्रयोग गरिएको अधिकारकर्मीहरूको दाबी छ । यसैबीच यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउको उत्पादन र बिक्री वितरण गर्न उच्च अदालत पाटनले रोक लगाएको छ । अदालतले करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरेको ठहर गर्दै उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको हो ।
करेन्ट चाउचाउले नेपालसहित विश्वभर ख्यातिप्राप्त वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाई जस्तै देखिने ¥यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको अदालतको ठहर छ । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।
यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सिजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगत्मा समेत आर्जन गरेको ख्यातिलाई करेन्टले दुरुपयोग गरेको सिजीको जिकिर थियो ।
यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको आदेश पछि बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । बजारमा पठाइएका करेन्ट चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।
प्रतिक्रिया