देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय सदस्य पन्तले भनिन् ‘पटक पटक अवसर पाएकाले मात्रै होइन, नयाँलाई खोजौं’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आसन्न राष्ट्रिय सभाको चुनावमा उम्मेदवार चयन गर्नका लागि स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिएकी छिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा धारणा राख्दै पन्तले पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा पटक पटक अवसर पाएकालाई भन्दा पनि नयाँ र उर्जावानलाई स्थान दिन जरुरी रहेको बताइन् । उनले भनिन् ‘पटक–पटक अवसर पाइरहेकालाई भन्दा पनि स्पष्ट मापदण्ड बनाएर भविष्यमा पनि त्यही नजिर स्थापित गर्नुपर्छ ।’

यसैगरी अहिले जिल्ला–जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा निराशा रहेको बताउँदै त्यसलाई चिर्नका लागि अब विशेष संकल्प गरेर गुटबन्दी अन्त्य गर्दै जनजीविकाका सवालमा केन्द्रीत हुनु पर्नेमा पनि जोड दिइन् । उनले अगाडि भनिन् ‘अहिले नेपाली कांग्रेस, केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जनताले अपेक्षा गरे अनुसार हामीले डेलिभरी दिन सकेका छैनौं । यस बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ वर्ष पूरा गरिसकेको छ । यो एक वर्ष साँच्चिकै लाभदायक रह्यो की, केही साथीहरु मन्त्री हुनुभयो, सेवा सुविधा लिनुभयो भन्ने मात्र भयो, यस विषयमा पनि हामीले केन्द्रीय कार्यसमितिमा मिहिन ढंगले छलफल गर्न जरुरी छ ।’

जाजरकोट भूकम्पको बारेमा धारणा राख्दै केन्द्रीय सदस्य पन्तले अहिले खास गरेर सुत्केरी महिला, बाल बालिका, वृद्धवृद्धाहरु जाडोको कारण अत्यन्तै गाह्रो साह्रो स्थितिमा रहेका र कतिपयको ज्यान गइ सकेको अवस्थामा भूकम्प पीडितहरुको जीवन रक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिइन् । उनले अस्थायी टहरा बनाउन कांग्रेस पार्टी र तरुण दलले चलाएको अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै अब अस्थायी टहरा बनाउने मात्रै हैन, घर पुनर्निर्माणका लागि पनि सरकारले स्पष्ट मापदण्ड बनाएर विशेष पहल गरेर छिटो भन्दा छिटो अनुदान रकम निकासा गर्न पनि माग गरिन् । यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्र पनि अहिले अस्तव्यस्त बनेको अवस्थामा पदाधिकारी नियुक्ति लगाएतका कुरामा राजनीतिक हस्तक्षेप भन्दा पनि विज्ञ व्यक्तिहरुलाई पदाधिकारी बनाउने काममा अब नेपाली कांग्रेसले पहलकदमी लिनुपर्नेमा जोड दिइन् । साथै लामोसमयदेखि शान्ति प्रक्रियाका कामहरु थाँती रहेकाले त्यसलाई अघि बढाउनका लागि नेपाली कांग्रेसले पहल गर्नु पर्ने र संविधान संशोधन लगाएतका कुराहरुमा पनि स्पष्ट भएर अघि बढ्नु पर्नेमा जोड दिइन् । साथै आसन्न महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिमा दिएका सुझावहरु समेटिनेमा आफू आशावादी रहेको पनि उल्लेख गरिन् ।