काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको र नयाँ ढंगले अघि बढ्न लागेको बताएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले कार्यशैली परिवर्तन गर्न लागेको भन्दै देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नु निर्देशन दिए ।
उनले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने पनि बताए । उत्पादन वृद्धिका निम्ति सिँचाइको व्यवस्था आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले लिफ्ट इरिगेसनका बारेमा पनि सोच्नुपर्ने बताए ।
यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला सञ्चार उद्योगको रक्षा गर्नेतर्फ सोच्न सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेत ,सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा ,मुख्यसचिव डा. बैकुण्ठ अर्याल ऊर्जा सचिव गोपालप्रसाद सिग्देल ,सिँचाइ सचिव सुशीलचन्द्र तिवारी ,सञ्चार सचिव कृष्णबहादुर राउत ,ऊर्जा आयोगका सचिव संगीता दवाडी र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आ आफ्नो क्षेत्रको समस्या र भैरहेको कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया