देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन कांग्रेसका केन्द्रीय सदस्यहरूको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।
बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले न्याय दिने हिसाबले मात्र उम्मेदवार बनाउनुपर्ने धारणा राखेका हुन् । त्यस्तै पार्टी संगठनमा देखिएको समस्या लगायतमा पनि नेताहरूले धारणा राखेका छन् ।
बैठकमा पाँच वटा विषयमा छलफल भएको छ । पहिलो दिन स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएका थिए । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । मन्त्रीहरूले काम गर्न नसकेको उनको ठहर छ ।
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । महरले प्रतिस्पर्धी पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण माग गरे । उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । उनले राजनीतिक नेता वा सानो ठुलो जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए ।